२८ आश्विन २०८३, बुधबार

तीतो सत्य, भाइरल र मोदी म्युट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-bhattarai

नेपालका काँचको पर्दामा केही समययता क्यारिकेचरको मौसम चलेको छ । तर, सत्य के हो भने क्यारिकेचरमार्फत् कसैको भावनामा चोट पुर्याएर बाँडिने मनोरञ्जन स्वस्थ र सार्थक मनोरञ्जन हुन सक्दैन । उदाहरणका लागि मुलुकका प्रधानमन्त्री सुशील कोइरालाको क्यारिकेचरलाई लिऔं न । उनी जिब्रो क्यान्सरबाट पीडित छन् र प्रष्ट उच्चारण गर्न सक्दैनन् । तर, विडम्वना यहाँ उनको त्यो पीडाको क्यारिकेचर गरेर कलाकार हुने होड छ । के यही हो मनको रञ्जन अर्थात् मनोरञ्जन ? के यही हो कलाकारको धर्म ? यस्तो पीडालाई खिसिट्युरीको विषय बनाइने कुरा के राष्ट्यि टेलिभिजन प्रसारणमा पर्छ ? तीतो सत्यले सिर्जना गरेको मोदी भाइरललाई यस कोणबाट पनि हेर्ने कि अभिव्यक्ति स्वतन्त्रतासँग मात्र यसको गोरु बेचेको साइनो गाँस्ने ? डिस्कोर्स आर्थत् स्वस्थ वहस यहीबाट सुरु हुनुपर्छ ।

एउटा भूमण्डलीय भनाइ छ, सत्य सधैं तीतो हुन्छ । स्थान र समयले बन्ने सन्दर्भ फरक हुनसक्छ तर हरेक समाजमा यसको अर्थ लगभग एउटै हुन्छ, सत्य प्रिय हुँदैन । नेपाली समाजमा पनि यो भनाइ लोकप्रिय छ । यही लोकप्रियताको स्याटलाइटमा काँचको पर्दामा दीपकराज गिरी र दीपाश्रीको जोडी जमेको छ, नाम दिइएको छ तीतो सत्य । उनीहरुको यो जोडी जमाउन केही थप पात्रहरु पनि उपकथामा जोडिएका छन् । यो क्रम बितेको ५५५औं श्रृंखलासम्म निरन्तर रहदा यसले एउटा कीर्तिमान बनाएको छ, सबैभन्दा लामो समय चलेको नेपाली टेलिश्रृंखलाको ।

हुन त तीतो सत्य आफैंमा लोकनाम हो, कसैले दिनुपर्दैन, लिए मात्र पुग्छ । तर, संगीतकार शम्भुजीत बासकोटा सगर्व यो नामको न्वारान गर्ने पण्डित भन्छन् आफूलाई । सुरुको लामो समयसम्म बासकोटाकै नाम यसको परिकल्पनाकारका रुपमा कास्टिंग हुन्थ्यो, त्यसैले पनि यसलाई संजोग मात्र भन्न नमिल्ला । नाम जसले दिए पनि यसले मज्जैसँग टीआरपी हानेर तीतो सत्य पुस्ता नै बनाएको छ । यसको सफलताको राज तपसिलमा जे जे भए पनि मूलतः दर्शकलाई लिएर मिडियामा भएको प्याराडाइम सिफ्ट नै हो ।

तीतो सत्य आफैंमा जमेको छ, यो बेग्लै कुरा हो । तर, धेरै समय पेज थ्री जर्नालिज्मको विषयका रुपमा पनि यसले बज हान्ने गरेको छ । खासगरी दीपक र दीपाश्रीको अफ स्क्रिन सम्वन्धलाई गसिप बनाएर बज सिर्जना गरिन्छ । गसीप समाचार हैन भन्ने एन्टी थेसिसको ज्ञान नभएकाहरुले बेला बेलामा समाचार र गसीपको वर्णशंकर बनाइदिदा यस्तो परिस्थिति सिर्जना हुन्छ् । तर, यदाकदा भने यसले समाचार नै बनाउँने क्षमता राख्छ । किनकि, कुकुरले मान्छे टोक्दा हैन, मान्छेले कुकुर टोक्दा समाचार बन्ने डाना एन्डरसनको परिभाषाले यसलाई काउकुती लगाउने हैन, मजैले छाम्ने र छुने पनि गर्छ ।

