३० आश्विन २०८३, शुक्रबार

उत्तर कोरियाको अर्को उच्चस्तरीय टोली दक्षिण कोरियामा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः एएफपी

सोल, १३ फागुन । तेइसौं शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन उत्तर कोरियाको एक उच्चस्तरीय सरकारी टोली आइतबार दक्षिण कोरिया आइपुगेको छ । उच्चस्तरीय टोलीको नेतृत्व उत्तर कोरियाको सत्तारुढ दल वकर्स पार्टी अफ कोरियाको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोलले गरेका छन् ।

स्थानीय समयानुसार आइतबार बिहान ९:५३ मा उनीहरु पश्चिमी सिमा क्षेत्रमा रहेको सरकारी कार्यालयमा आइपुगेको स्थानीय टेलिभिजनहरुले देखाएका छन् । कालो र लामो कोट पहिरिएका टोली नेता किमलाई दक्षिण कोरियाको एकता मन्त्रालयका उपमन्त्री चुङ हाएसुङले सिमा कार्यालयमा स्वागत गरेका थिए ।

उपाध्यक्ष किम आइतबार राती हुन लागेको सो शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुने कार्यतालिका रहेको छ । यस भ्रमणले दुइ देशबीचको सम्वन्ध आगामी दिनमा सुधार हुने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि उद्घाटन समारोहमा हुन उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको थियो । नाम उत्तर कोरियाको संसदका प्रमुख हुन् । उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि सहभागी थिइन् । उनले दक्षिण कोरियाका राष्ट्रपतिलाई भेटेर आफ्ना दाजुको तर्फबाट उत्तर कोरियाको भ्रमणका लागि निमन्त्रणा पनि दिएकी थिइन् ।

लामो समयपछि भएका यी उच्चस्तरीय भ्रमणलाई अन्तर्राष्ट्रिय जगतमा महत्वका साथ हेरिएको छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तरराष्ट्रियरुपमा आलोचना भएको छ ।

उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ । तर यो ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिहरुको सहभागिताबाट भने सम्बन्धमा पछिल्लो समयमा केही सधार आएको महसुश गरिएको बताइएको छ । –रासस/सिन्ह्वा