२९ आश्विन २०८३, बिहिबार

९ महिना अघि नै चुक्ता भएको थियो अनिश खालिङ राईको ब्लडमनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उत्तम अधिकारी

यूएई ।यूएईमा मृत्युदण्डको सजाए पाएका नेपाली नागरिक अनिश खालिङ राईको ब्लडमनी यहाँकै कुनै निकायले तिरिदिएको छ ।

अनिशलाई बचाई सकुशल स्वदेश फिर्तीका लागि नेपालीहरुले विश्वभरबाट रकम संकलन गरिरहंदा उनको लागि अदालतले तोकेको ब्लडमनी भने चुक्ता भैसकेको पुष्टि भएको हो । एक साता अघि यूएईका लागि नेपाली राजदुत धनन्जय झाले अनिशको ब्लडमनि अदालतले बुझिसकेको बताउनु भएको हो ।

एक पाकिस्तानी नागरिकको हत्याको अभियोगमा खालिङलाई आबुधबिको अदालतले मृत्युदण्डको सजाए सुनाएको थियो । सजाए परिवर्तनका लागि गरिएको अपिल पश्चात अदालतले तिन लाख दिर्हाम क्षतिपूर्ति वापतको रकम (ब्लडमनी र पाँच बर्षको जेल सजाए तोकेको थियो ।

खालिङलाई बचाउनका निमित्त विश्वभरबाट नेपालीहरुले आर्थिक सहयोग गरेका थिए । यूएईबाट मात्रै झन्डै २५ लाख रुपैया संकलन भएको थियो । यूएईमा अनिस खालिङ राई बचाउ सचिवालय समिती नै गठन गरिएको थियो ।

उक्त समितीका संयोजक गैर आवासिय नेपाली संघ यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसालले निरन्तर रुपमा अलऐनको जेलमा रहेका खालिङसंग सम्पर्कमा रहेर यहाँको दुतावास, नेपाली संघसंस्थाहरु लगायतसंग आवस्यक पहल गरेका थिए र सो क्रम अझै जारी रहेको छ ।

राजदुत झाका अनुसार राईको रिहाइका लागि परराष्ट्र मन्त्रालय मार्फत आएको रकम अदालतमा जम्मा गर्ने क्रममा अदालतले उक्त रकम पहिला नै जम्मा भैसकेको बताएको थियो। सो रकम कसले तिरिदियो भन्ने नखुलाइए पनि रकम जम्मा गर्नु नपर्ने पक्का भएको छ ।अदालतमा जम्मा भैसकेको उक्त रकम तिर्नु नपर्ने भएपछी परराष्ट्र मन्त्रालय मार्फत सोहि प्रयोजनका लागि आएको रकम दुतावासले फर्काइसकेको छ ।

गत १३ मार्च २०१४ का दिन नै राईले तिर्नुपर्ने ब्लडमनि बापतको तिनलाख दिर्हाम अदालतले प्राप्त गरेको उक्त रसिदमा उल्लेख गरिएको छ ।उक्त रकम बराबरको ४४७२६५ नम्वरको चेक ९ मार्चका दिन आबुधाबी इस्लामिक बैंकमा जम्मा भएको जनाइएको छ ।अक्टोबर ३ मा डाइरेक्टर अफ एटर्नी जनरल अफिसका सल्लाहकार अब्दुल अजिज अहमद अल मुल्लाद्वारा न्यायिक बिभाग अन्तर्गत अलऐन अपिल अभियोजन प्रमुखलाई पठाइएको पत्रमा अभियुक्त अनिश खालिङ राईले बुझाएको क्षतिपूर्ति बापतको रकम तीन लाख दिर्हाम पिडित पनजल खान मिसाल दिनका हकवालालाई हस्तान्तरण गर्नका निमित्त प्राप्त भएको उल्लेख गरिएको छ ।

उक्त पत्र प्राप्त भएसंगै अब अनिश केहि समय पछी रिहा हुने पक्का भएको छ । पाँच बर्ष जेलमा बस्नु पर्नेमा अनिशले २ बर्ष भन्दा धेरै बिताईसकेको बुझीएको छ । एक बर्ष बराबर ९ महिना जेल बस्नुपर्ने प्रावधान बमोजिम अनिशले जम्मा जम्मी ४५ महिना जेल जीवन बिताए पश्चात रिहा हुने सम्भावना अधिक रहेको बताउछन् एनआरएनए यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसाल।