तीतो सत्य यतिबेला गसिप हैन, साँच्चै नै समाचार बनेको छ । त्यो पनि लरतरो हैन, डेटलाइन दशगजा वारिपारि छ यसको । रियल वल्र्डमा त दुई देशमा मात्र होला तर भर्चुअल वल्र्डमा त यो झनै सीमारहित भएको छ । कुनै समय सञ्चारकर्मीको तलव पीडा देखाएर बज हान्थ्यो तीतो सत्य । यतिबेला त्योभन्दा पनि अघि बढेर गजबको भाइरल नै सिर्जना गरिरहेको छ ।

कारण सामान्य छ, ५५५ औं पटकसम्म उही दिन विहीबार, उही प्राइम टाइम पौने नौ बजे प्रसारण हुने टेलिश्रृंखला तीतो सत्यको ५५६ औं भाग एकाएक रोकिएर क्रमभंग भयो । सतहमा बताइयो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई क्यारिकेचरको पात्र बनाइएकोले यो रोकियो । हुनसक्छ, भर्खरै सार्क सम्मेलनको निम्ता मानेर फर्केका मोदीलाई क्यारिकेचरको पात्र बनाइएको नेपालको राष्ट्यि टेलिभिजन च्यानल नेपाल टेलिभिजनलाई जचेन । उसले आफ्नो राष्ट्यि भाँडोमा मोदी क्यारिकेचर अटाएन । भाडामा त्यो राष्ट्यि भाँडो प्रयोग गर्दैआएका दीपक र दीपाश्रीको तीतो सत्य समूहलाई लाग्यो, यो रोकिनु अभिव्यक्ति स्वतन्त्रता विरोधी हर्कत हो । त्यसपछि यसलाई सोसल साइट फेसबुकमा बे्रकिंग बनाइयो । ब्रेकिंग क्रमशः फ्लास हुँदै जाँदा उपल्लो टीआरपी भएको तीतो सत्यले यता पनि बज नहान्ने कुरै थिएन, भाइरल नै सिर्जना गर्यो ।

तीतो सत्यको प्रसारण रोकिएपछि यसले दशगजा वारि र पारि समाचारको सुर्खी बटुल्यो । त्यति मात्र हैन, यतिबेलासम्म त यसले पेज थ्री जर्नालिज्मबाट आफूलाई माथि उठाइसकेको थियो । धेरैले यसलाई अभिव्यक्ति स्वतन्त्रताविरोधी हर्कतकै रुपमा बुझे र एउटा लम्मेतान जन्ती जर्नालिज्मको मेसो बन्यो । यो पंक्तिकार पनि त्यही मेसोमा उभिएर भन्छ, हो, यो अभिव्यक्ति स्वतन्त्रता विरोधी हर्कत नै हो । यसमा दुई मत छैन । तर, सँगसँगै उसको पाद टिप्पणी के छ भने राष्टिय सञ्चार माध्यमका केही सीमितताहरु हुन्छन् । अप्ठ्याराहरु हुन्छन् । मुलुकभित्रकै सम्वेदनशीलताका सम्वन्धमा त राष्ट्यि सञ्चार माध्यम आयाराम गयाराम हुन मिल्दैन भने अझ दुई देशको हाइप्रोफाइल विषयमा त सोच्नैपर्ने हुन्छ । तीतो सत्यकै सन्दर्भमा पनि दीपक र दीपाजस्ता समाजका जिम्मेवार काँच सेलिब्रेटीहरुले त्यस्तो राष्ट्यि अप्ठ्यारोलाई बुझी दिनुपर्छ । टाइम म्यागजिनले नै संसारको सबैभन्दा बढी टीआरपी रेटिंग दिएका मोदीको टीआरपीपछि दौडेर यसलाई फगत अभिव्यक्ति स्वतन्त्रतासँग मात्र जोड्नु हुदैन । फेरि यो तीतो सत्य भनेको समाचार हैन, जुन जनताको सुसूचित हुने मौलक अधिकारसँग प्रत्यक्ष सम्वन्ध राख्छ । धेरैमा स्वस्थ मनोरञ्जन गराउने एक टेलिसप हो यो । कमेडी जनराँ भने पनि केही समययता क्यारिकेचरको अवतारमा छ यो । अथोरिटेरियनको त कुरै छोडौ, लिवरिटेरियन मिडिया प्रणालीमा आधारित मुलुकको राष्ट्यि सञ्चार माध्यममा पनि वर्षभरि नै राष्ट्यि व्यक्तित्वहरुको नेगेटिव पोट्ेल हुने क्याचिरकेचरमा आधारित कार्यक्रम कहीँ पनि प्रसारण हुँदैन । हाम्रै मात्र एउटा यस्तो अजब गजवको मुलुक हो, जहाँ अभिव्यक्ति स्वतन्त्रताका नाममा मुलुकका राष्ट्यि नेताहरुलाई नै जोकर बनाउने स्थायी डमी इन्टरटेनरहरु नै छन् । हुँदाहुँदा अब त आस्थेटिक भेल्युको केही ज्ञान राख्ने कलाकार मनोज गजुरेल त डमी मोदीकै अवतारमा छन् रे । यसो गर्दा उनको चर्चा भारतमा पनि भयो रे । यो समाचार हैन र हुँदैन पनि । यो मात्र गसिप हो, पेज थ्री जर्नालिज्मका लागि काम लाग्छ । मनोजजस्ता प्रतिभाशाली कलाकारको क्षमता मोदीको नक्कल गर्ने कुरासँग सौदावाजी गर्नु हुदैन ।

