
समाचार टिप्पणी
-रामकुमार शाही/दैनिक नेपाल
नेपाल काठमाडौँ, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेकै दिन फागुन ३ गते राति भारतीय राजदूत मञ्जिवसिंह पुरी ओलीलाई बधाई तथा शुभकामना दिन बालकोट पुगे । शुभकामनासँगै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सुनाए । नेपालसँग सहकार्य गरेर अघि बढ्न चाहेको सन्देश पनि दोहोर्याए ।
उसो त ओली प्रधानमन्त्री बन्नुअघि नै मोदीले तीनपटकसम्म फोन गरेर नयाँ सरकारका लागि शुभकामना दिइसकेका थिए । नयाँ सरकारसँग काम गर्न भारत आतुर रहेको जनाउ दिएका थिए । फागुन ११ गते ओलीको जन्मदिनमा राजदूत पुरी शुभकामना दिन बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगे । बिहीबार (फागुन १७ गते) होलीको छेको पारेर राजदूत पुरी आफ्नी पत्नीसहित फेरि शुभकामना बाँड्ने निहुँमा बालुवाटार प्रवेश गरे ।
सन्दर्भ किन जोडिएको हो भने पछिल्लो समय भारतले नेपालप्रति खासगरी प्रधानमन्त्री ओलीप्रति अत्ति नै चासो दिइरहेको छ । यसका पछाडि दुई वटा कारण रहेको टिप्पणी गरिएका छन् । एउटा, भारत प्रधानमन्त्री ओलीसँग बिग्रिएको सम्बन्ध सुधार्न चाहन्छ । र, अर्को नेपालमा चिनियाँ प्रभाव बढेको हेर्न चाहँदैन । नेपाल-भारत सम्बन्धका अन्य विषय भएता पनि मुलतः भारत यी दुवै कारणले ओलीलाई निकै महत्व दिइरहेको छ । यसको उदाहरणका रुपमा राजदूत पुरीको सक्रियता र ओली प्रधानमन्त्री बन्नुअगावै भारतीय प्रधानमन्त्री मोदीको ‘विशेष दूत’ का रुपमा विदेशमन्त्री सुष्मा स्वराजको गएको माघ १८ गते भएको नेपाल भ्रमणलाई लिन सकिन्छ । भ्रमणका बेला स्वराजले बहालवाला प्रधानमन्त्री भन्दा पनि ‘वेटिङ’ प्रधानमन्त्रीलाई दिएको महत्वले पनि यो कुरालाई थप बल पुग्छ । यति मात्र होइन, ओली प्रधानमन्त्री बनेसँगै कतिपय भारतीय सञ्चारमाध्यमले नेपालमा चीनको प्रभाव बढ्ने भनेर टिप्पणी गरे । माओवादी समेतको संलग्नतामा सरकार बनेकाले स्वतः चीनको उपस्थिती बलियो हुने भारतीय पक्षको बुझाई रह्यो/रहँदै आएको छ ।
नेपालमा संविधान बन्दै गर्दा भारतले गरेको अनावश्यक हस्तक्षेप, संविधान जारी भएपछिको अघोषित नाकाबन्दीले भारत नेपालमा के चाहन्छ भन्ने कुरा घामजतिकै छर्लङ्ग छ । ठीक त्यही बेला प्रधानमन्त्री बनेका ओलीले लिएको राष्ट्रवादी अडानले एकातिर नेपालमा ‘एन्टिभारत’ मानसिकता बलियो भयो भने अर्काेतिर ओलीको अडानले धेरै नेपालीमा लामो समयपछि राष्ट्रवादी भावनाको विकास भयो । पछिल्लो समय भारतले देखाएको चासोले ऊ ‘रियलाइजेशन’को अवस्थामा पुगेको मान्न सकिन्छ ।
एमाले सचिव प्रदिप ज्ञवालीकै भनाईलाई आधार मान्ने हो भने संविधान निर्माणजस्तो नेपालको नितान्त सार्वभौम र आन्तरिक विषयमा भारतले गरेको अनावश्यक हस्तक्षेप र नाकाबन्दीपछि ऊ ‘रियलाइजेशन’को अवस्थामा पुगेको हो । यसका पछाडि नेपालले नाकाबन्दीलाई सही ढंगले गरेको प्रतिवाद पनि हो । भारतको पछिल्लो सक्रियता असामान्य नभएपनि सामान्य पनि होइन ।
‘हिजो दबाएर आफू अनुकूल बनाउनुपर्छ, आफ्ना स्वार्थ पूरा गर्नुपर्छ भन्ने ढंगले लागेको भारत पछिल्लो समय यति धेरै लचिलो हुनुका पछाडि पनि कारण होलान्’ एमाले सचिव ज्ञवाली भन्छन्, ‘बढी नजिकिएर, सम्बन्ध सुधार गरेर आफ्ना स्वार्थ पुरा गर्न खोजेको पनि हुन सक्छ । तर, हामी सबै छिमेकीसँग समधुर सम्बन्ध राख्न चाहन्छौँ अनावश्यक स्वार्थ पूरा हुन दिदैनौँ ।’ नेपाल जहिले पनि अशल छिमेकीको पक्षमा रहेको उनको भनाई छ ।
