१४ कार्तिक २०८३, शनिबार

दाइजोकै निहुँमा जलाइन्छन् महिला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । सम्बन्धविच्छेद गर्न नमानेको आरोपमा घरपरिवारबाटै जिउँदै जलाइएकी २० वर्षीया हजरा खातुनले सोमबार कीर्तिपुरस्थित स्किन अस्पतालमा प्राण त्यागिन् । धनुषाको क्षिरेश्वर नगरपालिका-८, हार्सरकी हजरालाई माघ २० गते श्रीमान् रसिद राइनसहित सासूससुरा मिलेर मट्टीतेल जिउमा खन्याएर घरमै आगो लगाएको आरोप माइती पक्षको छ ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

शरीर जलेकै अवस्थामा खातुनको उद्धार गरी सुरुमा जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं कीर्तिपुर अस्पतालमा भर्ना गरियो। तर, यहाँ पनि उनको जीवन रक्षा गर्न असम्भव भयो।

जलाइएको १० दिनपछि अन्ततः उनको प्राणपखेरु गयो। खातुनको टाउको भन्दा तलको शरीरको सम्पूर्ण भाग जलेको थियो। मृत्युअघि हजराले आफूलाई पति रसिद, ससुरा अलिशेख कवारी, सासू रामसुनरी खातुन र नन्द जाहिर खातुन मिलेर जिउमा मट्टीतेल छर्की आगो लगाएको जानकारी प्रहरीलाई गराएकी थिइन् ।

दोस्रो बिहे गरेका पतिबाट पेट्रोल खन्याएर जलाइएकी सिन्धुपाल्चोककी अञ्जली श्रेष्ठ यतिबेला अग्नि हिंसापीडित नेपाल (विभिएस) को संरक्षणमा छन्। ०७३ असोज ६ मा अञ्जलीमाथि आगो लगाएर जलाइएको थियो। आगोका कारण उनको घाँटी र छाती जलेको छ। ‘अग्नि हिंसा’ सम्बन्धी एक कार्यक्रममा आइतबार पीडा सुनाउने क्रममा पुरानो घाउ सम्झेर अञ्जलीका आँखा रसाए।

उनले भक्कानिँदै भनिन्, ‘मलाई श्रीमानबाटै आगो लगाइयो। अपराधीलाई कडा सजाय होस्।’ बोक्सी आरोपमा चितवन माडी, बगौढाकी ठेगनीदेवी महतोलाई भाला र लाठीले कुटपिट गर्दै आगो लगाएर क्रूर तवरले हत्या गरियो ।

कथित बोक्सी आरोपमा ०६८ साल फागुन ५ गते ठेगनी देवीमाथि पेट्रोल छर्केर परालले पोलिएको थियो । ४० वर्षीय ठेगनी देवीका नाबालक १२ वर्षीय छोरा र नौ वर्षकी छोरी थिए। उनका छिमेकी हत्यारालाई सर्वोच्च अदालतबाट गत वर्ष सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको छ ।

दाइजो र कथित बोक्सी विवादका कारण महिलामाथि मट्टीतेल, पेट्रोल वा एसिड खन्याएर जलाउने क्रम बढ्दो छ । एक गैरसरकारी संस्थाले गरेको सर्वेक्षणले आठ वर्षको अवधिमा एक सय ७९ जना महिला र बालबालिकामाथि एसिड छ्यापेर र जलाएर हिंसा गरिएको छ ।