गसिप र समाचारका बीचमा आनका तान विलोम सम्वन्ध हुन्छ । समाचार नहुने सूचीको सबैभन्दा माथि गसिप पर्छ भनेर हाम्रो मुलुकमा बुझाउनै सकिएको छैन । केही बुझेकाहरु बुझ पचाइरहेका छन् , बाँकीले बुझेका छैनन् र बुझ्न पनि चाँहदैनन् । रह्यो मिडिया सिद्धान्त र प्रणालीको बारेमा कम जानकार लाटा गाउँका गाँडा तन्नेरीहरुको कुरा, आफ्नो स्वार्थको रोटी सेकाउन उनीहरु जे पनि भन्न र गर्न तयार हुन्छन् यहाँ । आफूले मात्र देखेको सत्य विश्वजनिन हुँदैन भन्ने कुरा उनीहरुलाई कसले बुझाउने ? उल्टै सत्रुको सत्रु मित्र हुन्छ भन्ने सिद्धान्तमा सबै एक हल बाँधेर अफेन्सिभ हुन्छन् । र, सत्य बोल्न खोज्नेहरुले पनि बिना सित्तीको झ्याउलो किन लिने भनेर मन मार्नुपर्ने स्थिति सिर्जना हुन्छ ।

हो, नेपालको काँचको पर्दामा केही समययता स्वस्थ हैन, सस्तो क्यारिकेचरको हटिया लागेको छ । त्यस बजारमा अपवादलाई छोडेर यहाँ थुप्रै जोड र कोणका फौबन्जारहरु छन् । उनीहरुलाई आलोचना सुन्ने वित्तिकै पारो चढ्छ । स्वस्थ आलोचना सहनसक्ने क्षमता उनीहरुमा छँदै छैन । उनीहरुले आज मुलुकमा जे जस्ता क्यारिकेचर गरिरहेका छन् । त्यसले समाज विज्ञानको कोणबाट हेर्दा समाजलाई नेगेटिव पोट्ेल गर्न ठूूलो योगदान पुर्याएको छ । यहाँ इमोटिभ एक्सनका नाममा हेट स्पिचको पसल चलेको छ । नकिंग कपीको भरमा भाइरल सिर्जना गरेर आफ्नो रोजीरोटी चलाइएको छ । यसबाट कलाको आस्थेटिक आयाममा योगदान पुग्ने कुरै हुदैन । यहाँ बुझ्न के जरुरी छ भने, बजार त सधैभरि सस्तोकै पक्षमा तेजी हुन्छ, गुणवेत्ताहरुको बजार त सधैंभरि मन्दी नै हुने हो । यो बजार सिद्धान्तकै अकाट्य सत्य हो । तर, यो पनि त्यत्तिकै सत्य हो कि लोकप्रिय हुनु एउटा कुरा हो, सेलिब्रिटी हुनु अर्कै कुरा हो । यसमा लो ब्रो र हाइब्रोको मात्रै कुरा छैन, मास र क्लासको पनि कुरा हुन्छ ।

