मुम्बई । भारतको पुणेकी एक महिलाका छोराको क्यान्सरका कारण मृत्यु भएको दुई वर्षपछि जुम्ल्याहा नाती प्राप्त गर्न उनी सफल भएकी छन् ।
पुणेकी ४९ वर्षीया शिक्षिका राजश्री पाटिलले एक सरोगेट आमाको सहयोगमा आफ्नो अविवाहित छोरा प्रथमेश पाटिलको वीर्य प्रयोग गरी जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।
प्रथमेशको मृत्यु हुनुअघि नै सुरक्षित राखिएको वीर्यबाट छोराको मृत्युको दुई वर्षपछि नाति र नातिनी प्राप्त गरेकी उनले आफूले छोरा फिर्ता पाएको प्रतिक्रिया दिएकी छन् । पुणेको सिंघड कलेजमा पढेर थप अध्ययनका लागि राजश्रीका छोरा प्रथमेश सन् २०१० मा जर्मनी गएका थिए ।
सन् २०१३ मा उनलाई ब्रेन ट्युमर भएर खतरनाक स्तरमा पुगेको पत्ता लागेपछि वीर्य संरक्षित गरिएको थियो । सोही वीर्यको प्रयोग गरेर एक ३५ वर्षीय सरोगेट आमाले एक छोरी र एक छोरालाई जन्म दिएकी हुन् ।
राजश्री पाटिलले भनिन्, ‘मलाई मेरो प्रथमेश फिर्ता पाएजस्तै भएको छ । मेरो छोरो पढाईमा धेरै तेज थियो र जर्मनीबाट इन्जिनियरिङमा मास्टर डिग्री गरिरहेको थियो ।
सोही क्रममा चौथो स्टेजको क्यान्सर भएको पत्ता लाग्यो । डाक्टरले प्रथमेशलाई किमोथेरापीबाट उपचार सुरु गर्नुअघि वीर्य संरक्षण गरेर राख्न भएका थिए ।’
प्रथमेशले आफ्नी आमा र बहिनीलाई आफ्नो मृत्युपछि वीर्यको नमुनाको प्रयोग गर्न आग्रह गरेका थिए । यद्यपि, राजश्रीलाई त्यतिबेला पनि यसबाट बच्चा जन्मन सक्छ भन्नेमा विश्वस्त थिइनन् ।
मृत छोराको संरक्षित वीर्यलाई एक गैरपारिवारिक दाताको अन्डाणुसँग मेल गराएर एक नातेदारकै गर्भमा राखिएको थियो । २७ वर्षीय जवान छोराको संरक्षित वीर्यको प्रयोग राजश्रीले एक सरोगेट आमाबाट दुई नाति–नातिनी पाएकी हुन् । – एजेन्सी














प्रतिक्रिया