काठमाडौं, २६ मंसिर । विवादका कारण अल्झिइरहेको एमालेको पोलिट ब्यूरो र स्थायी समिति गठन प्रक्रिया शुक्रबारबाट सुरु हुने भएको छ ।
महाधिवेशन सकिएको पाँच महिना वितिसक्दा पनि पोलिट ब्यूरो सदस्यको योग्यता लगायतका बिषयको विवादले गठन हुन सकेको थिएन ।
संस्थागत छलफल र निर्णय थर्ने थलो पोलिट ब्यूरो र स्थायी समिति नबन्दा अध्यक्ष ओलीले गरेका कामप्रति नै नेताहरुले प्रश्न उठाउन थालेका थिए ।
विधानको विवाद समाधान गर्न बिहीबारको केन्द्रिय समिति बैठकले उपाध्यक्ष भिम रावल र महासचिव इश्वर पोखरेललाई जिम्मेवारी दिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
उनीहरुले शुक्रबार बिहान बस्ने पदाधिकारी बैठकमा विधानको विवाद मिलाएर प्रस्ताव पेश गर्ने छन् ।
सहमति भएमा त्यसकै आधारमा दिउँसो १ बजेबाट बस्ने केन्द्रिय समिति बैठकबाट गठन प्रक्रिया अघि बढाउने महासचिव पोखरेलले जानकारी दिए ।
उनका अनुसार चुनावी प्रक्रिया अघि बढाउन पार्टीको निर्वाचन आयोगलाई समेत निर्देशन दिइसकिएको छ ।
शुक्रबारको बैठकमा सबै केन्द्रिय सदस्यलाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ ।
अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षबीच पोलिट ब्यूरो सदस्यको योग्यताको बिषयमा विवाद छ ।
पार्टीले प्रकाशित विधानमा एक कार्यकाल केन्द्रिय समितिमा विताएको पूर्ण वा बैकल्पिक केन्द्रिय सदस्यले पोलिट ब्यूरो सदस्य हुन पाउने उल्लेख छ ।
अध्यक्ष ओली पक्षधर नेताहरु यही प्रावधान अनुसार पोलिट ब्यूरो चयन गर्नुपर्ने पक्षमा छन् ।
नेपाल समूहले भने एक कार्यकाल पूर्ण सदस्य भएकाले मात्र पोलिट ब्यूरोमा जान पाउने गरी महाधिवेशनले विधान पास गरेको छपाईमा गढबढी गरिएको भन्दै असन्तुष्टी जनाएको छ ।
विधान नै सच्याउनुपर्ने माग नेपाल समूहको छ ।
नेता नेपालले ओलिविरुद्ध पेश गरेको सात बुँदे असहमतिमा पनि विधानको बिषय उल्लेख गरेका छन् ।
हाल प्रकाशित विधानअनुसार पोलिट ब्यूरो चयन गर्दा ओली पक्षलाई फाइदा हुन्छ ।
तर एक कार्यकाल पूर्ण सदस्य मात्र भएका व्यक्ति पोलिट ब्यूरो सदस्य बन्ने प्रावधान विधान राखे नेपाल समूहका पनि धेरै नेताहरु चयन हुन सक्छन् ।
केन्द्रिय समितिको समिकरणअनुसार झण्डै ६० प्रतिशत ओली र ४० प्रतिशत नेपाल पक्षका केन्द्रिय सदस्य छन् ।
हाल केन्द्रिय समितिमा पूर्ण र बैकल्पिक गरी १ सय ६३ सदस्य छन् ।
पूर्ण र बैकिल्पक गरी कुल ५४ जना पोलिट ब्यूरो सदस्य हुन्छन् ।
१४ पदाधिकारी र एक बरिष्ठ नेता स्वतः पोलिट ब्यूरो सदस्य हुने भएकाले बाँकी ३९ जनाको चयन गर्नुपर्ने छ ।
स्थायी समितिमा १९ जना सम्मको हुन सक्नेछ ।
त्यसमा पदाधिकारी र बरिष्ठ नेता गरी १५ जना स्वत स्थायी समिति सदस्य हुने चलन छ । अध्यक्षमा पराजित भएका नेता नेपाललाई तेस्रो बरियतामा राख्ने निर्णय अध्यक्ष ओलीले गरिसकेका छन् ।
त्यसैले स्थायी समिति बाँकी तीन चयन गर्नुपर्नेछ ।
केन्द्रि समितिको समिकरण अनुसार महाधिवेशनमा बनेको गुटकै आधारमा पोलिट ब्यूरो र स्थायी समिति चयन भए त्यसले झन् समस्या उत्पन्न गर्ने भन्दै दुबै पक्षका नेताहरु सहमतिबाटै चयन गर्ने तयारीमा छन् ।
बिहीबार लामो समय पदाधिकारीले छलफल गरेपछि केन्द्रिय समिति बैठक बसेको थियो ।
बैठकमा अध्यक्ष ओलीले पार्टी भित्र नेता माधव कुमार नेपाल उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सचिव भिम आचार्य, योगेश भट्टराई र केन्द्रिय सदस्य कर्ण थापाले उठाएका प्रश्नमाथि जवाफ दिएका थिए ।
उनले पोलिट ब्यूरो र स्थायी समिति नभएको अवस्थामा केन्द्रिय समितिप्रति उत्तरदायी हुदै विभिन्न निर्णयहरु गरेको भन्दै स्पष्टीकरण दिएका थिए ।
उनले हतारका बेला तत्काल निर्णय गर्नुपर्छ पर्याप्त छलफल हुन नसकेको स्वीकार्दै आगामी दिनमा अझ संस्थागत र व्यवस्थित ढंगले निर्णय गर्ने प्रतिबद्धता जनाए ।
ओलीको जवाफ पछि नेता नेपाल लगायतले उठाएका प्रश्नमाथि अब केन्द्रिय समिति थप छलफल नहुने गरी टुंगिएको छ ।















प्रतिक्रिया