स्तम्भकार केही तथ्य र तर्कको आधारमा तीतो सत्य ओकल्न आइपुगेको छ । त्यसका लागि तीतो सत्य त प्रतिनिधि पात्र मात्र हो । यहाँ यस्ता नानाभातीका थुप्रै सत्यहरु छन् । यो पढ्दा केहीलाई अप्रिय लागे पनि आमसञ्चारको एक विद्यार्थी हुनुको नाता आमसञ्चारकै सिद्धान्तहरुको आधारमा केही यक्ष प्रश्नहरु गर्न सकिन्छ । त्यस्ता प्रश्नहरुको सूचीमा सबैभन्दा माथि आउँछ, राष्ट्यि सञ्चार माध्यमको प्राइम टाइममा क्यारिकेचरका कार्यक्रम प्रसारण हुन दिनु ठीक हो त ? त्यो पनि सामाजिक जीवन भएका व्यक्तित्वहरुको नेगेटिव पोट्ेलका लागि । टीआरपी जोगाउन र पैसा बटुल्नका लागि नेपालको राष्ट्यि टेलिभिजन च्यानल नेपाल टेलिभिजनले आफ्नो सुपर प्राइम टाइममा यस्ता कार्यक्रम प्रसारण गर्न दिने कि नदिने ? प्रश्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मात्र हैन, नेपालकै प्रधानमन्त्रीको डमी बनाएर राष्ट्यि टेलिभिजन संस्थाको प्राइम टाइममा क्यारिकेचर गर्न दिने कि नदिने भन्ने हो । प्रश्न नीतिको हो र त्योभन्दा पनि बढी जिम्मेवार नागरिकको विवेक र कर्तव्यको पनि हो । यसमा अभिव्यक्ति स्वतन्त्रताको प्रश्न कहाँबाट आउँछ ? जे मा पनि अभिव्यक्ति स्वतन्त्रता नै जोड्ने? के यो अभिव्यक्ति स्वतन्त्रता भनेको थेगो हो, जहाँ र जहिले प्वाँक्क भनिरहन मिल्ने ?

स्वतन्त्रतालाई चारपांग्रे रथका रुपमा व्याख्या गर्ने अमेरिकी राष्ट्पति रुजवेल्टले भनेका छन्, उत्तरदायित्वविनाको स्वतन्त्रता भनेको अराजकता हो । यसमा अधिकारको मात्र कुरा हुन्छ, कर्तव्यको हैन । जुडेओ क्रिस्चियन एथिक्सले नै भन्छ, तिमी आफू सम्मान खोज्छौं भने पहिला अरुलाई सम्मान गर्न सिक । क्यारिकेचर गरेर कसैको भावनामा चोट पुर्याएर बाँडिने मनोरञ्जन स्वस्थ र सार्थक मनोरञ्जन हुन सक्दैन । उदाहरणका लागि मुलुकका प्रधानमन्त्री सुशील कोइरालाकै क्यारिकेचरलाई लिऔं न । उनी जिब्रो क्यान्सरबाट पीडित छन् र प्रष्ट उच्चारण गर्न सक्दैनन् । यहाँ उनको त्यो पीडाको क्यारिकेचर गरेर कलाकार हुने होड छ । के यही हो मनको रञ्जन अर्थात् मनोरञ्जन ? के यही हो कलाकारको धर्म ? यस्तो प्रवृत्तिलाई आमसञ्चारको संसारमा स्याडिस्ट सिन्डेम भनिन्छ, जहाँ मान्छे अरुलाई दुखाएर आफू खुशी हुन्छ । यसैलाई बिल गेट्सले थर्ड वल्र्ड सिन्ड्रोम भनेका छन् । र, यसलाई एक किसिमको मनोवृत्तिगत रोगका रुपमा व्याख्या गरेका छन् ।

घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै, प्रश्न फेरि पनि तीतो सत्यको अभिव्यक्ति स्वतन्त्रताकै हो । यो स्तम्भकार अभिव्यक्ति स्वतन्त्रताको एक सिपाही हो । जतिबेला चलचित्र, टेलिचलचित्र मनोरञ्जनका साधन हुन् भनेर धेरै क्यारिकेचर कलाकारहरु रमाइरहेका बेला यी अभिव्यक्तिका माध्यम हुन् भनेर लड्ने थोरै मानिसमध्येमा पर्छ यो स्तम्भकार । ज्ञानेन्द्र कालमा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति नहुञ्जेल चलचित्र च लेख्दिन भनेर घोषणा गर्ने दुस्साहसी व्यक्तिमा पर्छ यो स्तम्भकार । शाहीकालमा चलचित्र विकास बोर्डमा नियुक्तिका लागि फकाउनेहरुलाई दरवारिया टाट्नामा घाँस खाने भेडो हैन भनेर सातो खाने व्यक्तिमा पर्छ यो स्तम्भकार । यो पृष्ठभूमी हुँदाहुँदै पनि विलोममा लेखिएको यो स्तम्भलाई लिएर अभिव्यक्ति स्वतन्त्रता के हो र के हैन ? भन्ने बारेमा भाइरल सुरु हुन सक्छ । त्यस्ताहरुको पूर्व जानकारीका लागि यो विनम्र सन्दर्भ सामग्री मात्र हो ।

यसमा स्तम्भकार प्रष्ट छ, तीतो सत्यका पात्रहरुको अभिव्यक्ति स्वतन्त्रता किञ्चित पनि हनन हुनुहुन्न । तर, यसो भनेर आफ्नो अधिकारको उपयोग गर्दा अर्काको ख्यातिमा आँच पु्र्याउन पनि पाइन्न । मिडियामा अभिव्यक्ति स्वतन्त्रता मात्र हुदैन, स्लान्डर र लाइवल पनि हुन्छ । पत्रकारिताका आधारभूत धर्म एबीसीडीइएफ पनि हुन्छ । मुलुकको राष्ट्यि सञ्चार माध्यम कसैको रोजीरोटी र मनोरञ्जनका नाममा क्यारिकेचर गरेर कसैको समवेदनामा खेल्ने खेल मैदान बन्नु हुँदैन, बनाइनु हुदैन । कुनै पनि मिडिया सिद्धान्तले त्यसो गर्ने अनि अभिव्यक्ति स्वतन्त्रताको दुहाइ दिने ठाउँ दिदैन । अरु त अरु स्वतन्त्रताका चार खम्वाको प्रतिपादन गर्ने चालीसको दशकका अमेरिकी राष्ट्पति रुजवेल्ट नै आए पनि उनले त्यस्तो सन्डे स्पिच दिन सक्दैनन् ।

सुन्नमा आएको छ, तीतो सत्यको मोदी क्यारिकेचर श्रृंखला म्युट शैलीमा आगामी विहीबार प्रसारण हुने भयो रे । यो श्रृंखला प्रसारण नभए अर्को श्रृंखला नै नबनाउने घोषणा गरेका दीपक र उनको तीतो सत्य हेर्न चाहने हामीजस्ताका लागि यो आफैंमा एक सुखद् समाचार हो । तर, प्रश्न अझै पनि तीतो सत्यको ५५६ औं श्रृंखला किन रोकियो र किन बन्द गरियो भन्ने नै हो । प्रसारण गरे पनि रोके पनि त्यसको चित्तबुझ्दो उत्तर तीतो सत्यको टीआरपी बनाउँने नेपाली जनताले पाउँनुपर्छ, यो चाँहि सुसूचित हुने जनताको नैसर्गिक अधिकारको प्रश्न हो । त्यसको उत्तर जति नै तीतो सत्य भए पनि सेन्सरको स्यागी चलाउनेहरुले नै दिनुपर्छ । उनीहरुको उत्तर दीपक, दीपाश्री र तीतो सत्य युनिटसँगै यो स्तम्भकार पनि सुन्न लालायित छ । आगे उनीहरु नै जानुन् ।