२८ आश्विन २०८३, बुधबार

सूर्य चिन्हबाट जितेका बृजेशकुमार गुप्ता भन्छन् – अब बाम गठबन्धन छाड्दिन (अन्तर्वार्ता)

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बृजेशकुमार गुप्ता, सांसद (स्वतन्त्र मधेसी समूह)

मधेस केन्द्रित दलहरूबाट अलग भएर स्वतन्त्र मधेसी समूह गठन गरेर प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका बृजेशकुमार गुप्ताले सहमति र सहकार्यको राजनीतिलाई ध्यान दिनुपर्ने बताएका छन् । एमालेको चुनाव चिन्ह ‘सूर्य’बाट विजयी भएका गुप्ताले बाम गठबन्धनको सरकारबाट जनताले धेरै अपेक्षा गरेको बताए । गुप्ताले आइतबार सांसद पदको शपथ लिएका छन् । उनैसँग दैनिक नेपालका विमल योगीद्वारा गरिएको कुराकानी :

संघीय संसद अब कसरी अगाडि बढ्नु पर्छ ?

हामी संविधान कार्यान्वयनका लागि आएका हौँ । त्यसका साथै विकास निर्माण र मुलुकमा सुशासनको कुरा पनि छ । हामी तराई–मधेसबाट आएका छौँ । यो परिस्थितिमा तराई–मधेसका जनताको केही अपेक्षा छन् । त्यसलाई हामी कसरी पूरा गर्न सक्छौँ भन्नेमा छौँ । अहिलेको समयमा बाम गठबन्धन बहुमतको सरकार बनेको छ । बाम गठबन्धनका पनि केही एजेण्डा छन् त्यसलाई कसरी पूरा गर्ने भन्ने विषय छ । यसैलाई आधार बनाएर संघीय संसद अगाडि बढ्नु पर्छ ।

यो संसदको मुख्य लक्ष्य र उद्देश्य के हुनु पर्छ ?

देशमा आर्थिक समृद्धिको कुरा गरिएको छ । युवाहरू बेरोजगार छन् । पलायन भइरहेका छन् । तिनीहरूलाई आफ्नै देशमा कसरी रोजगारी दिने भन्ने जस्ता कुराहरू छन् । यस्तै र यस्ता खालका समस्या समाधान गर्न संसदले भूमिका खेल्ने छ । केही संघीय कानून बनाउनु पर्नेछ त्यसलाई पनि पूरा गर्नुछ । विशेष गरेर विकास र आर्थिक समृद्धिका लागि बाटो खोल्नु नै यो संसदको लक्ष्य र उद्देश्य हुनुपर्छ ।

पहिला मधेस केन्द्रित दलमा हुनुहुन्थ्यो, एमालेको चुनाव चिन्ह लिएर जित्नु भयो । एमालेमा बस्ने कि ‘स्वतन्त्र मधेसी समूह’मा रहने ?

हामी वाम गठबन्धनबाट चुनाव लडेका छौँ । बहुमतको सरकार बनेको छ । त्यसलाई कसरी सफल पार्न सकिन्छ भन्नेमा रहन्छौँ । अहिले हामी वाम गठबन्धनका सांसद हौँ । यो वा त्यो भन्ने छैन । हामी वाम गठबन्धनभित्र आइसकेपछि बाम गठबन्धमा बस्ने हो । बामम गठबन्धनको साथमा काम गरिरहेका छौँ । कस्तो प्रकारको उनीहरूको व्यवहार हुन्छ त्यही तरिकाले अगाडि बढ्ने हो ।

तपाईंहरूले विगतमा उठाएका माग र एजेण्डा छाड्नु भयो नि ?

