राजेन्द्र ठगुन्ना
डडेल्धुरा, १ पुस । सुदूरपश्चिमका जिल्लाहरुमा भारी हिमपात भएको छ ।
डडेल्धुरा सदरमुकाममा ६ बर्षपछि भारी हिमपात भएको छ । हिमपातका कारण भिमदत्तराजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
लगातारको बर्षाले बढेको चिसोका कारण जिल्ला सदरमुकाममा मात्रै १ फिट भन्दा बढी हिमपात भएको हो । डडेल्धुराको अन्य क्षेत्रमा भने त्यो भन्दा पनि ठूलो मात्रामा हिमपात भएको छ । डडेल्धुरा सदरमुकाममा गएको बर्ष ५ बर्षपछि हिमपात भएपनि यति ठूलो हिमपात भने भएको थिएन् ।
यसैबिच हिमपातकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमुख राजमार्ग भीमदत्त राजमार्ग अबरुद्ध रहेको छ । अचानक भारी हिमपात भएपछि ठूलो संख्यामा यात्रुबाहक रात्री बस लगायतका अन्य सवारी साधन समेतबीच बाटोमै अलपत्र परेका छन् । यात्रुहरु चिसोले कठ्याङ्ग्रीएका छन् । डडेल्धुराको भातकाँडादेखि नै ठाउँ ठाउँमा गाडीहरुको लाम लागेको छ । कति गाडी रोकिएका छन् भन्ने यकिन भन्न नसकिए पनि गाडीहरुको बाक्लो लाम लागेको यात्रुहरुले बताएका छन् । सबैभन्दा बढी अगुल्टेको लेकमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । राजमार्गमा निकै बाक्लो हिमपात भएकोले बाटो पन्छ्याउन समस्या हुने देखिएको छ ।

यसैगरी सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लाका अन्य धेरै ठाउँमा हिमपात भएको छ । बैतडी, अछाम दार्चुला, बझाङ र डोटी जिल्लाका उच्च भेगमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । उता दार्चुलाका एक दर्जन बढी गाविसमा हिमपात भएको छ ।
यसैगरी बझाङका दाँतोला, रिलु, काँडा, दहबगर, सैनपसेला, कैलास, सुर्मा, दौलिचौर, लेकगाउँ, कोटदेवल लगायतका गाविसमा हिमपात भएको छ । हिमपातले गर्दा हिमाली क्षेत्रका विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।
यसैबिच मौसममा आएको परिवर्तनसँगै बर्षा भएपछि बढेको चिसोका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुको जनजिवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका बृद्धबृद्धा बढी समस्यामा परेका छन् ।
















प्रतिक्रिया