३० आश्विन २०८३, शुक्रबार

नाइजेरियामा भएको हिंसामा २४ जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अबुजा, २४ फागुन । नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको हो । हिंसामा परी सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको राज्य गभर्नर साम ओर्टोमले पत्रकारहरूलाई बताए । उनले त्यस घटनालाई अमानवीय घटनाको रूपमा व्याख्या गरेका छन् । घटनालाई नियन्त्रणमा लिई दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको उनले बताए ।

अर्का एक जना सरकारी अधिकारीले सोमबार र मंगलबार भएका घटनामा परी मृत्यु हुनेमा विद्यालयका छात्रछात्रा पनि रहेको जानकारी दिए । हिंसाका घटनाहरूले अरू सयौँ जनालाई प्रभावित पारेको पनि सरोकारबालाहरूले बताएका छन् ।

हिंसा अन्त्यका लागि विभिन्न खालका बैठक तथा छलफलहरू भइरहेको अधिकारीहरूले जानकारी दिएको समाचारमा जनाइएको छ । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले हिंसात्मक घटनाहरू चाडै नियन्त्रण हुने अपेक्षा गरिएको बताए । –रासस/सिन्ह्वा