२८ आश्विन २०८३, बुधबार

मृत्युको विरुद्धमा पत्र

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Basudha-Pokhrel

BK-Palpali-dainiknepal

समादरणीय मित्र बसुधा जी ! नमस्कार !

अघिल्लो वर्ष दुबै मिर्गौला बिग्रिएर थला परेपछि मेरो उपचारका लागि तपाईँ मेरै घरमा आएर सान्त्वना र सहयोग प्रदान गर्नुभएको सायदै मैले भुलुँला । त्यो भन्दा पनि २०५८ सालदेखि द रेयुकाई नेपालको सदस्य भई एकै समितिमा बसेर काम गर्ने क्रममा हाम्रा धेरै भलाकुसारीहरु भएका थिए । विगतमा हामी प्रगतिका बाटाहरु खोज्ने कुरामा यौटै गुन्द्रीमा बसेर बहस गथ्र्यौं । तपाईको भ्रातृभावको सम्मानले मन फुरुङ्ग भए झैं हुन्थ्यो । सहयात्राका ती दिन सम्झनामा मात्र सीमित रहेकै बेला मेरो स्वास्थ्यले धोका दियो । म बिस्तरामा पल्टिएर मृत्युसँगबाट फुत्कने विषयमा अन्टसन्ट (राम्रा नराम्रा ) विचारहरु सोच्दै थिएँ, फेरि तपाईँको यो घटनाको जानकारीले मलाई थप विछिप्त बनाएको छ । तथापि हामी सामाजिक सेवाका सारथिहरु यत्तिकै हरेश खायौं भने भोलि हाम्रो काम कसले गर्ने ?

बसुधा जी !

रोग फरक छ तर समस्या यौटै हो । ढिलो चाँडोको कुरा हो । तर म आप्mनै आत्मबल र तपाईँ एवं तपाइँजस्ता सहयात्री साथीहरुको हौसला, सहयोग, सद्भाव अनि आशिर्वादले केही निको भएको महसुस गरिरहेको छु । तपाईँको शल्यक्रिया सफल भएको छ । मेरो त्यो कार्य पनि अझै हुन सकेको छैन । तथापि मेरो यौटा आत्मबल अनि साथीभाइहरुको सान्त्वनाले मेरो मृत्युलाई केही पर धकेलिरहेको छ । उपचारको यही यौटा अचुक कार्य मात्र पनि त हो ।

चिन्ताले चीतामा पु¥याउँछ भन्छन् । हिम्मत हार्नाले पनि आधा रोग बढ्छ भन्छन् । तमाम समस्यालाई थाति राखेर स्वास्थ्यको बारेमा मात्र चिन्ता लिँदा पनि थप पीडा हुँदो रहेछ । त्यसैले रोगलाई निको पार्ने प्रविधिहरु एकसे एक आएका छन् भन्ने सोचेर आत्मविश्वास बढाउनुस् । सकारात्मक सोचले मानिसलाई बलियो बनाउँदो रहेछ । हुन त अरु पनि त यस्तै समस्यामा छन् । म पनि त त्यस्तै समस्यामा छु भनेर आत्माले मान्दो रहेनछ । तथापि रोग निको हुन्छ, यसमा ढुक्क भएर आत्मालाई सान्त्वना दिनुहोला । म पनि ईश्वरसँग संयुक्त प्रार्थना गरिरहेको छु । मलाई लाग्छ जीवनको अर्को नाम दुःख हो । त्यसैले त हामीले सुखकै लागि भनेर दुःख गरिरहेका थियौं र छौं । संसारमा लोक–परलोक अकाट्य सत्य रहेछ । यसको प्रयोगमा हामी आत्मालाई सान्त्वना दिएर आत्मबल बढाएर अगाडि बढ्नुपर्छ । रोग निको हुन्छ भन्नेमा विश्वस्त हुनुपर्छ ।

म आउने मन भित्रै देखि उकुशमुकुश बनाएर यहाँ भक्तपुरमा लुडबुडिएको छु तपाईँ बानेश्वरमा हुनुहुन्छ । भेट हुन सकेको छैन । मलाई कतिखेर भेटौं हुँदा पनि आउन सकिरहेको छैन । एकपछि अर्को समस्या परिरहेको छ । मेरो मुटुमा पनि समस्या देखियो भने दायाँ खुट्टा करीब करीब नचल्ने जस्तै भएको छ, तथापि मनलाई बलियो बनाएर अगाडि बढ्नुको विकल्प पनि त छैन । मलाई यो वर्ष हजार हातहरुको सहयोगले केही राहत मिलेको छ । तपाइँको हकमा पनि हजारौं मनहरुले दिएको आशिर्वादले पक्कै काम गर्नेछ । हामीले धेरै गर्नुछ, परिवारका लागि, समाजका लागि र सिङ्गो देशका लागि । त्यसैले बसुधा जी, मनलाई बाँध्नुस्, बलियोसँग । यसैले हामीलाई आधा रोग निको बनाउने बाटो देखाउँछ । आत्मा दह्रो भयो भने शरीर हलुका हुन्छ । जब शरीर हलुका हुन्छ तब रोगसँग लड्ने क्षमता बढ्दो रहेछ । मेरो यो डेढ वर्षको अनुभवले तपाईँलाई बताउँदै छु । त्यसैले चिन्तामुक्त दरिलो मन बनाउने प्रयास गर्नुहोला । रोगसँग लड्ने क्षमता हामी अबश्य पाउने छौं । फेरि कुनै दिन पुराना यात्राकै बाटोमा हामी हिँड्ने छौं भन्ने मलाई आशा लागिरहेको छ ।

शिघ्र स्वास्थ्य लाभको कामनासहित भेट्ने वाचामा बिदा हुन्छु ।

उही तपाईँको साथी,

बी.के.पाल्पाली