काठमाडौं, १ पुस । सर्वोच्च अदालतमा तारेखका लागि धाउँदाधाउँदा हैरान हुनुभएको छ अब ती दिन सकिए । मंगलबारदेखि अनलाइनबाटै तपाईं तारेख लिन सक्नुहुनेछ ।
न्यायालयले विकास गरेको ई तारेख सेवाले देशका जुनै पनि ठाउँमा नजिकको अदालतबाट मुद्दाका पक्षले सर्वोच्चमा तारेख लिन पाउने सुविधा सुरु भएको हो ।
‘उपत्यका बाहिरका सेवाग्राहीहरू तारेखकै लागि सर्वोच्चमा धाउनु पर्दा धेरै झन्झट भएको थियो,’ सर्वोच्चका सूचना प्रविधि महाशाखाका उपसचिव चाणकमणि अर्यालले भने, ‘अबदेखि नजिकको जिल्ला वा पुनरावेदन अदालतबाटै तारेख लिन सकिने छ ।’
न्यायालयलाई कागजविहीन बनाउने योजनाअन्तर्गतको पछिल्लो उपलब्धि अनलाइन तारेख भएको उनले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
सर्वोच्चबाट अन्य जिल्लामा तामेली पनि अनलाइनबाटै हुने व्यवस्था न्यायालयले अवलम्बन गरेको छ ।
नयाँ प्रविधिमा अभ्यस्त बनाउन पहिलो चरणमा सर्वोच्चले ३१ जिल्ला र ९ पुनरावेदन गरी ४० अदालतका २ सय ४० कर्मचारीलाई यससम्बन्धी तालिम दिएको थियो ।
प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले आफू नेतृत्वमा आएदेखि अनलाइन तारेख प्रणालीलाई छिटो अघि बढाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएका थिए ।
अनलाइन तारेखका साथै सर्वोच्चले मुद्दाको जानकारी एसएमएसबाट दिन मिल्ने सुविधा पनि सुरु गरेको छ ।
रिट, मुद्दा वा निवेदनको दर्ता नम्बर र मिति थाहा पाउन, त्यसको पेसी मिति बुझ्न र पेसीमा चढेको मुद्दाको स्थिति थाहा पाउन पनि अब अदालत आइरहनु पर्दैन ।
त्यसका लागि ३०३०३ मा म्यासेज गरेर तुरुन्त जानकारी पाउन सकिने सूचना प्रविधि महशाखाका इन्जिनियर खडक सिंह भण्डारीले बताए ।
‘मुद्दाको दर्ता मिति थाहा पाउन परे आरजी, पेसी मिति थाहा पाउन परे एचडी र मुद्दाको स्थिति थाहा पाउन परे एसटी टाइप गरेर स्पेस थिच्नुपर्छ अनि मु्द्दा नम्बर लेखेर ३०३०३ मा एसएमएस गर्नुपर्छ,’ भण्डारीले भने, ‘त्यसपछि केही क्षणमै तपाईंको मोबाइलमा चाहेको जानकारीसहितको मेसेज सर्वोच्चले पठाइदिन्छ ।’















प्रतिक्रिया