काठमाडौं, २९ माघ । राप्रपा अध्यक्ष कमल थापाले केही महिनाअघि दिलनाथ गिरीलाई मन्त्रीबाट मात्रै होइन, पार्टीबाट अपमानित गरेर निष्कासन गरे ।
व्यक्तिगत स्वार्थका लागि जीवनको सुख–दुःखमा अविराम साथ दिएका गिरीलाई अपमानित गरेर थापाले निष्कासन गरे पनि पूर्वपञ्चहरुका लागि भने उनको यो कदम फाइदाकर बन्दै जान थालेको छ । गिरी कमल थापाबाट अलग्गिँदा कमलपीडित पूर्वपञ्चहरु एकाएक गोलबद्ध हुन थालेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।
स्रोतका अनुसार, गिरी राप्रपाबाट अलग भएसँगै उनले विभिन्न कालखण्डमा छिन्न भिन्न भएर अलग–अलग शक्ति निर्माण गरेका पूर्वपञ्चहरुलाई एक ठाउँमा ल्याउने अभियान छेडेका छन् । यतिबेला पूर्वपञ्चहरु दुई पार्टीमा छरिएर रक्षात्मक छन् ।
पशुपति शमशेर राणा र लोकेन्द्रबहादुर चन्द राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरेर आफ्नो धुकधुकी बचाउन संघर्षरत छन् भने प्रकाशचन्द्र लोहनी पनि उस्तै दुःखबाट गुज्रिरहेका छन् । तर गिरीले पछिल्लो समय यी सबैलाई एकीकृत गर्ने अभियान थालेका छन् ।
स्रोतका अनुसार राणा, चन्द, लोहनी र गिरीले कमल थापालाई चक्मा दिनेगरी पछिल्लो समय एउटै पार्टी निर्माण गर्न सक्रियता बढाएका छन् । केही चरणमा छलफल नै गरिसकेको यो समूह निर्णायक छलफलमा जुटेको थाहा भएको छ ।
‘गिरीलाई कमल थापाले निष्कासन गरेपछि तितरवितर बनेका पूर्वपञ्चहरु एक ठाउँमा उभिने देखिएको छ’ स्रोतले भन्यो, ‘सबै शक्तिहरु समेटेर एउटै पार्टी बनाउन छलफलहरु भइरहेका छन् । तर, यसले मूर्तरुप भने पाउन सकेको छैन ।’
स्रोतका अनुसार, यसरी अलग पार्टी निर्माण गरेर अघि बढ्दा राष्ट्रवादी शक्ति कमजोर हुने र एउटै पार्टी बनाएर अघि बढ्नुपर्ने कुरामा सबै सहमत बनिसकेका छन् । कमल थापा नेतृत्वकै पार्टीका कतिपय नेताहरु समेत नयाँ राष्ट्रवादी पार्टी बनाउनु पर्ने पक्षमा देखिएको राप्रपाका एक नेताले बताए ।












प्रतिक्रिया