
प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । बुधबार बसेको न्यायपरिषद् बैठकको सविचस्तरीय निर्णय अनुसार पराजुली पदमुक्त भएका हुन् । उनलाई उमेर हदका कारण पदमा नरहेको व्यहोरा न्यायपरिषद्को पत्रका उल्लेख छ । तर, वरिष्ठ अधिवक्ता रामनारायण विडारीले पराजुली पदमुक्त नभएको बताएका छन् । उनले प्रधानन्यायाधीश पराजुलीलाई पदमुक्त गरेको भनी न्याय परिषद्का सचिवले दिएको पत्र नै अवैध रहेको बताएका छन् । उसो भए अब के हुन्छ त ? दैनिक नेपालका लागि रामकुमार शाहीले राष्ट्रियसभाका सदस्य समेत रहेको अधिवक्ता विडारीसँग यसै विषयमा कुराकानी गरेका छन् ।
प्रस्तुत छ संक्षिप्त कुराकानी:
१) न्यायपषिद्ले बुधबार प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्र काटेको छ, यसलाई कसरी लिनुभएको छ ?
पदमुक्त गरिएको वा भएको होइन । यो न्यायपरिषद्को पत्र मात्र हो । पत्र गैरकानूनी छ, सचिवले नै निर्णय गरेर पत्र लेख्ने भए न्यायपरिषद्को काम के ?
२) तर, पराजुलीले आफैलाई पदमुक्त गर्ने विवादित विषयमा बैठक आह्वान गर्ने कुरा पनि त भएन !
उनले नबोलाए अर्को न्यायाधीशले बोलाउँथे नि । यसमा हतार गर्नुपर्ने कारण नै थिएन ।
३) उसो भए अबको विकल्प के हुन सक्छ ?
अब यस विषयमा सर्वोच्च अदालतको फूल कोर्टले निर्णय गर्छ । यदि त्यहाँ भएन भने संसदे नोटिश गर्छ र, यसमा महाअभियोगको धारा आकृष्ट हुन सक्छ ।
४) पटक पटकका यस्ता विवादले अदालतको गरिमामाथि गम्भीर प्रश्न उठाएन र ?
प्रश्न त उठिसक्यो । अदालतको गरिमा त कहाँ पुग्यो कहाँ । जम्मै बदमासी भइरहेको छ, कुनै काम ईमान्दारितापूर्वक छैन । यस्तो बदमासी र अराजकता त कुनै चुल्ठेमुन्द्रेको क्लबमा पनि हुँदैन ।
५) यति भइसकेपछि पराजुलीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्ला ?
त्यो उहाँको कुरा हो । यसमा उहाँले नै सोच्ने हो ।
६) अदालत विवादित हुनु भनेको अदालतमा गरिएको राजनीतिकरणको प्रतिफल हो भन्छन् नि !
अदालतमा राजनीतिकरण भएको होइन् । अदालतमा बदमास् र बेइमानहरुको बाहुल्यता बढेको हो । यसलाई सबै मिलेर अन्त्य गर्नुपर्छ, अदालतको गरिमा र मर्यादा बचाउनुपर्छ ।
७) प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति भण्डारीलाई गराएको शपथ के हुन्छ ?
केही पनि हुँदैन । यसमा प्रश्न उठाउने ठाउँ नै छैन । अहिले पनि नेपालको प्रधानन्यायाधी गोपाल पराजुली नै हो । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ गराउने संवैधानिक व्यवस्था छ । बिहान कार्यालय गएर हाजिर गरेको मान्छेले संवैधानिक प्रवाधान अनुसार दिउँसो गरेको काम कसरी गैरसंवैधानिक हुन्छ ?













प्रतिक्रिया