प्यूठान, २५ मंसिर । प्यूठान जिल्लाका अधिकांश स्थानमा गुणस्तर तथा नाप तौल विभाग कार्यालयबाट प्रमाणित नभएका ढक तराजु प्रयोग हुने गरेको फेला परेको छ ।
खुद्रा पसलदेखि तरकारी पसलमा र दैनिक उपभोक्ताले उपभोग गर्ने वस्तुहरू किन्दा प्रयोग गरिने नाप हुनुपर्ने नाप जति नभएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।
जिल्लाको अधिकांश व्यापार सम्बन्ध बुटवलबाट हुने र नाप तौलको क्षेत्रीय कार्यालय नेपालगन्ज भएकाले पनि यहाँ यसको समस्या बढी भएको क्षेत्रीय कार्यालयका अनुगमन निरीक्षक गुरुप्रसाद पोख्रेलले बताउनुभयो ।
हरेक दुई दुई वर्षमा प्यूठानमा आफूहरू नापतौलको ढक, तराजु र लिटर मापन गर्ने आउने भए पनि यसको समस्या कम गर्न जिल्लाले नै पहल गर्नुपर्ने कार्यालयले जनाएको छ । “जिल्लामा रहेका नापतौलमध्ये ६० प्रतिशत नाप नियमसङ्गत छैनन् र उनीहरूले प्रत्यक्ष रूपमा उपभोक्तालाई ठग्ने गरेका छन् ।”
निरीक्षक पोख्रेलले भन्नुभयो–“हामीले यहाँको प्रमुख व्यापारिक केन्द्र र साना बजारमा गरेको अनुगमनमा ४० प्रतिशत नियमसङ्गत र बाँकी नियमविपरीत भएको पाएका छौँ ।” जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा विभाग पुग्ने भए पनि ग्रामीण क्षेत्रमा नजाने गर्दा यसको समस्या जिल्लाको ग्रामीण बजारमा थप बढी रहेको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
“नापतौल विभागबाट नियमित जिल्लामा आउँदैनन्”–उद्योग वाणिज्य सङ्घ प्यूठानका अध्यक्ष माधवराज भण्डारीले भन्नुभयो–“नापतौल विभागले हामीसँग कहिले समन्वय गर्दैन ।” जिल्लामा उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रशासन र नापतौल विभागको बीचमा समन्वय नहुँदा समस्या समाधान गर्न थप चुनौती थपिएको सरोकारवालाको बुझाइ छ ।
विभागको क्षेत्रीय कार्यालयले रोल्पाको लिवाङ, सुलिचौर हुँदै प्यूठानका भिगृ, नयाँगाउँ, जस्पुर, बिजुवार, बाग्दुला र खलङ्गाको क्रमशः नापतौल अनुगमन सकाएको छ । प्रत्यक्ष उपभोक्ताको दैनिकीसँग जोडिएको व्यवसाय वा उद्योगले ढक, तराजु तथा लिटर लिएपछि ३५ दिन भित्रमा विभागमा देखाई प्रमाणित गर्नुपर्ने भएपछि जिल्लामा यसो नगर्ने पाइएको छ ।
जिल्लामा यससँगै पेट्रोलियम पदार्थको कारोबार गर्ने पेट्रोलपम्प तथा अवैध रूपमा बोतलमा राखी बिक्री गर्ने कालाबजारीले पनि उपभोक्तालाई प्रत्यक्ष ठग्ने गरेको अनुगमन टोलीले निष्कर्ष निकालेको छ । “जिल्लाबाट उजुरी नआउँदा हामी कारबाही गर्न नसक्ने अवस्थामा छाँै ।”
अनुगमनका लागि जिल्ला आउनुभएका पोख्रेलले भन्नुभयो–“उपभोक्ता सजक र प्रशासनसँगै उद्योग वाणिज्य सङ्घले समस्यालाई गम्भीर रूपमा हेर्नुपर्छ ।” जिल्लामा उपभोक्ता दैनिकी रूपमा ठगिन गरे पनि यहाँ हालसम्म एउटा पनि उजुरी परेको छैन ।
त्यस्तै नापतौल नियमसङ्गत नहुने र भनेको परिमाणभन्दा कमीको हँुदा समेत सम्बन्धित क्षेत्रले चासो नदिँदा दैनिक उपभोक्ता ठगिने गरेका छन् । गत वर्ष क्षेत्रीय कार्यालयले नापतौलमा ठगी गर्ने २२ व्यावसायिक फर्मलाई कारबाही गरेको थियो । यसपटक पनि उपभोक्तालाई नापतौलमा ठग्नेको अनुगमन गरी कारबाही गरिने तयारी भएको छ ।















प्रतिक्रिया