काठमाडौं, २८ मंसिर । दर्जनौं देशका जेलबाट भाग्न सफल अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्स शोभराज ११ वर्षदेखि नेपालको जेलमा छन् ।
उनी यतिबेला केन्द्रीय कारागारको गोलघरमा हिन्दुधर्मको गीता पढिरहेका छन् ।
शोभराजकी सासु तथा अधिबक्ता शकुन्तला थापाले अंग्रेजी भाषामा अनुवाद गरिएको गीता शोभराजलाई जेलमा लगिदिएकी हुन् ।
‘केही महिनाअघि मैले गीता लगिदिएको हुँ’,थापा भन्छिन्,‘फिलोसोफीका किताब पढ्न उसलाई एकदम मनपर्छ । त्यही भएर मैले लगिदिएको हुँ ।’
उनका अनुसार शोभराजले बाइबल पनि साथमै राखेका छन् ।
जेल स्रोतका अनुसार शोभराजको कोठामा विभिन्न किसिमका दर्जनौं किताब छन् ।
गोलघरमा एक्लै राखिएका उनी अधिकांश समय सुतेर बिताउँछन् भने बेलाबेला पढ्ने र लेख्ने गरेको स्रोत बताउँछ ।
केन्द्रीय कारागारले गुन्डाका एक नाइकेलाई गोलघरबाट बाहिर निकालेको छ भने अर्कालाई गोलघरभित्र पठाएको छ ।
रमेश बाहुन भनिने सुजन पौडेललाई गोलघरबाट बाहिर निकालिएको छ भने अभिषेक गिरीलाई भित्र राखिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
जेलभित्रै झगडा गर्न थालेपछि गिरीलाई नख्खु कारागारबाट स्थानान्तरण गरी सुन्धारास्थित गोलघरमा राखिएको हो ।
एक सरकारी कर्मचारीलाई अपहरण गरी फिरौती लिएको मुद्दामा उनी प्रेमिकासहित गत साउनमा पक्राउ परेका थिए ।
लामो समयदेखि फरार रहेका बाहुन गत असारमा पक्राउ परेका हुन् ।















प्रतिक्रिया