२९ आश्विन २०८३, बिहिबार

‘भगवानका प्यारा’ भएका सभासद् खड्कासँग अन्तिम संवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak-Gautam

दीपक म तँसँग बसेर कुरा गर्नुछ !

हुन्छ नि अंकल ! म जहिले पनि तयार छु । खास के कुरा हो अहिले भन्न मिल्दैन ?

मलाई तेरो सहयोग चाहिएको छ ।

अंकललाई मेरो सहयोग आवश्यक पर्‍यो ? लौ भन्नुस त मैले के सहयोग गर्नसक्छु तपाईंलाई ?

अहिले होइन, एकदिन तँ र म बसेर कुरा गर्नुछ ।

एकरात पत्रिकाको काम सकेर खाजा खान बागलुङ नगरपालिका नजिकैको एक रेष्टुरेन्टमा भर्खरै छिर्दै थिएँ । संयोगबश त्यही रेष्टुरेन्टमा मेरो खड्कासँग भेट हुँदा भएको सम्वादको अंश हो माथिको ।

म उनले लगानी गरेको एफएममा काम गरेर छाडेको केही बर्ष भइसकेको थियो । मैले रेडियो छोडेपछि उनीसँग मेरो त्यसरी कुनै कुरा हुन सकेको थिएन । सायद उनी त्यो बेला अमेरिका भ्रमणमा गएका थिए कि जस्तो लाग्छ । उनले मसँगबाट कस्तो सहयोेगको अपेक्षा गरेका होलान ? भन्ने कुरा मनमा खेलिरह्यो । रेडियोमा काम गरेका पुराना प्रायः सबै साथीहरुले छोडिसकेका थिए । सुरुमा अञ्चलभरी नै राम्रो छाप छाडेको रेडियो नोक्सानीतिर जाँदै छ भन्थे त्यहाँ काम गर्ने साथीहरुले । सायद मलाई फेरि एफएममा आउनु प¥यो भन्न हो कि? भन्ने मैले अड्कल काँटेको थिएँ ।

किनकी त्यतिबेला प्रकट दाई (प्रकटकुमार शिशिर, हालः काठमाडौँ) र सचिन आचार्य (हालः जापान) ले बागलुङ छोडेर काठमाडौँ छिरिसकेका थिए । अरु साथीहरु पनि तितरबितर भइसकेकाले रेडियोमा समाचार भन्ने मान्छेको समेत अभाव भइरहेको थियो । यस्तो अवस्थामा उनले मसँग एफएमका लागि कुनै सहयोग माग्न खोजेका हुन कि भन्ने आशंका गरेँ । तर उनी धेरैबेर रोकिएनन् र मलाई भनि हाले ‘मलाई मिडियाका क्षेत्रबाट तेरो सहयोग चाहिएको छ ।’

नेपाली काँग्रेसका जिल्ला सचिव एवं संविधानसभाका प्रत्यक्ष निर्वाचित सभासद् हरिबहादुर खड्कासँग भएको त्यही अन्तिम कुराकानीकै क्रममा पार्टी भित्र केही असहज स्थितिको सिर्जना भएको मैले बुझेको थिएँ । हुन त उद्योग बाणिज्य संघ बागलुङ शाखाको निर्वाचनदेखिनै नेपाली कांग्रेस भित्र एक अर्काप्रतिको आरोप–प्रत्यारोपको शृंखला बढ्दो थियो । पार्टी सभापति प्रकाश पौडेल र उनीबीचनै मतमतान्तर थियो उद्योग बाणिज्य संघको चुनावका सन्दर्भमा । सायद् उनलाई पार्टी भित्रका विपक्षीहरुले आफ्ना बारेमा केही नकरात्मक सूचनाहरु दिन्छन् कि भन्ने डर लागेको हुनुपर्छ । मैले यहि बुझेको थिएँ । पछि उनले भने ‘मेरा बारेमा कुनै त्यस्तो सूचना आयो भने समाचार बनाउनुपूर्व मसँग बुझ्नु है, तेरो लेखनीमा अलि बिवेक हुँदैन, त्यसैले म तँ सँग यो कुरा गरेको ।’

मलाई हरि खड्काले नराम्रो काम गरेको खासै जानकारी छैन । काँग्रेसकै कतिपय नेताहरुलाई हामीले मदिरा पिएर सडकमा मात्तिँदै हिडेका धेरैपटक देखेका छु । तर हरि खड्काले त्यस्तो गरेको कहिल्यै देखिएन् । कसैप्रति रिसराग, पूर्वाग्रह नराख्ने खड्का सबैलाई समान व्यवहार गर्ने सामान्यखालका नेता मानिन्थे । त्योसँगै कुनै पनि कार्यक्रममा सहभागी भएबापत भत्तानलिने नेता पनि हुन उनी ।

