काठमाडौँ, २८ मंसिर । राप्रपा नेपालले सरकारसँग पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक विदा दिन माग गरेको छ ।
आइतबार अध्यक्ष कमल थापाको नेतृत्वमा गएको एक उच्च स्तरीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशील कोइरालालाई सरकारी निवास बालुवाटारमा भेटी यस्तो माग गरेको हो ।
आगामी पौष २७ गते पृथ्वी जयन्ति हो,’ राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो, ‘उक्त अवसरमा सार्वजनिक विदा दिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ ।’ प्रधानमन्त्री कोइरालासँगको भेटमा संविधान निर्माणको सम्बन्धमा पनि छलफल भएको श्रेष्ठले जानकारी दिनुभयो ।
भेटमा राप्रपा नेपालका अध्यक्ष थापाले निर्धारित समयभित्र संविधान निर्माण हुनुपर्ने र उक्त संविधानमा नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र सुनिश्चित हुनु पर्ने आफ्नो पार्टीको अडान रहेको प्रधानमन्त्री कोइराला समक्ष राख्नु भएको थियो । हालै वेलायती राजदुतले धर्म परिवर्तन गर्ने÷गराउने अधिकार सुनिश्चित हुनुपर्छ भनी दिनुभएको विवादास्पद अभिव्यक्तिप्रति पनि राप्रपा नेपालले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले मुलुक गम्भीर मोडमा रहेको भन्दै सकेसम्म सहमतिबाटै संविधान निर्माण गर्ने र सहमतिका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने बताउनु भएको थियो । ‘भेटका क्रममा प्रधानमन्त्री कोइरालाले नभए विधि र प्रक्रियाबाट भए पनि माघ ८ गतेभित्र संविधान जारी गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो,’ श्रेष्ठले भन्नृुभयो ।
भेटमा प्रधानमन्त्री कोइरालाले राप्रपा नेपाललाई निषेध गर्ने आफ्नो नियत र मनसाय नरहेकाले सवैको सल्लाह अनुसार आफु अघि बढ्ने र बढिरहने धारणा व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले संसारभर राष्ट्रनिर्मातालाई इज्जत र सम्मान दिएको प्रसंग उल्लेख गर्दै पृथ्वीनारायण शाहलाई सम्मान दिने विषयमा आफु सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो ।















प्रतिक्रिया