७ कार्तिक २०८३, शनिबार

आगोको साहारामा रात काट्न बाध्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aago Tapdaiउदयपुर, २३ मंसिर । मंसिर महिनासँगै तराई क्षेत्रमा चिसो बढेपछि उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ तथा ६ का स्थानीय गरिब दलित डोम तथा मुसहर परिवार आगोको घुर ताप्दै रात काट्न बाध्य छन् ।

आर्थिक कमजोर भएको कारण सिरकको उचित व्यवस्थापन गर्न नसक्दा अहिले चिसो बढेसँगै राति आगो बालेर आगोको छेउमा रात काट्न बाध्य हुनु परेको त्रियुगा नगरपालिका–३ पुरानो गाईघाटकी ७५ वर्षीया कमलीदेवी मुुुसहरको भनाइ छ ।

पुरानो गाईघाटस्थित त्रियुगा नदी किनार क्षेत्रमा बसोबास गर्ने नौ घर मुसहरमध्ये अहिले सात घरका मुसहर जातिले गतिलो ओढ्नेको अभावमा राति आगो बालेर आगोको छेउमा बस्ने र सुतेर रात काट्न बाध्य भएको अर्का स्थानीय रेवत राम बताउँछन् ।

आफ्नो जग्गा पनि नभएको र ऐलानी जग्गामा बसोबास गर्दै आएका यी मुसहर जाति लामो समयदेखि फुसको सानो–सानो छाप्रोमा बस्दै आएका छन् ।

घरका साना नानी तथा पुरुष दिनभरि अर्काको घरमा गएर काम सघाउने तथा जङ्गलको दाउरा काटेर बजार क्षेत्रमा बिक्री गरेर चामल, तेल, दाल किनेर घरपरिवार चलाउने गरेको स्थानीय मुना राम बताउँछिन् ।

मुना भन्छिन्–“श्रीमान्ले दाउरा काटेर बिक्री गरी घरपरिवार चलाउनु हुन्छ, आफू पनि कहिलेकाहीँ अरूकामा गएर काम सघाउने गरेकी छु तर आवश्यक कमाइ गर्न नसक्दा नानीहरूलाई राम्रो लुगाफाटा लगाइदिन र ओढ्ने ओछ्याउने बन्दोबस्त गर्न सकिएन ।”

यता त्रियुगा नगरपालिका क्षेत्रकै वडा नम्बर ३ स्थित बगरटोल क्षेत्रमा बसोबास गरेका सात घर डोममध्ये चार घर डोमसमेत आर्थिक अवस्था कमजोर हुँदा चिसो बढेसँगै ओढ्नेको अभावमा आगोको साहारामा रात काट्न बाध्य हुनु परेको स्थानीय मनोज कानु बताउँछन् ।

ऐलानी जग्गामा बस्दै आएका यी डोम केहीको कमाइ राम्रो भए पनि घरजग्गा र नानीलाई ओढ्ने तथा ओछ्याउने कपडा व्यवस्था गर्न नसकेको बताउँछन् ।

केही दिनदेखि यता चिसो बढेसँगै नगरको अन्य क्षेत्रका स्थानीय बासिन्दासमेत आगोको साहारा लिन बाध्य हुन थालेका छन् ।

नगरको वडा नम्बर ६ खैजनपुर क्षेत्रका अधिकांश स्थानीय चिसो बढेसँगै अहिले बिहान, बेलुकी र रातमा समेत आगोको साहारामा रहनु परेको खैजनपुरका स्थानीय मलान चौधरी बताउँछन् ।

चौधरी भन्छन््–“आफूहरूको घरमा शरीरमा लगाउने कपडा र ओढ्ने कपडा व्यवस्थापनमा त्यति धेरै ध्यान नजाँदा प्रायः चिसो बढेको समयमा पनि गाउँघरका सबै परिवारको आगो ताप्ने प्रचलन रहेको छ ।”

कतिपय स्थानीय आर्थिक अवस्था राम्रै भए पनि चिसोको समयमा घरमा ओढ्ने ओछ्याउने कपडाको व्यवस्थापन गर्नुभन्दा पनि प्रायः घरको छेउ तथा चोकमा बिहान–बेलुकी आगो तापेर बस्ने प्रचलन रहँदै आएको अर्का स्थानीय मौलाई चौधरी बताउँछन् ।

चिसो बढेसँगै यस क्षेत्रका धेरै गरिब परिवार भने अहिले बिहान, बेलुकी तथा रातको समयमा समेत दिनमा दाउराको जोहो गरेर आगो बालेर आगोको साहारामा रात काट्न थालेको पाउन सकिन्छ ।

केही स्थानीय चिसो मौसमको समयमा बिहान–बेलुकी आगो बालेर संयुक्त रूपमा आगो ताप्नु प्रचलन नै भएको देखिन्छ भने आर्थिक अवस्था कमजोर हुने र परिवार सञ्चालन गर्न नसक्ने अवस्थाका भने ओढ्ने कपडाको अभावमा चिसो बढेसँगै रातको समयमा दाउराको सहारामा आगो बालेर रात काट्न बाध्य छन् ।