यस संगसंगै उब्जिएको अनिशको जीवन रक्षाका लागि विश्वभरका नेपालीहरुबाट संकलित रकम अब के गर्ने ? भन्ने अर्को प्रश्नले पनि नेपाली समुदायबीच महत्व पाउन थालेको छ ।अनिश खालिङ राई बचाउ सचिवालय समिती यूएईका संयोजक समेत रहेका भुसाल भन्छन् यस क्रममा संकलित रकम अनिशले जस्तै दु:ख, पिडा भोगेका र विभिन्न बहानामा मध्यपूर्वका देशमा सजाए भोगिरहेका नेपाली नागरिकको रक्षाका लागि प्रयोग हुनुपर्दछ । यूएईका अन्य नेपाली समाजसेवीहरु पनि यस बिषयमा एकमत रहेका छन् ।

नेपालमा गठित अनिश खालिङ बचाऊ समितीले पनि अनिशलाई जेलमुक्त गर्नका लागि लाग्ने भन्दा बढी हुन आउने रकम उस्तै प्रकृतिका सजाए भोगिरहेका नेपालीको लागि प्रयोग गर्न सहमत भएको थियो ।

यूएईको जेलमा बन्दि रहेका अनिशको बारेमा नेपालमा रहेको बचाऊ समितिले यहाँ गठित अनिश बचाऊ सचिवालय समितीसंग उचित समन्वय र सहकार्य नगरेको बताउछन् संयोजक भुसाल । जुन हिसाबले औपचारिक रुपमा अनिशको बारेमा संवाद र जानकारी आदान प्रदान हुनु पर्ने थियो त्यस अनुसार नेपालको अनिश बचाऊ समितीले खासै पहल नगरेको उनको गुनासो रहेको छ ।

यूएईमै आबुधाबिको पश्चिमी क्षेत्र रुवाइसमा बिगत ४ बर्ष देखि स्कार्फ फोल्डरको रुपमा कार्यरत पुतली बजार २ , स्यांग्जाका थमबहादुर कुँवरलाई यहाँको एक अदालतले पाकिस्तानी नागरिकको मृत्युको कारक भन्दै २ लाख दिर्हाम ब्लड मनि तिर्न आदेश दिएको थियो ।

पुन: गरिएको अपिल पश्चात अदालतले उक्त ब्लडमनि रकम घटाएर १ लाख दिर्हाम कायम गरेको र उक्त रकम चुक्ता गर्न कम्पनीले ताकेता गर्दै आएको कुँवर बताउछन्। एउटा सामान्य लेवरमा कार्यरत आफुसंग त्यत्रो पैसा तिर्न सक्ने क्षमता नभएको भन्दै कुँवरले बिगत केहि महिनादेखी आबुधाबी स्थित नेपाली दुतावास र नेपाली संघसंस्थाहरुसंग सहयोगका लागि अनुरोध गर्दै आइरहेका छन् ।

संगै काम गर्ने पाकिस्तानी नागरिकको कामकै दौरानमा दुर्घटनामा मृत्यु भएको र त्यसको कारक कुँवरलाई देखाईएको छ । सोहि कारण उनलाई अदालतले उक्त ब्लडमनि रकम तिर्न आदेश दिएको हो । ब्लडमनि तिर्न भनेपनि उनलाई जेलमा राखिएको छैन भने कम्पनीले दैनिक काममा पनि लगाईरहेको छ । उक्त रकम चुक्ता नगरुन्जेल उनले यूएई छोड्न पाउने छैनन् ।

“यो परदेशी भुमिमा आफु जीवनभर बस्न नचाहेकाले यहाँ रहनुभएका सबै नेपालीहरुबाट मेरो सजाए मिनाहा गराइदिन बिनम्र अनुरोध गर्दछु” यो समाचार तयार गर्नेक्रममा सम्पर्क गर्दा उनले मलिन स्वरमा भने।