संविधान संशोधन लगायतको कुरा मधेसवादी दलहरू दुई नं. प्रदेशमा मात्रै केन्द्रित बनाए । त्यो परिस्थितिमा हामीहरू बाम गठबन्धनको साथ लागेर निर्वाचनमा गयौँ । मुद्दा र एजेण्डा छाडेको होइन । त्यस बेलाको परिस्थितिअनुसार बाम गठबन्धनसँग मिलेका हौँ । माग र एजेण्डालाई पूरा गराउनेतिर हाम्रो ध्यान केन्द्रित रहन्छ । दबाब रहन्छ । बाम गठबन्धनको सरकार हाम्रा मागप्रति सकारात्मक छ ।

विकास निर्माणमा तपाईहरूको ध्यान कस्तो रहन्छ ?

अहिलेको सरकार हाम्रो हो । बाम गठबन्धनको हो । विकास निर्माणमा पहिलाभन्दा धेरै दिन्छौँ । जनताले पनि अपेक्षा गरेका छन् । स्वभाविक छ यस पटक देशमा आर्थिक क्रान्ति आवश्यक छ ।

यो सरकारको कामकारबाही अब कस्तो खालको हुनुपर्छ ?

सरकार अहिलेका लागि बुहमतको छ । तर, दुईतिहाइ पुग्ने अवस्थामा छ । मुलुकको आमूल परिर्वतन गर्नका लागि हरेक तरिकाले काम गर्न सक्छ । देशमा परिवर्तन हुन्छ । घोषणा पत्रलाई आधार बनाएर चल्नुपर्छ । शान्ति सुरक्षा, सुशासन कायम गरेर भ्रष्टाचार अन्त्य गर्नुपर्छ ।

सरकारले कांग्रेससँग सहमति र सहकार्य गर्न जरुरी छ कि छैन् ?

संसदीय प्रक्रिया हो । संविधान बनाउने कुरा होइन । संसदमा एउटा सत्तापक्ष हुन्छ । एउटा प्रतिपक्ष हुन्छ । कांग्रेसले दह्रो तरिकाले प्रतिपक्षको भूमिका निर्वाह गर्छ । संसदमा प्रतिपक्ष जबसम्म दह्रो तरिकाले हुँदैन सत्तापक्षले पनि काम गर्न गाह्रै हुन्छ । सरकार पनि मजबुद तरिकाले बनेको छ । प्रतिपक्ष पनि मजबुद तरिकाले रहेको छ । देश सहज रुपमा अगाडि बढ्छ । चेक एण्ड ब्यालेन्सको अवस्था छ । आवश्यक पर्ने ठाउँमा सहमति र सहकार्य गर्नुपर्छ ।

निश्चय नै सहमति र सहकार्यको राजनीति आवश्यक छ । देश यस्ता कुराहरू पनि छन् जसमा सहमतिको आवश्यक्ता पनि छ । सहमति गर्नुपर्छ । गरिन्छ होला पनि । राम्रो काम गर्दा कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्ने छैन । त्यसको सट्टामा कांग्रेसले सरकारलाई सहयोग गरेर कामलाई सफल बनाउनु पर्छ ।

प्रधानमन्त्री केपी ओलीले कांग्रेसलाई महत्व नदिएको भन्ने आरोप छ नि, हो ?

अहिले संसदीय प्रक्रियामा महत्व दिने वा नदिने कुरा संसदमा भर पर्छ । संसदमा त्यस्ता एजेण्डाहरू आउँछन् त्यस बेला आवश्यक्ताहरू रहन सक्छ । त्यो तरिकाले मात्रै प्रतिपक्ष नेपाली कांग्रेसलाई महत्व दिनुपर्ने हुन्छ । बाम गठबन्धनले आफ्नै एउटा नीति तथा कार्यक्रम सहितको घोषणापत्र सार्वजनिक गरेर चुनाव लडेको छ । त्यो घोषणापत्र मार्फत जितेको छ । त्यो घोषणापत्रलाई कार्यान्वयनतिर लाग्छ । प्रधानमन्त्री केपी ओलीले कांग्रेसलाई बेवास्ता गर्नु भएको छैन । गर्नु पनि हुँदैन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पनि विश्वास जितेर सरकार चलाउनु पर्छ । बहुमतको दम्भ वाम गठबन्धनले गर्नु हुँदैन । होइन भने मुलुक दुर्घटनामा जान सक्छ ।