२८ आश्विन २०८३, बुधबार

मोहन वैद्य कामरेड ! दिनहुँ रक्सी पिएर क्रान्ति हुन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rabindra_Shrestha

अन्ततः मोहन वैद्यको पराजय भएको छ । वैद्य पम्फा गुट क्रान्ति गर्न चाहनेहरूको नयाँ पार्टी नबनोस् भन्नेमा थिए । यसका लागि उनीहरूले अनेकौं जालझेल षड्यन्त्र रचे । तर नयाँ पार्टी बनेरै छाड्यो । नयाँ पार्टी बन्योँ मात्र होइन, बहुसंख्यक कार्यकर्ताहरू नयाँ पार्टीमा लाग्ने लहर देशैभरि शुरु भएको छ । यसबाट आत्तिएका वैद्य पम्फाहरूको दिमागी सन्तुलन बिग्रन थालेको छ । वैचारिक अन्तरसंघर्ष र कथित एकतामा जोड दिएको बहाना गर्ने वैद्यहरू सबै तरिकाले संघर्ष गरेर आफ्नो गुटको अस्तित्व जोगाउने असफल कोशिस गर्दैछन् र बक्सिङ खेलमा लातको प्रयोग गर्न थालेका छन् । तर गोडा ढोग्ने जमाना गए भन्ने उनीहरूले बुझेनन् । अहिलेको जमाना भनेको माक्र्सवादको युग हो । यो भनेको वातको जवाफ वातले र लातको जवाफ लातले दिने जमाना हो । जस्तालार्ई तस्तै गर्नु माक्र्सवाद हो ।

प्रचण्डहरूले क्रान्तिलाई धोका दिएपछि वैद्यले अधुरो क्रान्तिको पुनः नेतृत्व गरेर क्रान्तिलाई पूर्ण सफल बनाउन प्रयास गर्नेछन् भन्ने आशा कार्यकर्ताहरूले गरेका थिए । तर उनले कार्यकर्ताहरूलाई निराश बनाए । उल्टै क्रान्ति गर्छु भन्नेहरू माथि अनेकौं लान्छना र आरोप लगाएर आक्रमण गर्न थाले । त्यसैको परिणाम स्वरुप पार्टी फुट भएको हो । के वैद्यलाई कार्यकर्ताले नेता मानेका थिएनन् ? नेता मानैकै हुन् । तर वैद्य नै क्रान्ति विरोधी भएर निस्केपछि फुटको प्रमुख दोषी उनी स्वयम् हुन् भन्ने तथ्य इतिहासले प्रमाणित गर्दै जानेछ । वैद्यले आफूले नसकेपछि इमान्दारीपूर्वक अरुलाई नेतृत्व छाड्न पर्दथ्यो । तर उनले यसपाली लोभी पापी मन बनाए । ०४६ सालमा आफूले नसकेपछि जसरी नेतृत्व छाडेका थिए, यसपाली विप्लवलाई सहर्ष छाड्नु पर्दथ्यो । तर उनले उल्टो बाटो लिए । कम्तिमा पनि वैद्यले विप्लवहरूलाई बिना झगडा छुट्टिएर जान दिई सहर्ष शुभकामना साथ भए पनि विदाइ गर्नुपर्दथ्यो । तर उनले विप्लवहरूमाथि गम्भीर आरोप लगाए । उनले प्रतिक्रियावादीहरूको स्वरमा स्वर मिलाएर क्रान्ति गर्न चाहन्छौं भन्नेहरूमाथि आक्रमण गर्न थाले । के क्रान्ति गर्न चाहनु कुनै अपराध हो वैद्य कामरेड ?

वैद्यहरूको आरोप छ कि विप्लव पदको महत्वाकांक्षी भएकोले पार्टी फुटाएका हुन् रे । के विप्लवहरूले लिन खोजेको बाटो ठूला पदहरूमा जाने बाटो नभएर कुनै पनि बेला बलिदान दिन तयार रहन पर्ने बाटो हो भन्ने थाहा नभएको हो वैद्य कामरेडलाई ? जीवनभर अध्यक्ष पद ओगटेर पनि बस्ने र ज्यानको जोखिम पनि मोल्न नपर्ने पदलोलुप र अति महत्वाकांक्षी कुविचार वैद्य कामरेडले नै लिएको स्पष्टै छ । पाँचौं महाधिवेशनमा दस्तावेज भने मोहनविक्रम सिंहले लेखेको नै पारित गर्ने तर महासचिव चाहिं मोहन वैद्य बन्नुपर्दछ भनेर चित्रबहादुर केसीले प्रस्ताव राख्दा खुरुक्क स्वीकार गर्ने वैद्य पदलोलुप हो कि होइनन् ? महाधिवेशनमा मध्यपन्थी भूमिका खेलेवापत वैद्यलाई महासचिव पद फोसामा आउने बित्तिकै वैद्य कामरेड र्‍याल चुहाएर लागे भन्ने आरोपबारे के भन्छन् अहिले ? के बाघको छालामा स्यालको रजाइँ गर्ने वैद्यले अरुलाई पदलोलुप भन्न सुहाउँछ ?

