लाहोर । पाकिस्तानमा कृष्णा कुमारी राज्यसभामा महिला हिन्दू सांसद बनेकी छन् । यसअघि पाकिस्तानको ‘प्रथम महिला हिन्दू’ लोकसभा सांसद रीता ईश्वर लाल बनेकी थिइन् ।
सन् २०१३ मा उनी महिलाका लागि आरक्षित सिन्ध प्रान्तबाट सांसद बनेकी थिइन् । रत्ना भगवान दास चावला पाकिस्तानको राज्यसभामा प्रथम महिला हिन्दू सांसद (सन् २००६–२०१२) बनेकी थिइन् ।
सिन्धको थार प्रान्तकी कृष्णा दलित समुदायबाट आएकी सांसद हुन् । सत्तारूढ पाकिस्तान पीपुल्स पार्टीका तर्फबाट सिन्ध प्रान्तमा कृष्णा कुमारी मुस्लिम देशमा ‘प्रथम महिला दलित हिन्दू’ सभासद् बनेकी छन् ।
कृष्णा सांसद बनेपछि पाकिस्तानमा रहेका अल्पसंख्यक एवं महिला अधिकारको क्षेत्रमा निकै महत्वपूर्ण मानिएको छ । बिलावल भुट्टो जरदारीको पार्टी पीपीपीले अल्पसंख्यकका लागि आरक्षित सिटमा उनलाई उम्मेदवार बनाएको थियो । कृष्णा र उनका दाजु केही समयदेखि सामाजिक कार्यकर्ता एवं पीपीपीसँग सम्बद्धमा छन् ।
गरिब परिवारमा जन्मिएकी कृष्णाका पिता किसान हुन् । सन् १९७९ मा जन्मिएकी उनको ९ कक्षा पढ्दै गर्दा विवाह भएको थियो । विवाहपछि पनि कठिन संघर्षका साथ अध्ययनलाई निरन्तरता दिएकी उनले सन् २०१३ मा समाजशास्त्रमा स्नताकोत्तर गरेकी छन् । शनिबार भएको चुनावबाट पाक राष्ट्रियसभामा पीएमएल सबैभन्दा ठूलो दल बनेको छ ।
पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)का अनुसार प्रान्तीय एवं संघीय प्रतिनिधिले मतदान गरेका थिए । नवाज शरीफको पार्टी पीएमएल–एन १५ सिटमा विजयी भएको छ । पाकिस्तान पीपुल्स पार्टी (पीपीपी)ले १२ सिट जितेको छ ।
इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले ६ सिटमा जित हासिल गरेको छ । १० सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । तालिबानका सहयोगी मानिएका मौलाना सामुल हक भने पराजित भएका छन् । – एजेन्सी













प्रतिक्रिया