सचिव ज्ञवालीले एमाले नेतृत्वको सरकार कुनै छिमेकीसँग नजिक र कुनै छिमेकीसँग टाढा हुने हिसाबले अघि बढ्ने छैन । सबै छिमेकीसँगको सम्बन्धलाई उत्तिकै महत्व दिएर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राख्नेछ । सबै छिमेकीसँग समदूरी रहनेछ । एमाले सचिव ज्ञवालीले भारतको पछिल्लो सक्रियालाई ‘रियलाइजेशन’ रुपमा बुझेपनि राजीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी यसमा सहमत छैनन् । यसलाई सामान्य कुटनीतिक अभ्यासका रुपमा बुझ्नुपर्ने उनको भनाई छ ।
‘कतिपय मिडियामा भारत नेपालसँग झुक्यो, भारतले गल्ती स्वीकार गर्यो भन्ने किसिमका कुरा अएका छन् त्यसो होइन’, विश्लेषक केसी भन्छन्, ‘यसलाई सामान्य कुटनीतिक अभ्यासका रुपमा लिनुपर्छ । बद्लिदो परिस्थिति अनुसारको कुटनीतिक व्यवहारका रुपमा बुझ्नुपर्छ ।’ चिनियाँ प्रभाव पर्ने डरले भारतले सक्रियता देखाएको भन्नेमा भने उनी सहमत छन् । तर, नेपालले आफ्नो परराष्ट्र नीतिलाई सही रुपमा प्रयोग गरे कुनैपनि देशको अनावश्यक चासो नहुने उनको तर्क छ ।
सरकार र विभागीय मन्त्री नेपालको सर्वाेपरी हितका लागि लाग्ने हो भने छिमेकीबाट ‘डोमिनेट’ हुनुपर्ने अवस्था नआउने उनले बताए । हिजोका कतिपय सरकारले देशको हितभन्दा पनि छिमेकीको हितलाई प्राथामिकता दिएकाले भारतले खेल्न मौका पाएको केसीको टिप्पणी छ । यद्यपी, प्रधानमन्त्री ओलीले अब लिने नीति एवं कदमले दुईपक्षीय सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने निक्र्योल गर्ने उनको बुझाई छ ।
केही समय अघि भारतीय सेनाले पूर्वनजरल एवं नेपाल मामिलाका जानकार अशोक मेहताले भारतले ओलीसँग सम्बन्ध सुधारका लागि हात अगाडि बढाएको बताएका थिए । ओली साँच्चिकै राष्ट्रवादी नेता भएको भन्दै उनले नेपालको हितको लागि नेपाल–भारत सम्बबन्धमा ओलीले सकारात्मक भुमिका खेल्ने विश्वास गरेका थिए । भारतीय विदेशमन्त्रीले कुनै पनि औपचारिक निमन्त्रणबिना गरेको भ्रमणलाई सामान्य घटनाका रुपमा लिन नसकिने उनको तर्क थियो ।
नाकाबन्दीका कारण नेपालमा भारतविरोधी भावना बढेको र यही एजेन्डाका कारण पनि वाम गठबन्धनले चुनाव जितेको महसुस दिल्लीले गरेको छ । त्यतिमात्र होइन संविधान संशोधनको विषय कूटनीतिक माध्यमले उठाउनुपर्नेमा त्यसमा आफू चुकेको महसुस गरेको मेहताको टिप्पणी छ । यसअघि, मधेसवादी दलका माग सम्बोधन गर्न संविधान संशोधनको विषयलाई लिएर ओली र भारतको सम्बन्धमा चिसोपन आएको थियो । तर, पछिल्लो समय भारतले तत्काललाई संविधान संशोधनको विषय छाडेको देखिन्छ ।
अबको दुई वर्ष लगातार मोदी निर्वाचनमा व्यस्त हुने भएकाले नेपाललगायत छिमेकी मुलुकमा उनको कम ध्यान जानेछ । मोदीले निर्वाचनको समयमा छिमेकीसँगको सम्बन्ध ‘ट्रयाक’मा रहेको सन्देश दिन चाहिरहेका छन् । यसैस्वरुप नेपालमा राजदूत पुरीलाई सक्रिय बनाएका छन् । केही समय अघि भएको विदेशमन्त्री स्वराजको भ्रमणलाई पनि यसैको रुपमा लिन सकिन्छ ।
अहिले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई परराष्ट्रमन्त्री बनाउने गरि प्रधानमन्त्री ओलीले तयारी गरेका छन् । यसमा सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पनि समर्थन छ । सार्वजनिक समाचार अनुसार वाम गठबन्धन संविधान संशोधन गर्न पनि तयार छ तर, फोरमसँगको मन्त्रालय भागबण्डा नमिल्दा सरकार विस्तार हुन सकेको छैन । उपेन्द्रलाई परराष्ट्रमन्त्री बनाउँदा कतै भारत हाबी हुने त होइन भन्ने चर्चा पनि शुरु भएका छन् ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा भारतसँग नझुकेर ‘राष्ट्रवादी’ छबी बनाएका ओली योपटक कसरी प्रस्तुत हुन्छन्, त्यसका लागि भने केही समय पर्खनै पर्छ ।















प्रतिक्रिया