३० आश्विन २०८३, शुक्रबार

के गर्न सक्छन् रक्षामन्त्री ईश्वर पोखरेलले ?

20k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देशलाई सर्वोपरि राखेर काम गर्ने छवि बनाएका प्रधानमन्त्री केपी ओली र दीर्घकालीन योजना र रणनीति बनाउन माहिर एमालेबाट दोश्रो बरियताका मन्त्री ईश्वर पोखरेलबाट जनताले सुन्दर भविष्यको अभिलाषा पूरा गर्न सक्छन् ।

– निर्मल भट्टराई

मन्त्रीमण्डल सोमबार विस्तार भएको छ । संघीय संसदमा करिब दुई तिहाई मतको कमाण्ड गर्ने केपी ओली प्रधानमन्त्री भएको दश दिनपछि विस्तार गरिएको मन्त्रीमण्डलमा जनताले मन पराएका चार नेता मन्त्री बनेका छन् । त्योभन्दा पनि महत्वपूर्ण देशको सुरक्षाको सम्पूर्ण तालाचाबी बोकेको रक्षा मन्त्रालय एमालेका शक्तिशाली महासचिव ईश्वर पोखरेलको भागमा परेको छ । यो नियुक्तिबाट प्रधानमन्त्री ओली राइटम्यान इन द राइट प्लेस (ठीक मान्छे ठीक ठाँउमा) भन्ने विश्वव्यापी सिद्धान्तका ज्ञातामात्र होइनन्, त्यसको सफल कार्यान्वयन गर्न पनि उत्तिकै सक्षम छन् भन्ने प्रष्ट भएको छ ।

को हुन् ईश्वर पोखरेल ?

नेपाली राजनीतिमा ईश्वर पोखरेल एक प्रभावशाली नेता र चीर परिचित व्यक्तित्व हुन् । ईश्वर पोखरेल तत्कालीन मालेको संस्थापनकाल देखिनै शीर्ष नेतृत्वमा रहदै आएका नेता हुन् । जननेता मदन भण्डारीको वैचारिक र सांगठानिक अभियानमा सबभन्दा नजिक रहेर काम गरेका पोखरेल संगठन सञ्चनलन र व्यवस्थापनमा प्र्रतिस्पर्धारहित क्षमता राख्दछन् । देशको राजनीति र सुरक्षा नीतिलाई व्यवहारिक र सैद्धान्तिक रुपले सुक्ष्म अध्ययन गरेका उनी एक कुशल योजनाकार र रणनीतिकार हुन् । प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार बनेर प्रधानमन्त्री अधिकारीलाई एक सफल प्रधानमन्त्री मात्र बनाएनन्, एमालेलाई जनताको मन मनमा पुर्याउन सफल भए । नौ महिनाको त्यो छोटो अवधिमा एमालले यति लोकपृय कार्यक्रम बनायो कि अहिले पनि अधिकांश जनता एमालेको त्यही कार्यक्रमलाई सम्झेर मतदान गरिरहेछन् ।

देशको सम्पूर्ण सत्ता आफ्नो हातमा लिने योजना सहित अगाडि आएको तत्कालीन राजा ज्ञानेन्द्र गठन गरेको देउवा मन्त्रीमण्डलमा एमालेले उनलाई वाणिज्य तथा आपूर्ति मन्त्री बनाएर सरकारमा पठाएको थियो । उनले खास गरि पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन र अन्तराष्ट्रिय बजारमा मूल्यमा आएको फेरबदलसँगै नेपालमा पनि तत्काल मूल्य समायोजन गर्ने योजना अघि सारेवापत आलोचित भए । उनले नेपाल आयल निगम आत्मनिर्भर हुनुपर्छ, यो संस्थालाई सधैं सरकारी अनुदान दिन सिंहदरवार बेच्न सकिँदैन, आत्महत्या गर्न सकिँदैन भनेका थिए । दीर्घकालीन महत्वको यो विषयलाई गम्भीरतापूर्वक लिनुको सट्टा पोखरेललाई उडाउने माध्यम पो बनाइयो ! तत्कालीन राजदरवार र अन्य शक्ति केन्द्रलाई कमिसन बुझाएरआफू टाट पल्टिरहेको आयल निगममा उनको यो सत्प्रयास तत्काल लागू हुन सकेन । तर सबैलाई थाहा छ, अहिले उनकै योजना लागू भएको छ, नेपाल आयल निगम अहिले निरन्तर नाफामा छ ।

के—के छन् सरकारका चुनौति ?