पहिलो संविधानसभामा संसदीय दलको उपनेतामा चुनाव हुँदा वैद्यलाई हराएर बाबुरामलाई बनाएको बेलामा वैद्यले सांसद् पदबाट समेत राजीनामा दिएर घुर्की देखाई पदलोलुपताको क्षुद्र उदाहरण दिइसकेका छन् । त्यो बेला वैद्यलाई उपनेता बनाएको भए उनले पार्टी फुटाउने थिएन भन्ने प्रचण्डको आरोप अब पुष्टि हुँदैछ । के तपाईंलाई उपनेता बनाएको भए सांसद्बाट राजीनामा दिनु हुने थियो वैद्य कामरेड ? थिएन । यस्ता वैद्यले विप्लवहरूलाई पदलोलुप भन्नु केवल बेइमानी मात्र हो । यो त चिल आयो भन्दै कुखुरा चोर्ने स्यालको प्रवृति हो । अरुलाई वादै वादको बमवर्षा गर्ने वैद्य कामरेडले नै भन्नु राम्रो होला कि यो कुन वाद हो ? तर शायद उहाले यसको नाम बिर्सनु भयो होला । यो त वैद्यको छट्टुवाद र पदलोलुपतावाद होला नि कामरेड ।

विप्लवलाई वैद्यको अर्को आरोप छ कि विप्लव महत्वाकांक्षी छन् रे । के क्रान्तिको महत्वाकांक्षा राख्नु अपराध हो ? यो त माक्र्सवाद हो, यो त सबैले लिनुपर्ने विषय हो । क्रान्तिको महत्वाकांक्षा नभएका तपाईं जस्ता पानीमरुवा कसरी माक्र्सवादी हुन सक्दछ ? क्रान्ति भनेको तपाईं जस्ता पानीमरुवाले गर्ने कुरा होइन भन्ने प्रमाणित भएको छ । माक्र्सदेखि माओसम्मका सबै क्रान्तिकारीहरू क्रान्तिका महत्वाकांक्षी थिए भन्ने माक्र्सवादको कखरा पनि वैद्यले बिर्सन थालेछन् ।

विप्लव वाम खोल ओडेका दक्षिणपन्थी अवसरवादी हुन् भन्ने वैद्यको अर्को आरोप छ । वाम खोल ओडेका दक्षिणापन्थी भएको कारणले नै ०४६ सालमा वैद्यले महासचिव पदबाट हात धुन परेको बिर्सनुभएछ । पंचायती चुनाव बहिष्कारका बेला बिनातयारी र योजना आफूलाई धुरन्धर क्रान्तिकारी देखाएर पदमा टासिएर बस्नका लाग्ीि वैद्य कामरेडले काठमाडौंका प्रहरी सेक्टर (विट) हरूमा आलोक लगायतलाई प्रयोग गरेर आक्रमण गर्न लगाए । त्यसपछि भएको दमनमा उपत्यकाको पार्टी र जनवर्गीय संगठनहरूलाई ठूलो क्षति भयो । वैद्य कामरेड भने पार्टी हेडक्वाटरसमेत छाडेर सुइँकुच्चा ठोकेर ज्यान बचाए, अरु विचरा कमरेडहरू भने दमनमा परे । के वैद्य कामरेडले वाम खोल ओडेको दक्षिणपन्थी सेक्टरकाण्ड बिर्सनुभयो ? वास्तवमा आलोक र वैद्यको एउटै प्रवृत्ति हो भन्ने कुरा त्यो सेक्टरकाण्डले प्रष्ट पार्दछ जसमा गम्भीर गल्ती भएको स्वीकार गरेर वैद्यले राजीनामा दिन बाध्य भए । समस्या यो हो कि जनयुद्धको जगमा जनविद्रोह भन्ने लाइन जनयुद्धको जग अर्थात जनसेना, जनसत्ता, जनअदालत आदि भएको बेला सहि थिए । तर जनसेना विघटन गरेर जनसत्ता भंग गरिसकेको स्थितिमा अर्थात जनयुद्धको जग नै भत्किसकेको स्थितिमा यो लाइन आफैंमा गलत भैसकेको थियो । यसलाई सच्याउनपर्छ भन्ने आवाज उठेपछि मुलतः विद्रोह भन्ने लाइन वैद्यले ल्याए, यो मुलत जनविद्रोह भन्ने लाइन नै वाम खोल ओडेको दक्षिणपन्थी लाइन हो । हेर्दा यसले वामखोल ओडेको छ तर जनविद्रोह गर्न त्यसको ठोस तयारी भने वैद्यले गरेनन् । बरु वैद्यले भन्न थाले कि नेपालमा अरु दश वर्ष क्रान्ति हुँदैन । कुरा जनविद्रोहको गर्ने तर काम भने सिन्को नभाँच्ने वैद्य नै वाम खोल ओडेका दक्षिणपन्थी हुन् ।

