
-अश्विनी कोइराला
अहिले देशभरिका सिनेमा घरहरुमा चलचित्र नाका प्रदर्शन भइरहेको छ । थोरै खर्च र थोरै कलाकारको टिमले बनाएको यो चलचित्रका निर्देशक पनि विल्कुलै नयाँ हुन् । ठूलो खर्च बिना पनि राम्रो चलचित्र निर्माण गर्न सकिन्छ भन्ने यो दरो उदाहरण हो ।
चलचित्रमा कलाकारको भिडभाड छैन । बनिबनाउ संवाद छैन । धुरन्धर लभस्टोरी छैन । धमकेदार फाइट छैन । सिलसिलेवार र मिलेको कथा छैन । हिरो–हिरोइनको नाचगान छैन । ठूला क्यान्भासमा आँखालाई आनन्द दिने दृष्य छैनन् । खासमा, नाका यस्तो चलचित्र हो, मूलधारका चलचित्र हेर्ने बानी परेका दर्शकका लागि मापन गर्ने कुनै पनि इन्डेक्स सकारात्मक छैनन् ।
त्यसो भए ‘नाका’ सिनेमा हलहरुमा किन भिडका साथ चलिरहेको छ ?
मल्टीप्लेक्स हलबाट निस्किएका केही दर्शकलाई महंगो मूल्य तिरेर यो चलचित्र हेर्न आउनुका कारण सोधिएको थियो । अधिकांश युवा दर्शक पाएको ‘नाका’ हेर्न हलसम्म तानिनुको कारण कलाकार विपीन कार्कीको गेटअप र कथाको ‘डार्क र साँगुरो लोकेसन’ रहेछ । युटुवमा निकै रुचाइएको नाकाको ट्रिजरकै कारण धेरैजसो दर्शक लचित्र हेर्न आएका थिए । चलचित्रमा शुक्रवार र शनिवार ओइरिएका दर्शकका कारण सिनेमा हलहरुले ‘नाका’को सो बढाइदिएका छन् । दर्शकहरुले गोल्डीको चरित्र र नयाँ स्वादको कथा मन पराएको प्रतिक्रिया दिएका थिए । चलचित्र राम्रो बनाउने हो भने ठूलो प्रचार प्रसार बिना पनि दर्शक ओइरिन्छन् भन्ने यो राम्रो उदाहरण थियो ।
चलचित्रको कथाबस्तु
तिब्बतबाट नेपालको नाका हुँदै भारतस्थित दलाई लामाको आश्रम (धर्मशाला) जाने यात्रु र तातोपानी भन्सारका कारण हुने आर्थिक चलखेलको एउटा कुरुप कथा हो नाका । कथाको मियो स्थानीय दुई तन्नेरी हुन्, जसले तीब्बतीलाई सिमा पार गराउन ५ लाख रुपैंयाको डिल गर्छन् । खासमा मान्छे मात्र होइन, यसअघि रक्तचन्दन र अन्य तस्करीहरुमा पनि यी युवाको प्रयोग भएको कुरा कथा अघि बढ्दै महसुस हुन्छ । जसलाई चन्दन तस्करीबाटै पैसा कमाएको स्थानीय लाटा बा (रबिन तामाङ) ले प्रयोग गर्छन् । लाटा बा यसअघिका चर्चित गुन्डा नाइके हुन् भन्ने कुरा गोल्डी लाटा बासँग डराएका दृष्यहरुबाट थाहा पाउन सकिन्छ ।
चलचित्रमा तिब्बती नागरिकहरु भागेर नेपालको बाटो हुँदै भारत जानेहरुले पाएको दुःखलाई पाश्र्वमा राखिएको छ । यसले तिब्बती शरणार्थीहरुको कथा भन्दैन तर इतिहास पढ्नेहरुलाई उनीहरुको दुःख भने महसुस गराउँछ । नेपाली भाषा नजानेका निरीह तिब्बतीहरुमाथि चिनियाँ प्रहरीले बर्साउने गोलीबाट चलचित्र सुरु हुन्छ । नेपाल–चीन सम्बन्धको संवेदनशीलता बुझेर होला, यी कुरा निर्देशकले अत्यन्तै सचेत ढंगले प्रस्तुत गरेका छन्, समाचारलाई माध्यम बनाएर । तै पनि नाकाको मूल कथा तिब्बती शरणार्थीको होइन । खासमा सिन्धुपाल्चोकको बाह«बिसेदेखि तिब्बती नाका तातोपानी र तस्करीहरुले प्रयोग गर्ने सिन्धुपाल्चोक र दोलखा बीचमा पर्ने बोक्चीन गाउँ क्षेत्रमा हुने चलखेललाई मुख्य आधार बनाइएको छ । भारतबाट नेपाल हुँदै तिब्बत जाने सामग्री र चिन हुँदै नेपाल आइपुग्ने सामग्रीलाई व्यवस्थपन गर्ने ‘केटाहरु’ को कथा हो नाका । र, यो चलचित्रमा एकजना केटा ‘गोल्डी’ को काम, उसको सोच, उसको व्यवहार र उसले गर्ने उदण्डहरुको चित्रण देखाइएको छ ।

