३० आश्विन २०८३, शुक्रबार

फ्लोरिडाको एक विद्यालयमा भएको गोलीकाण्डमा १७ विद्यार्थीको मृत्यु

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विद्यार्थीहरु गालीकाण्डमा मारिएका प्रति शोक व्यक्त गर्दै । तस्वीरः ब्रायन एण्डरसन/एपी

वासिङ्टन, ४ फागुन । अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको मृत्यु हुने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ । यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सोच्नुपर्ने भएको छ ।

अमेरिकाको फ्लोरिडामा अवस्थित मारजोरी स्टोनम्यान डगलास हाइस्कुलमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको मृत्यु भएको समाचार यहाँको पछिल्लो दुःखद समाचार हो । यसपछि अमेरिकी सञ्चारमाध्यमहरुले अमेरिकाका विद्यालयहरुमा ज्यान लिनेगरी भएका यस्तै दुःखद घटनाहरुको सूची सार्वजनिक गरेका छन् । उनीहरुले यसलाई अत्यन्तै दुःखद भन्दै यसको निराकरण नगर्ने होभने शिक्षण संस्थाहरु नै के कसरी सञ्चालन गर्ने हो भनेर सोच्नुपर्ने अवस्था आएको विश्लेषणसहितका समाचारहरु सम्प्रेषण गरेका छन् ।

घटनास्थलमा आयोजित पत्रकार सम्मेलनमा मारिएका प्रति शोक व्यक्त गरिदै । तस्वीरः सिन्ह्वा

स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको बन्दुक हमलामा परी १७ जनाको मृत्यु भएको पुष्टी गरेको छ । प्रहरीकाअनुसार फ्लोरिडा राज्यको पार्कल्याण्डमा रहेको मर्जोरी स्टोनम्यान स्कुलमा सो गोलीकाण्ड भएको हो । यहाँ बन्दुक सजिलै उपलब्ध हुने कारणले गर्दा पनि यस्तो अवस्था आएको बताइन्छ । अमेरिकामा घर घरमा बन्दुक राख्नु पनि एउटा संस्कृतिजस्तै भएको छ । यसका कारण बन्दुक हमलाबाट हुने गरेका हत्याका घटनामा बृद्धि भइरहेको छ ।

कतिपय विश्लेषकहरुले यहाँको हत्या हिंसाको अन्त्यका लागि बन्दुक संस्कृतिको पनि अन्त्य हुनुपर्ने बताउने गरेका छन् । तर पनि सरकारी उच्च अधिकारी वा सत्तारुढ रिपब्लिकन पार्टीकै नीति निर्माताहरु बन्दुकमाथिको प्रतिबन्ध तत्कालै लगाउन सक्ने अवस्थामा छैनन् । यसले गर्दा विद्यालयजस्तो बालबालिका रहने र पवित्र स्थानमा पनि बन्दुकबाट हमला हुने र शिक्षा आर्जन गर्न पुगेका निर्दोष बालबालिकाहरु नै बन्दुकेहरुको शिकार हुने अवस्था आएको उनीहरुको भनाई छ ।

वास्तवमा यही दशकमै अमेरिकाका विभिन्न स्थानमा यस्ता हत्याका घटना भएका छन् । जस्तो कि सन् २००७ मा भर्जिनियामा भएको यस्तै गोलीकाण्डमा बन्दुकधारीले कम्तीमा पनि ३२ जनाको ज्यान लिएको थियो । त्यसैगरी सन् २०१२ मा पनि अमेरिकाको स्याण्डी हकमा एकजना बन्दुकधारीले यस्तै विद्यालयमा नै गरेको हमलामा परी २८ जनाको ज्यान गएको थियो । सो घटनामा मारिनेमा अधिकांश बालबालिका नै परेका थिए ।

