१४ कार्तिक २०८३, शनिबार

सेना प्रमुखको चेतावनी, ‘मातृभूमिको अस्मितामाथि धावा बोल्नेलाई छाड्दैनौं’

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेपाली सेनाले मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न आफू तयारी अवस्थामा रहेको स्पष्ट पारेको छ ।

सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुता बिथोल्ने प्रयत्न गरी मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न नेपाली सेनाले कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पारेको छ ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

संघीय संचरनामा गइसकेपछि मुलुकको अखण्डता र स्वाधीनताबारे विभिन्न आशंका भइरहेका बेला सेना दिवसको अवसरमा सैनिक नेतृत्वबाट आएको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सेना दिवसका अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार मातहतलाई शुभकामना सन्देश दिँदै जस्तोसुकै कठिन परिस्थितिमा पनि मुलुकको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षा गर्न नेपाली सेना सदैव तयार रहेको स्पष्ट पारेका छन्।

प्रधानसेनापति क्षत्रीले इंगित गर्न खोजेको नेपालको अस्मितामाथि धावा बोल्ने तत्व को हुन् भन्नेबारे भने केही उल्लेख छैन। यद्यपि, मधेसमा विखण्डनकारी अभिव्यक्ति दिँदै आएका सीके राउत र उनका कार्यकर्ताको गतिविधिमाथि सुरक्षा निकायले निगरानी गर्दै आएको छ।

प्रधानसेनापति क्षत्रीको भनाइ उद्धृत गर्दै जंगीअड्डाले भनेको छ, ‘पुर्खाको रगत पसिनाले सञ्चित मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न कुनै कसर बाँकी राख्दैनौं। पुर्खाले स्थापना गरेको मूल्यमान्यता र देशभक्तिप्रति गर्व गर्दै नेपाली सेना कठिनभन्दा कठिन परिस्थितिमा पनि राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सदैव तत्पर रहेको छ।’

प्रधानसेनापति क्षत्रीले आफ्नो मन्तव्यमार्फत राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन नेपाली सेना कुनै पनि कठोर निर्णय लिनसमेत तयार रहेको सन्देश दिन खोजेका छन्।

मुलुक संघीय संरचनामा गएपछि नेपाली सेनाले संघीय संरचनाअनुसार फौजको तैनाथी व्यवस्थित गर्न थप २ पृतना तथा २ बाहिनी स्थापना गरिसकेको छ।