नेपालको राजनीतिमा संक्रमणको समाप्ति भए पनि आर्थिक र अन्य क्षेत्रमा संक्रमण जारी छ । आर्थिक क्षेत्रमा कतिपय पञ्चायतकालीन प्रवृत्तिसमेत जिउँदैछन् । जसरी एउटा पहुँचवाला पञ्चले आफ्नो जिल्ला वा निर्वाचन क्षेत्रमा बजेट थुतेर लैजाने र चुनाब जितिरहने प्रथा बाह्रबर्षे कांग्रसी कालमा मात्र होइन, अहिले पनि कायम छ । शक्तिशाली प्रादेशिक र स्थानीय सरकार बनेर आफ्नो काम थालिसक्दा पनि संघीय संसदका सदश्यलाई नीति निर्माणमा भन्दा बजेट र विकास निर्माणमा बढी दिलचस्वी देखिनु यसको एक ज्वलन्त प्रमाण हो । बजेट ल्याउन र विकास गर्न संघीय संसदका सदस्य लाग्ने हो भने प्रादेशिक र स्थानीय सरकारचाँहि घाम तापेर बस्ने ?

करिब वीसबर्ष केन्द्रीय सरकारमा जनप्रतिनिधि हुने तर स्थानीय सरकार जनप्रतिनिधिविहीन हुने स्थिति बन्यो । त्यो अवधिमा संसदको नेतृत्वमा निर्वाचन क्षेत्र विकास कोष बनाइएको थियो । शक्तिशाली प्रादेशिक र स्थानीय सरकार बनिसकेको बर्तमान अवस्थामा यसरी बजेट छर्नुको कुनै औचित्य छैन । फेरि अब सांसदलाई बजेट दिंदा ८८४ जनालाई दिनुपर्ने हुन्छ, जुन पटक्कै आवश्यक छैन । अबको संघीय मन्त्रालय सर्वोपरि योजनाकार र प्रादेशिक मन्त्रालय र स्थानीय सरकारचाँहि कार्यान्वयनकर्ता भएको परिस्थितिमा एउटा नितान्त स्थानीय बाटोको लागि अब रातो किताबमा बजेट पार्ने दौडधुप भने अब पूर्ण रुपमा अन्त्य भएको छ । संविधान बमोजिम प्रादेशिक र स्थानीय सरकार केन्द्रले बनाउनु पर्ने थुप्रै आर्थिक ऐन पर्खेर बसेका छन् । अर्थतन्त्रको सबल र दुर्वल पक्षको राम्ररी आंकलन गर्नसक्ने सरकारले यस्ता अन्य थुप्रै चुनौतिलाई अवसरमा परिणत गर्न सक्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।

देशको आर्थिक समृद्धि र समाजवादको प्रमुख लक्ष बोकेको सरकारले अवको विकास व्यक्तिले भन्दा पद्धतिले गर्ने हो भन्ने मान्यता शीर्ष नेतादेखि तृणमूल तहसम्म पूर्याउनु जरुरी छ । सही आर्थिक नीति र योजनाको अभावमा देशमा आर्थिक भ्रष्टाचारको जालो फैलिएको छ । लामो राजनीतिक जीवनमा आर्थिक रुपमा “मिस्टर क्लीन” नेताहरुबाट भ्रष्टाचार न्यूनीकरण गर्न विशेष पहलकदमीको अपेक्षा गर्न सकिन्छ ।

देशलाई सर्वोपरि राखेर काम गर्ने छवि बनाएका प्रधानमन्त्री केपी ओली र दीर्घकालीन योजना र रणनीति बनाउन माहिर एमालेबाट दोश्रो बरियताका मन्त्री ईश्वर पोखरेलबाट जनताले सुन्दर भविष्यको अभिलाषा पूरा गर्न सक्छन् । अहिले कुन मन्त्रालय कसको भागमा पर्यो भन्ने महत्वपूर्ण कुरा होइन, प्रभावकारी रुपमा कसरी सरकार सञ्चालन हुन्छ भन्ने महत्वपूर्ण हो । अर्थविद् युवराज खतिवडालाई अर्थमन्त्री बनाइएको छ, उनले केपी ओली र ईश्वर पोखरेलको देश निर्माणको योजनालाई आफ्नो विज्ञताको साँचोमा ढाल्ने काम गर्नेछन् । र, पार्टीभित्र ओली र ईश्वरको टीम स्पिरिटमा काम हुँदा एमालेले इतिहासमै ठूलो उचाई प्राप्त गरेझैं सरकारको भूमिका पनि ऐतिहासिक बन्ने निश्चित छ ।

लेखक एमालेका युवा नेता हुन् ।