२८ आश्विन २०८३, बुधबार

गुणस्तरहीन खोप प्रयोग नगरौँः मन्त्री अधिकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khagaraj-adhikaryधुलिखेल, २८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले गुणस्तरहीन खोपलाई प्रयोगमा नल्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्था र स्वास्थ्यकर्मीलाई प्रेरित गर्दै आएको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको आयोजनामा ‘स्वास्थ्य क्षेत्रमा प्रशंसनीय पत्रकारिता’ विषयक दुईदिने वरिष्ठ पत्रकार र सम्पादकसहितको कार्यशालामा मन्त्री अधिकारीले ग्लोबल फण्डजस्ता निकायसँग पनि आफूले गुणस्तरहीन खोप नेपालमा नल्याउन आग्रह गरेको बताउनुभयो ।

मन्त्री अधिकारीले शिक्षा र स्वास्थ्यमा लगानी गर्ने केही दातृ निकायका आफ्ना प्रकारका सर्त हुने गरे पनि सरकारले आफ्नो सोच र योजनाका साथ हीनताबोध नराखी जनतालाई ध्यानमा राखेर काम गर्दै आएको स्पष्ट गर्नुभयो ।

जनस्वास्थ्यलाई छिटो छरितो र प्रभावकारी बनाउन सरकारले २२ वर्षपछि नयाँ स्वास्थ्य नीति ल्याएको उल्लेख गर्दै मन्त्री अधिकारीले यसले गाविस तहमा स्वास्थ्य चौकी स्थापना गर्न, सरकारी अस्पतालमा सुविधा विस्तार गर्न र निजी क्षेत्रको प्रवेशलाई सहज बनाउन मद्दत पुग्ने  धारणा राख्नुभयो ।

आगामी माघको पहिलो सातामा हुने विश्व स्वास्थ्य सङ्गठनको बैठकमा त्यसका नीतिमाथि पुनरावलोकन गर्न नेपालले प्रस्ताव गर्ने जानकारी दिनुभयो । सो सङ्गठनको नेपाल उपाध्यक्ष छ ।

मन्त्री अधिकारीले जनस्वास्थ्यलाई सवल बनाउन सरकार र सञ्चार क्षेत्रले साझा प्रयास थाल्नुपर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले स्वास्थ्य क्षेत्रका विषयमा समाचार सम्प्रेषण गर्दा पर्याप्त प्राविधिक सूचना लिनुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले स्वास्थ्य क्षेत्रका सकारात्मक कार्यलाई उचित ढङ्गबाट सम्प्रेषण गरिदिन सञ्चारमाध्यमसँग आग्रह गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका देशीय संयोजक डा राजेन्द्र बोहराले स्वास्थ्यसम्बन्धी नीति र गतिविधिबारे सञ्चार क्षेत्रका अगुवाको ज्ञानलाई पुनर्ताजगी गर्न कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।