२९ आश्विन २०८३, बिहिबार

कतारको राष्ट्रिय दिवसमा नेपालका विभिन्न आञ्चलिक सांस्कृतिक प्रस्तुति हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

qatar-dayरवि रोषी
दोहा ।  आगामी डिसेम्बर १८ का दिन कतारको राष्ट्रिय दिवसको अवसरमा नेपाली समुदायको तर्फबाट पनि विभिन्न सांस्कृतिक प्रस्तुती प्रदर्शन गरिने भएको छ । कतारको अलखोर स्टेडियममा मनाउन लागिएको सो राष्ट्रिय दिवसको अवसर पारेर भारत तथा नेपालका समुदायलाई कतारको आन्तरिक मामिला मन्त्रालय तथा जन सम्पर्क विभाग कतारबाट सो अवसर प्रदान गरिएको हो ।

कतारको आन्तरिक मामिला मन्त्रालय तथा जन सम्पर्क विभागको आयोजकत्वमा सम्पन्न हुन गइरहेको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले विभिन्न सांस्कृतिक कार्यक्रमहरुको समन्वय गर्ने भएको हो ।

कतार सरकारको आन्तरिक मामिला मन्त्रालयले सो कार्यक्रममा भारत तथा नेपालका सम्पुर्ण समुदायहरुलाई विहान ८ बजे अलखोरको रंगशालामा उपस्थित हुन आग्रह गरेको एन आर एन कतारका अध्यक्ष मक्सुद आलमले बताउनुभयो । खाना नास्ता, जुस लगायतका खानेकुराहरु आयोजकको तर्फबाट निशुल्क वितरण गरिने पनि अध्यक्ष आलमले बताउनुभयो ।

कतारको राष्ट्रिय दिवसको अवसरमा नेपाल तथा भारत बीच फुटबल खेलको पनि आयोजना गरिने र विजेता तथा उपविजेता समूहलाई ५ हजार तथा ३ हजार कतारी रियालको दरले नगद पुरस्कार प्रदान गरिने बताउँदै सोही अवसरमा २ देशका समुदायबीच डोरी तान्ने मनोरञ्जनात्मक रोमाञ्चक खेल पनि आयोजना गरिने र सो का विजेता उपविजेताहरुलाई ३ हजार र १५ सय कतारी रियाल नगद पुरस्कार प्रदान गरिने पनि जानकारी गराउनुभयो ।
उक्त समयमा गैर आवासीय नेपाली संघको समन्वयमा हुन लागिरहेको सांस्कृतिक कार्यक्रममा किरात राई यायोख्खा बाट साकेला सिली नाच, तमु समाज कतारबाट कौडा नृत्य, तामाङ समाज कतारबाट तामाङ सेलो, मगर संघ कतारबाट हुरर््रा र सालैजो नृत्य प्रस्तुत गरिने भएको छ ।

त्यस्तै गरी किराँत याक्थुङ चुम्लुङको तर्फबाट च्याब्रुङ नाच, थारु कल्याणकारी सभाको तर्फबाट किसान नाच, सुनुवार सेवा समाजको स्यादर चण्डी नाच, नेवाः पुचको धिमे नाच लगायत नेपाली कलाकेन्द्रको तर्फबाट पनि विभिन्न आकर्षक नृत्यहरु प्रस्तुत गरिने कुरा एन आर एन कतारका द्धितिय उपाध्यक्ष तथा सांस्कृतिक विभाग संयोजक महेन्द्र थापामगरले जानकारी दिनुभयो ।