लसएञ्जलस । अमेरिकाकी एक रेडियो कार्यक्रम प्रस्तोताले प्रत्यक्ष कार्यक्रम चलाउने क्रममा नै बच्चालाई जन्म दिएकी छन् ।
अमेरिकाको सेन्ट लुईसको ‘द आर्क स्टेशन’ की प्रस्तोताले प्रत्यक्ष कार्यक्रम चलाइरहेका बेला प्रसव पीडा सुरु भएर बच्चा जन्मिएको हो । बच्चा जन्मिएको सो कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गरेको थियो ।
रेडियो कार्यक्रम प्रस्तोता प्राक्टरले यो आफ्ना लागि महत्वपूर्ण अनुभव भएको बताइन् । चिकित्सकले बच्चा जन्मिने भनेर दिएको समयभन्दा पहिले नै प्रसव पीडा सुरु भएका कारण उनले अचानक शोको तयारी गर्नुपरेको थियो ।
प्राक्टरले भनिन्, ‘आफ्नो जीवनको यति महत्वपूर्ण क्षण स्रोतासँग बाँड्न पाउनु शानदार थियो, यो मेरो जीवनको सबैभन्दा राम्रो अनुभव थियो ।’
प्राक्टरले आफ्नो बच्चालाई प्रत्यक्ष प्रशारणका क्रममा नै जन्म दिनु आफूले दैनिक गर्ने कामको प्रकृति प्रष्टिएको र यो समय आफ्ना श्रोतासँग बाँड्न पाउनु खुसीको कुरा भएको बताइन् ।
उनको बच्चाको नाम जोमसन राखिएको छ । यो नाम पनि प्रत्यक्ष प्रसारणमा श्रोताहरुले नै राखिदिएका हुन् । बच्चाको नाम राख्ने विषयमा बच्चा जन्मनुअघि नै भोटिङ सुरु भएको थियो ।
कार्यक्रमका निर्देशक स्कट रडीले दम्पत्तिले छानेका १२ नाममा भोटिङ सुरु गरिएको र बच्चा जन्मिएसम्म जारी राखिएको बताएका छन् । प्राक्टर भने बच्चा जन्मिएपछि आफ्नो कार्यक्रमभन्दा टाढा सुत्केरी विदामा बसेकी छन् । – एजेन्सी













प्रतिक्रिया