चलचित्रमा गोल्डीको चरित्र विपीन कार्कीले निभाएका छन् । विराटनगर घर भएका विपीनले सानैदेखि देखेका भारतीय नाकामा जम्मा हुने ‘ड्रग एडिक्ट केटाहरु’को कार्यशैलीलाई यो चलचित्रमा दुरुस्तै निभाएका छन् । खोकीको औषधिमा एक प्रकारको नशा हुन्छ । यो औषधि लगातार खाँदै जाँदा उसमा जति निडर पैदा हुन्छ, त्यति नै बोली बिग्रदै जान्छ । कतिसम्म भने यो औषधि लगातार खाने व्यक्ति मनमा लागेको कुरा राम्ररी भन्न सक्दैन ।
चलचित्रमा छड्के, पशुपतिप्रसाद, जात्रा हुँदै नाकासम्म आइपुग्दा, बिपिनले आफ्नो कलाकारिताको कदमा थप उचाई थपेका छन् । सानोतिनो भूमिका लिएर चलचित्र क्षेत्रमा प्रवेश गरेका बिपीन ‘नाका’सम्म आइपुग्दा एक्लै चलचित्रलाई थाम्ने चरित्र बनेर देखिएका छन् । निर्देशकले समग्र फिल्म उनकै काँधमा सुम्पिएका छन् ।
चरित्रचित्रण
लामो जुल्फी पालेको अनपढ गोल्डी पैसा कमाउनका लागि जस्तो पनि हर्कत गर्न पछि पर्दैन । जुवामा झेल गर्नेदेखि पैसा धुत्नेसम्मको कृत्य गरेर आसपासको क्षेत्रमा आफ्नो प्रभुत्व जमाएको छ । यसो गर्दा उसलाई कुनै ग्लानी अनुभव हुँदैन । म कानुनको फन्दामा पर्छु भन्ने ज्ञान र भय पनि छैन । जीवनप्रति वेपर्वाह छ । न कसैसँग हच्किन्छ, न बिच्किन्छ । जब्बर पात्र । सायद, अनपढ हुनु र संसारबाट बेखबर हुनु नै गोल्डीको चरित्र विकसित हुने कारण हो ।
गोल्डीलाई जसरी पनि पैसा कमाउनु छ । पैसाप्रति उनको अथाह आशक्ति देखिदैन तर डिल गरेको पैसा हरसंभव फुत्कन नदिन उसले गरेको प्रयासले देखाउँछ, आजभोलि नाकामा सजिलै काम पाइदैन । सायद, भूकम्पका कारण तातोपानी नाका बन्द हुनुको अप्ठ्यारो स्थानीय ब्यापारीहरुलाई मात्रै होइन, गोल्डीहरुलाई पनि परेको छ ।
यहि अप्ठ्यारोका विचमा उसले काम पाउँछ, नाकामा अलपत्र परेका बटुवालाई एउटा क्याम्प (काठ गोदाम)सम्म ल्याइपुर्याउने । उनका साथी छन्, कर्ली कपाल पालेका, च्याखुरे ज्यानका, सुर्के झोला भिरेका । नाम चाहि, हनुमान । गोल्डीका हनुमान ।
बटुवालाई नाका पार गराए बापत उनले प्रतिव्यक्ति कति पैसा लिने भन्ने कुनै टुंगो छैन । पैसाको मोलमोलाई हुन्छ । हनुमान भन्छ, ३० हजार रुपैयाँ । गोल्डीले थप्छ, एक लाख । फेरी दुई लाख । तीन लाख । अनि छ लाख । आखिरमा दुई जना बटुवालाई नाका पार गराएबापत ५ लाख रुपैयाँ लिने/दिने सहमती हुन्छ । यो दृष्यवाट यो अनपढ केटाहरुको कथा हो भन्ने महसुस हुन्छ ।
गोल्डी र हनुमान एम्बुलेन्स लिएर नाकातिर लाग्छन् । भिरालो जंगल क्षेत्रमा गोली लागेर लडेका तिब्बतियन अधवैंशे (शिव मुखिया) र उनीसँगै रहेकी जवान युवती (थिन्ले ल्हमु)लाई नाका कटाएर क्याम्पमा ल्याउँछन् । तर, त्यसपछि हुने धोकाधडी, मानविय संवेदना, मारकाट, लुछाचुडीले फिल्मलाई फरक बाटोतिर डोहोर्याउँछ ।

