१४ कार्तिक २०८३, शनिबार

कसका अप्ठ्यारा के ? एमाले–माओवादीमा मन्त्रीका आकांक्षी को-को ?

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । माओवादीभित्र मन्त्री बन्ने आकांक्षीको सूची लामै छ । आकांक्षीको सूची बढ्ने मात्र होइन, सरकारमा पठाउन खोजिएका नेताहरूले पार्टीको भागमा पर्ने प्रभावशाली मन्त्रालयमै मात्रै आँखा लगाउन थालेका कारण पनि मन्त्रीहरूको विषयमा माओवादी टुंगोमा पुग्न सकेको छैन ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

एमालेका दुई र माओवादीका दुई जना राखेर ओलीले बुधबार दोस्रो चरणमा मन्त्रिमण्डल विस्तार गर्ने चर्चा चलेपछि बिहानै आकांक्षीहरू दाहालनिवास खुमलटार पुगेका थिए । एक्कासि नेताहरू ओइरिएपछि उनले सरकारमा सहभागिताका विषयमा अनौपचारिक छलफल गरेका थिए। छलफलक्रममा दाहालले सरकारको नेतृत्व पार्टीका तर्फबाट रामबहादुर थापाले गर्ने संकेत गरेका थिए ।

 आकांक्षी को को ?

माओवादी : रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, देव गुरुङ, हितबहादुर तामाङ, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, शक्ति बस्नेत, लेखराज भट्ट, शशि श्रेष्ठ, जयपुरी घर्ती, सुरेश राई, राम कार्की।

एमाले :ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, भीम रावल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल, प्रेम आले, रघुवीर महासेठ, लीलानाथ श्रेष्ठ।

‘फ्लोरबाट निर्णयका रूपमा नआए पनि थापाकै नेतृत्वमा सरकारमा जाने गरी निर्णय आउने देखिन्छ’, माओवादी नेता अग्निप्रसाद सापकोटाले अन्नपूर्णसँग भने। उनले मन्त्रालयको बाँडफाँट, उपेन्द्रको सरकारमा सहभागितालगायत विषयमा कुराकानी जारी रहेकाले बुधबार निर्णय हुन नसकेको बताए। ‘मन्त्रालय बाँडफाँट टुंगिनसकेको, उपेन्द्रजीहरूलाई पनि सरकारमा सहभागी गराउन पहल भइरहेको र हाम्रैभित्र पनि को–को मन्त्री बन्ने भन्ने विषय टुंगोमा पुगिनसकेका कारण विस्तार हुन नसकेको हो,’ उनले भने, ‘बिहीबार दिनभर होमवर्क गरेर साँझसम्म भए पनि विस्तार हुन्छ होला।’

माओवादीबाट मन्त्रीको टुंगो कार्यालयले लगाउनेछ। कार्यालयमा अहिले दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा मात्रै छन्। ‘आकांक्षी स्वाभाविक रूपमा हुन्छन् नै तर यो विषयमा कार्यालयले टुंगो लगाउँछ,’ माओवादीका अर्का नेता हरिबोल गजुरेलले भने, ‘प्रधानमन्त्रीसँगको सल्लाहका आधारमा कार्यालयले टुंगो लगाउँछ।’

माओवादीमा रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, देव गुरुङ, हितबहादुर तामाङ, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, शक्ति बस्नेत, लेखराज भट्ट, शशि श्रेष्ठ, जयपुरी घर्ती, सुरेश राई, राम कार्कीलगायत आकांक्षी छन्।

एमाले–माओवादीबीच अर्थ एमाले र गृह माओवादीले लिने गरी समझदारी भएका कारण गृहमा माओवादीभित्रै आकांक्षी बढी देखिएका हुन्। जसकारण अध्यक्ष दाहालसमेत प्रेसरमा छन्। गृहमा सरकारको नेतृत्व गर्ने तयारीमा रहेका थापा र वर्षमान पुनको बढी जोड देखिन्छ। दाहाल थापाको नेतृत्वमा वर्षमानलाई पनि सरकारमा पठाउन चाहन्छन् तर दुवैको गृहमा दाबी रहेका कारण उनलाई निर्णयमा पुग्न अप्ठ्यारो परिरहेको छ।

एमाले स्रोतका अनुसार एमालेले अर्थसहित पर्यटन र सञ्चार मन्त्रालय पाउनेछ। जनसंख्या तथा वातावरण र महिला बालबालिका मन्त्रालय यसअगाडि नै लालबाबु पण्डित र थममाया थापाले पाइसकेका छन्। अर्थ ईश्वर पोखरेल, पर्यटन प्रदीप ज्ञवाली र सञ्चार योगेश भट्टराईलाई दिने तयारीमा ओली रहेको एमाले स्रोत बताउँछ।

ओलीले ईश्वरलाई प्रभावशाली मन्त्रालय दिने गरी अन्य मन्त्रीको नामको तयारी गर्न जिम्मेवारी दिएको एमाले स्रोत बताउँछ। एमालेमा पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, रवीन्द्र अधिकारी, योगेश भट्टराई, भानुभक्त ढकाल, प्रेम आले मन्त्री बन्ने चर्चा छ। तर, एमाले महासचिव ईश्वर पोखरेल बिहीबार बिहानसम्म मन्त्रीको टुंगो लाग्न बताउँछन्।

‘प्रधानमन्त्रीसँग परामर्श गरेर मन्त्रालय र आकांक्षीका नाम सम्भवतः बिहीबार बिहानसम्म टुंग्याउँछौं,’ उनले भने।

एमालेमा मधेसबाट रघुवीर महासेठ र लीलानाथ श्रेष्ठमध्ये एकलाई प्रभावशाली मन्त्री बनाउन प्रदेश २ का एमाले सांसदले प्रधानमन्त्रीलाई दबाब दिएका छन्। मंगलबार मात्रै उनीहरूले ओलीलाई बालुवाटारमा भेटेर दबाब दिएको एमाले प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले बताए। ‘प्रदेश २ मा एमाले कमजोर बनेको, पार्टीको प्रभाव बढाउन र राजनीतिक सन्तुलन मिलाउन पनि हामीले मन्त्री र शक्तिशाली मन्त्रालयमा दाबी गरेका हौं,’ मण्डलले अन्नपूर्णसँग भने।