३० आश्विन २०८३, शुक्रबार

केपी ओली, प्रचण्ड, ईश्वर पोखरेल र उपेन्द्र यादब अब सँगसँगै !

37k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– हेम रोकाहा/दैनिक नेपाल

राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएसँगै अब सबैको ध्यान संघीय सरकारतिर सोझिएको छ । संघीय सरकार निर्माणमा एमाले–माओवादी गृहकार्य तीव्र बनिरहेका बेला मुख्य मधेशवादी दल संघीय समाजवादी दल पनि अब बन्ने ओली सरकारमा सामेल हुने तरखरमा छ । संविधान संशोधनको मुद्दामा कुरा मिल्नासाथ ओली नेतृत्वको सरकारमा सहभागी हुने उद्घोष फोरमका अध्यक्ष उपेन्द्र यादवले गरिसकेका छन् । यो सँगै प्रचण्डलाई अघि सारेर बाम गठबन्धनलाई भत्काउने कांग्रेसी चलखेल र त्यो चलखेललाई घुमाउरो पाराले मलजल गरिरहेका माओवादी केन्द्रका केही नेताको सपना पनि चकनाचुर भएको छ । घुम्दै घुम्दै नेपालको राजनीति अब केपी ओली, प्रचण्ड, ईश्वर पोखरेल र उपेन्द्र यादवको कमाण्डमा आइपुगेको छ ।

केपी ओलीको राजनीति सञ्चालनका ए वान खेलाडी बनेर नेपालको राजनीतिको शिखरमा पुगेका छन् । उनका लागि राजनीति सञ्चालन गर्नु प्रसिद्ध अंग्रेजी साहित्यकार जेम्स ज्वायसका शब्दमा “मासु पसलेले मासु चलाएजस्तै” हो । आफू प्रधानमन्त्री हुँदा देशलाई आफ्नो खुट्टामा उभ्याउन उनले अगाडि सारेका अडान, सोच र भिजनलाई नेपाली जनताले मन पराएर पाँच बर्ष शासन गर्ने अवसर प्रदान गरेका छन् । हिजो फरक फरक कित्तामा रहेका राजनीतिक शक्तिहरु उनकै नेतृत्वमा आज एकै ठाउँमा उभिने परिस्थिति बनेको छ । उनले यसलाई निरन्तरता दिन सके भने देशको अग्रगामी रुपान्तरणको प्रमुख कारक यही हुनेछ ।

सामाजिक रुपान्तरणको नयाँ अजेण्डा बोकेर नेपाली राजनीतिमा उदाएका प्रचण्डले एमाले माओवादी एकतालाई निष्कर्षमा पुर्याउन गरिरहेको भगिरथ प्रयत्नलाई नेपाली जनताले मुक्त कण्ठले प्रंशसा गरिरहेका छन् । बाम गठबन्धन फुटाउन नेकाले उनका अगाडि ल्याएका प्रधानमन्त्रीको किस्ती अस्वीकारेका उनको अगाडि अब बन्ने सर्व शक्तिमान पार्टीको एक सर्व शक्तिमान चालकको जिम्मेवारी प्राप्त हुँदैछ । उनले त्यही स्थानबाट सरकार सञ्चालनको गेयर हान्नेछन् ।
नेपालको कम्युनिष्ट आन्दोलनमा पार्टी संगठन सञ्चालन र व्यवस्थापनमा ईश्वर पोखरेल सबभन्दा अब्बल छन् । ओलीको राजनीतिक कुशलता र पोखरेलको सांगठानिक एवं व्यवस्थापकीय पोक्तताले एमालेले सम्पन्न चुनाबमा सफलता प्राप्त गर्न सक्यो । आगामी सरकार जतिसुकै मजबुत बने पनि त्यसलाई पार्टी संगठनले थाम्नु पर्ने हुनाले एकता प्रक्रिया र एकता पछि त्यसको व्यवस्थापनमा उनको प्रमुख भूमिका हुने निश्चित छ ।

उपेन्द्र यादव मदेश आन्दोलनका सर्वमान्य शीर्ष नेता हुन् । उनको नेतृत्वमा सिर्जना भएको मधेश आन्दोलनको न्यानो राप पछि अरुले पनि तापेका हुन् । बाम राजनीतिक पृष्ठभूमि भएका उनी बाम गठबन्धन सरकारको अर्को प्रमुख हिस्सेदार बनेर नै संविधान संसोधन, संघीयताको सवलीकरणमा ऐतिहासिक योगदान गर्न सक्छन् ।

फागुनको दोस्रो सातासम्म नयाँ संघीय सरकार बन्ने तरखरमा छ । प्रदेश सरकारको गठनसँगै यी नेताहरु प्रदेश सरकारमा पनि घनिभूत रुपमा लाग्न लागेको उच्च स्रोतहरुले बताइरहेका छन् । यी चार नेता मिलेर देशलाई राजनीतिक निकास हुँदै दिगो विकास, समृद्धिका लागि हातेमालो गरे देशले स्थिरतामात्रै होइन्, केही दिनमै मुहार फेरिने पक्का छ ।