सवल पक्ष
एकदमै सामान्य परिघटनाले बाँधेर चलचित्रले जसरी मानविय संवेदनालाई स्पर्श गर्छ, त्यो परम्परागत शैलीभन्दा नितान्त भिन्न छ । र, मिठासपूर्ण पनि । केन्द्रिय पात्रबाट सबै घटनाको बान्की मिलाउनुपर्छ भन्ने पुरातन सोंचलाई ‘नाका’ले वेवास्ता गरेको छ । बरु, सहायक पात्रको रुपमा देखा परेका दुई निमुखा पात्रबीच हुने आत्मालापले दर्शकलाई स्तब्ध बनाउँछ । जबकी ती दुबै पात्रबीच दोहोरो संवाद हुन सक्दैन । जबरजस्ती संवाद लादिएको पनि छैन । तर, घटनाको उठान र बिसौनीबाटै उनीहरुबीचको अव्यक्त प्रेमलाई देखाइएको छ । फिल्मको यो पक्ष जोडादार छ ।
सबै मान्छेभित्र नायक र खलनायक दुबै पक्ष हुन्छ । चलचित्रले यी दुबै कुरा समान रुपमा देखाउनु पर्छ भन्ने आधुनिक सिनेमाको मान्यता हो । सिनेमा यहि आधुनिक मान्यतामा बनेका कारण हुनसक्छ, यो आम नेपाली चलचित्रभन्दा फरक भएर पनि यसले चलचित्रको अब्बल पहिचान बनाएको छ । खासा ब्यापारलाई राम्रोसँग बुझेका जो कोहीलाई पनि यो चलचित्र आँखै अघि घटेको घटना जस्तो लाग्छ । बाह«बिसे क्षेत्रमा हुने गुन्डागर्दी, प्रहरीको निरीहपन र तातोपानी नाकाको आडमा राजनीतिमा अघि बढेका पात्रहरुलाई चलचित्रले सम्झना गराउँछ । यति हुँदा हुँदै पनि ती कुराहरु चलचित्रले देखाउँदैन, केवल महसुस गराउँछ ।
अर्कोतिर सूत्रधारका रुपमा गोल्डी छ । जसको दुश्सहास, हठ र उत्ताउलोपनले दर्शकलाई रमाइलो गराउँछ । गोल्डीको काम गर्ने ढंग एवं बोल्ने शैली एकदमै फरक छ । उसको मनोविज्ञान र प्रवृत्ति अनुरुपको हुलिया र व्यवहार तर्कसंगत छ । अक्सर, नेपाली फिल्ममा पात्रको मनोविज्ञान र चरित्र निर्माणबीच सन्तुलन बिग्रने गर्छ ।
सानो फ्रेमभित्र सीमित लोकेसनमा सामान्य पात्रबाट घतलाग्दो कथा पस्किएको छ चलचित्रले । चलचित्र हेर्दै जाँदा अन्त्यबारे दर्शकले पूर्वानुमान लगाउन सक्दैन । नाचगान छैन, रोनाधोना छैन र कामुकता छैन । जबरजस्ती हँसाउने चेष्टा पनि गरिएको छैन । तर, संवादमा सेन्स अफ ह्युमरको प्रयोग गरिएको छ ।
पृष्ठभूमिमा बज्ने तिब्बेतियन धुनको बेग्लै मिठास छ । दुई पात्र रोबिन तामाङ र शिव मुखिया दुबै गायक हुन् । तर, उनीहरुको चरित्र र अभिनय स्वभाविक छ । फिल्ममा देखाइने एउटै मात्र महिला पात्र अर्थात थिन्ले ल्हमुको हाउभाउ मन छुने खालको छ ।
कमजोर पक्ष
अमित श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा कुटपिटको दृश्य अलि बढी छ । कथाले माग नगर्दा नगर्दै पनि हरेक उल्झनबाट अगाडि बढ्न पात्रको हत्या गरिन्छ । यही कारण हुनसक्छ, मुख्य पात्रमाथि गोली चलाउँने अवस्था आउँदा त्यो जति भयंकर रुपमा आउनु पर्दथ्यो, त्यो गम्भीरता चलचित्रमा पेश हुँदैन । हनुमानले आफ्नो परम पूजनीय बोस ‘राम’ को हत्या एउटा साधारण कथा जस्तो मात्र बन्न पुग्छ । यस्तो लाग्छ, सिन्धुपाल्चोक, बाह्रबिसे आसपासको त्यो क्षेत्रमा कानुनी राज्यको उपस्थिती शून्य छ ।