युवाहरूलाई आलोक प्रवृत्ति भनेर गाली गर्ने वैद्यहरूको यस्तो हतियार हो जुन प्रयोग गरेर आफ्नो पद जोगाइराख्न सकिन्छ भन्नेमा उनीहरू विश्वास गर्छन् । तर वास्तविकता यो हो कि आलोकको प्रवृत्ति वैद्यसँगै मिल्छ । घाइतेहरूलाई उपचार गर्न पैसा नभए पनि वैद्य र आलोकलाई रक्सी नभई नहुने बानी कहिल्यै गएन । सांस्कृतिक रुपान्तरणका ठूला कुरा गर्ने वैद्यलाई रक्सी खान लाग्दा भने किन जनता र कार्यकर्ताको सम्झना नआउँदो रहेछ ? साथै वैद्यका रक्सी खाने साथी आलोक नै थिए । वैद्य कै प्रस्तावमा आलोक केन्द्रीय सदस्य भएका थिए ।

वैद्य कामरेडका तर्क पनि अचम्मका हुने गर्छन् । वैद्यको भनाइ रहेछ कि रवीन्द्र श्रेष्ठ एमालेमा लागेर मन्त्री भएकाले संशोधनवादी भए रे तर पम्फा माओवादीका तर्फबाट मन्त्री भएकाले क्रान्तिकारी हुन् रे ! त्यसैले विप्लवले रवीन्द्रसँग भेट्नु पनि हुँदैन रे । तर सोही व्यवस्थामा पम्फा पनि सामान्य प्रशासनमन्त्री भएका हुन् र रवीन्द्र पनि सोहीमन्त्री भएका हुन् । एमाओवादी र एमालेमा तथा वैद्यको माओवादी र एमालेमा अब तात्विक भिन्नता छैन । वैद्यले अर्को तर्क पनि गर्न थालेको सुनिन्छ । एमालेसँग भएको बहुविवाह चाहि गलत रे तर पम्फा र बादलको बहुविवाह चाहिं हरर बास्ना आउने कम्युनिष्ट विवाह हो रे ! त्यसैले बादल र पम्फालाई विप्लवहरूको नेता बनाउनु ठीक हो रे ! तर रवीन्द्रसँग भने विप्लवले भेट्न पनि हुँदैन रे ! क्रान्तिकारी बहुविवाह गरेका बादल पम्फाहरूले मात्र प्रचण्डको आलोचना गर्न पाउने रे, तर रवीन्द्रले नपाउने रे । पार्टी नफुटेको बेला वैद्यले बैठक मै विप्लवसँग स्पष्टिकरण मागेछन् किन भेटेको भनेर ।

वैद्यको अर्को आरोप छ कि विप्लवले दरबारियाहरू र विदेशीहरू भेट्यो रे ! तर वैद्यले रमेशनाथ पाण्डेसँग नियमित भेटघाट किन गरिरहेका छन् भन्ने कुरा भने भन्न चाहेका छैनन् । पम्फाको र बादलको ज्ञानेन्द्रका ज्वाइँसँगको विशेष सम्बन्धबारे पनि वैद्य बोल्न चाहेका छैनन् । वैद्य चीन जाँदा आफैंले संशोधनवादी र प्रतिक्रान्तिकारी भनेर कडा आलोचना गरेको चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको प्रशंसा गरेर आएपछि वैद्यको चिनियाँहरूसँग हप्तै पिच्छे भेटघाट हुने गरेको बताइन्छ । सोबारे भने वैद्य बोल्न चाहँदैनन् । विप्लवहरूको नयाँ पार्टी बनेपछि विदेशीहरूलाई नयाँ पार्टीबारे ब्रिफिङ गर्ने काम वैद्यले गर्दै आएका छन् र वैद्यको विदेशीहरूसँगको भेट बाक्लिएको छ ।

वैद्यले क्रान्तिको नेतृत्व नगरेपनि क्रान्ति गछौं भन्नेहरूलाई कम्तिमा शुभकामना दिन पर्ने हो । तर अनेक गाली गरेर धारे हात लगाएर सरापेर प्रतिक्रियावादलाई सहयोग गरिरहेका छन् । सके आफैं क्रान्ति गर्नु, नसके विप्लवहरूलाई सघाउनु, त्यो पनि नसके कम्तिमा उनीहरूलाई धारेहात नलगाउनु नै वैद्यको आगामी शुभकार्य हो । नभए वैद्यका वादहरूको बमवर्षा वैद्यमाथि नै हुनेछ ।