Hari-bahadur-khadka

साँच्चै जिल्लाका एक उदाहरणीय नेताको रुपमा लिन सकिन्छ खड्कालाई । कार्यकर्ताको संरक्षण गर्ने राम्रो क्षमतासँगै अरु व्यक्तिलाई पनि सक्दो सहयोग गर्ने राम्रो स्वभाव पाउँथे मैले उनमा । संविधानसभाको दोस्रो निर्वाचनमा खड्काले टिकट पाएपछि उनका विपक्षमा पार्टीका केही जिम्मेवार व्यक्तिहरु उभिए तैपनि चुनावमा भाग लिएर सभासद् भए । पार्टीकै केही जिम्मेवार व्यक्तिबाट अन्तरघात हुँदाहुँदै पनि उनले चुनाव जितेका हुन । यो उनले सामाजमा राम्रो गरेका कारणले नै हो । आर्थिक हैसियत बलियो भएका कारणले पनि उहाँले आफ्नो पदलाई आर्थिक उपार्जनकाखातिर दुरुपयोग गर्ने छैनन् भन्ने हामीलाई थियो त्यसैले नै उनीप्रति बागलुङले केही आशा गरेका थिए । समयमा संविधान बन्छ कि बन्दैन त्यो त केन्द्रीय राजनीतिले प्रभाव पार्ने कुरा हो तर जिल्लाको विकासका लागि उनले राम्रो भूमिका खेल्दै आएका थिए ।

सभासद खड्का दुर्घटनामा परेर गम्भीर घाइते भएपछि बागलुङबासी खड्काको स्वास्थ्य अवस्थाका बारेमा चिन्तित थिए । स्वास्थ्य अबस्था सुधार भएपछि बागलुङमा स्वागत गरौँला भनेर बसेका खड्काका आफन्त तथा शुभचिन्तक र पार्टीका कार्यकर्ताहरुलाई निराश पारेका छन् । सिगानाकी रुपा गौतमको हत्याका विषयमा छानबिनका लागि तपाईंहरुले आवाज उठाउनुप¥यो भनेर गुनासो सुनाउँला भन्ने मेरो चाहना पनि खड्काको मृत्युसँगै तुहिएको छ । खड्कालाई समयमै अस्पताल पु¥याउन सकेको भए उनको जीवन रक्षाहुने प्रशस्तै सम्भावनाहरुबारे पनि सामाजिक सञ्जालमा छाइरहेका छन्, यदि यस्तो भएको हो भने यो गम्भिर त्रुटि हो । खड्काको अवस्था सामान्य छ भनेर प्रधानमन्त्रीलाई खबर पु¥याउनेहरु को–को हुन ? कांग्रेसले तिनीहरुको खोजी गर्नुपर्छ । यदि खड्काको अवस्थाबारे यथार्थ जानकारी प्रधानमन्त्रीलाई गराएको भए पोखरामा हेलिकप्टर ल्याण्ड हुने थिएन । तर, त्यहाँ प्रधानमन्त्रीलाई गलत सूचना प्रवाह गरिएकाले यस्तो भएको हो । खड्का दुर्घटनामा परी गम्भीर घाइते भएको समाचार यत्रतत्र सर्वत्र हुँदा पनि खड्का अस्वस्थ भएर कार्यक्रममा आउन सक्नुभएन भनेर हल्का रुपमा भनियो ? यसको पनि कांग्रेसले समीक्षा गर्नु जरुरी छ । हरि खड्का जस्तो सबैले पत्याउने व्यक्ति कांग्रेसले कहिल्यै पाउने छैन बागलुङमा ।

र अन्तमाः एउटा इमान्दार नेता गुमाउँदा पीडित बनेका बागलुङबासीहरुलाई धैर्य गर्न आग्रह गर्दछु । समय र परिस्थितिले असमयमा दिएको पीडा सह्यै त हुँदैन तर पनि सहनुको विकल्प पनि त छैन । उनका आफन्त, इष्टमित्र, हामी जस्ता शुभचिन्तकलाई चिन्तित नहुन र कांग्रेस कार्यकर्ताहरुलाई हतोउत्साहीत नहुन आग्रह गर्दछु । समयमा राम्रो काम गर्नेहरु मृत्यु पछि पनि झन प्रिय हुन्छन् भन्ने कुराको ख्याल गर्न आग्रह गर्दै स्वर्गीय हरिबहादुर खड्काप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना । अलविदा हरि अंकल ।