गोल्डीले सुरुमा चेकपोष्टमा तैनाथ प्रहरीलाई नाङ्गेझार बनाउँछ । उनीहरुको हतियार र वकिटकी लुट्छ । तर ती प्रहरीहरु यति निरिह छन् कि, गोल्डीलाई पक्राउ गर्ने होइन, चाकडी गरेर आफ्नो सामाग्री फर्काउने चक्करमा लाग्छन् । यो दृश्यले ठाउँ–ठाउँमा हसाएपनि तर्कसंगत लाग्दैन । भूकम्प गएको वर्ष र त्यसको दुई वर्षअघि स्थानीय युवाहरुले प्रहरीमाथि गरेको हातपात र पक्राउ परेका गुन्डा नाइकेलाई छुटाउन गाउँनै लागेको दृष्य सम्झँदा भने निर्देशकले त्यही सत्य घटनालाई आधार बनाएका होलान् भनेर चित्त बुझाउनु पर्ने बाध्यता छ ।
चलचित्रमा तिब्बतबाट भागेर धर्मशालातिर लागेका बटुवाहरुको जसरी पहिचान खुल्दैन, अनपढ युवाहरुको धरातल पनि थाहा हुँदैन । भुकम्पपछि चीनियाँ सेनाले राहतस्वरुप दिएको पालमा बस्ने गोल्डी र हनुमान किन र कसरी त्यहाँ बसिरहेका छन्, त्यो पनि थाहा हुँदैन । कतिपय ठाउँमा क्यामेरा यसरी चलाइएको छ कि, आँखा बिझाउँछ । माकुराको जालो र ढुंगाका थुप्रोहरुबाट बिम्बात्मक दृष्य पस्कने प्रयास गरिएको छ । सामान्य हलमा चलचित्र हेर्नेहरुका लागि केहि दृश्यहरु अस्पष्ट हुनसक्छ ।
निर्देशकीय क्षमता
बाह्रबिसे मै जन्मे–हुर्केका र व्यापारी बुवाका छोरा अमित श्रेष्ठ चलचित्र पढ्नकै लागि अमेरिका पुगेका निर्देशक हुन् । फ्लोरिडामा ‘भिज्वल इफेक्ट्स’मा स्नातक गरेर नेपाल फर्किएपछि उनले संगीतमा रुचि भएका साथीहरुसँग मिलेर ‘पावर हाउस’ नामको म्युजिकल ब्याण्ड खोलेका थिए । यो संस्थाले दर्जनौ म्युजिक भिडियो पनि निर्माण गरेको थियो । तर उनका सबैजसो साथीहरु बिस्तारै अमेरिका–क्यानेडा पलायन भएपछि यिनी विस्तारै चलचित्र क्षेत्रमा प्रवेश गरे । ‘छड्के’ चलचित्रमा सहायक निर्देशक भएपछि उनको दोस्ती विपीन कार्की र निश्चल बस्नेत जस्ता फरक काम गर्न रुचाउने कलाकार– निर्देशकहरुसँग भयो । यसबीचमा उनले बाह«विसे र मुस्ताङ्को मार्फा गाउँको विषयमा डकुमेन्ट्री पनि बनाए ।
यसरी विदेशको अध्ययन र नेपाली संस्कृतिका विषयमा डकुमेन्ट्री बनाएपछि निर्देशकले ठूलो पर्दाको चलचित्र बनाएको देखिन्छ । आफ्नै आँखाले देखेको चलचित्रमा आफैले बनाउने चलचित्र राम्रो हुने आत्मविश्वासकै कारण हुनसक्छ, निर्देशकले पनि यो चलचित्रमा लगानी गरेका छन् । यस अर्थमा निर्देशक श्रेष्ठले आफ्नो सारा ज्ञान र क्षमता चलचित्र ‘नाका’मा खन्याएका छन् भनेर दर्शकहरुले महसुस गर्छन् । यद्यपी, पहिलो चलचित्र भएका कारण उनका कतिपय ज्ञान अझै पनि कच्चा लाग्छन् र भविष्यमा यस्ता कमजोरीबाट उनी उत्कृष्ट चलचित्रका लागि तयार हुनेछन् भन्ने विश्वास गर्न सकिन्छ ।
आजका लागि भने, चलचित्र ‘नाका’ हेरेर दर्शकले चुक्चुकाउनु पर्दैन । एउटा फरक तर अग्र्यानिक स्वादको महसुस गरेर दर्शकहरु हलबाट फर्कनेछन् ।















प्रतिक्रिया