त्यसैगरी गतवर्षको अक्टोबरमा भएको यस्तै बन्दुक हमलामा परी ६० जनाको ज्यान गएको घटना त विश्वव्यापी रुपमा नै निन्दनीय बन्यो । लास भेगासमा भएको सो हमलामा परी ६० जनाको ज्यानै गएको थियो भने अरु करिब ५०० जना नराम्ररी घाइते भएका थिए । यस घटना अमेरिकी इतिहासकै सबैभन्दा क्रुर र दर्दनाक मानिएको छ ।

क्रुजले स्वीकारे हत्या

घटनाका आरोपी निकोलस क्रुजलाई अदालतमा उपस्थित गराइदै । तस्वीरः सुसन स्टोकर/एपी

यसैबीच उक्त विद्यालयमा गोली हन्ने निकोलस क्रुज नाम गरेका विद्यार्थीले सो हत्याकाण्ड आफूले नै गरेको भनी स्वीकारेका छन् । उनलाई हिजो नै गिरफ्तार गरिएको छ । अमेरिकी प्रहरीले बुधबार उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको थियो । प्रहरीले उनको साथबाट गोली र बन्दुक पनि बरामद गरेको थियो ।

सोही विद्यालयका १९ वर्षीय पूर्व विद्यार्थी रहेका क्रुजले किन गोली हानेका हुन् भन्ने बारेमा भने केही पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती विद्यार्थीलाई यसअघि सो विद्यालयबाट निकालिएको खुल्न आएको छ । तर गोली हान्नुपर्नाको कारणको नजिक भने प्रहरी पुग्न सकेको छैन ।

उक्त विद्यालयबाट निष्कासनमा परेका ती विद्यार्थीले सोही रिस पोख्न यस्तो गरेको हुनसक्ने अनुमान प्रहरीको छ । तर यसको पुष्टी भने भइसकेको छैन ।

पहिलो प्राथमिकता विद्यालय सुरक्षा: राष्ट्रपति ट्रम्प

घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्वीरः क्यारोलिन क्याष्टर/एपी

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र विद्यार्थीको सुरक्षा हुने बताएका छन् । उनले फ्लोरिडामा बुधबार भएको हत्याकाण्डपछि बिहीबार गरेकाे सम्बोधनका क्रममा सो प्रतिबद्धता व्यक्त गरेका अमेरिकाबाट प्राप्त समाचारमा जनाइएको छ ।

उनले विद्यालयमा देखिएको यो असुरक्षाको अवस्थालाई हटाई शान्त र सुरक्षित वातावरणमा शिक्षा आर्जन गर्न पाउने अमेरिकी बालबालिकाको अधिकारको संरक्षणका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले उक्त गोलीकाण्डमा परी ज्यान गुमाएका विद्याथीप्रति हिजो नै हार्दिक श्रद्धाञ्जलि व्यक्तगर्दै मारिएका बालबालिकाका परिवारजनमा समवेदना प्रकट गरेका थिए ।

आफ्नो ट्वीटर अकाउन्टमार्फत उनले बिहीबारै सम्प्रेषण गरेकाे सन्देशमा राष्ट्रपति ट्रम्पले कुनैपनि बालबालिका, शिक्षक वा अरू कसैले पनि अमेरिकी विद्यालयमा कहिल्यै असुरक्षित महसुश गर्न नहुने बताएका थिए ।

महासचिव गुथ्रेस स्तब्ध 

यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले उक्त गोलीकाण्डमा परी विद्यार्थीको ज्यान गएको घटनाले आफूलाई निकै स्तब्ध तुल्याएको बताए । उनले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।

प्राप्त समाचारअनुसार उनले विद्यालयमा ज्ञान आर्जन गर्न जाने विद्यार्थीमाथि भएको यो हमलाको जुनसुकै शब्दले निन्दा गर्दा पनि थोरै हुन्छ भन्दै यसबाट आगामी दिनमा विद्यालय सुरक्षाको प्रत्याभूतिका लागि आग्रह गरेका छन् ।

बालबालिका वा जो कोहीले पनि शान्तिपूर्वक बाँच्न वा विद्यालय जान पाउने अधिकार छ भन्दै त्यसको सम्मान गर्नु सबैको कर्तव्य भएको उनले बताए । रासस/सिन्ह्वा