काठमाडौँ, २९ मंसिर । नेपाली काँग्रेसका नेता वसन्त गौचनको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
पूर्वमहासमिति सदस्य एवम् मुस्ताङ जिल्ला कार्य समितिका सदस्य स्व गौचनको दाहसंस्कार गर्नुअघि काँग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले आर्यघाटमा उहाँको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । ६१ वर्षीय स्वर्गीय स्व गौचनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिनका लागि काँगे्रसका महामन्त्रीद्वय प्रकाशमानसिंह र कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता दीलेन्द्रप्रसाद बडू, मन्त्रीहरु नरहरि आचार्य र एनपी साउद, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, एमालेका नेताहरु रविन्द्र अधिकारी र सीता गिरी, सभासद्हरु गगन थापा र रविन्द्रप्रताप शाहलगायत नेता कार्यकर्ता, परिवारजन आर्यघाट पुग्नुभएको थियो ।
उपचारका क्रममा गत शनिबार भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा निधन हुनुभएका स्व गौचनका श्रीमती, तीन छोरी र दुई छोरा हुनुहुन्छ ।
नेता गौचनको निधनप्रति काँग्रेसले विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । स्वर्गीय गौचन सभासद् रोमी गौचन थकालीका दाजु हुनुहुन्छ ।















प्रतिक्रिया