१४ कार्तिक २०८३, शनिबार

प्रहरीको बिजोग

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । मुगुको चैनागाउँ प्रहरी चौकी मन्दिर परिसरभित्र छ । भवन नभएपछि मन्दिरभित्रको टहरोमा प्रहरीले दिन काटिरहेका छन् । शंकास्पद व्यक्ति समातिँदा जिल्ला प्रहरी कार्यालय पुर्‍याउनुपर्ने बाध्यता छ ।

सल्यानको लुमाहस्थित इलाका प्रहरी कार्यालय शिवालय मन्दिरको जग्गामा छ । जग्गा नपाएपछि प्रहरीले मन्दिरको जग्गामा कार्यालय राखेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

झापा किचकबधस्थित प्रहरी चौकीको हालत पनि उस्तै छ। किचकबध संरक्षण समिति भवनमा प्रहरी कार्यालय छ। स्थानीयले प्रहरीलाई समिति भवन दिएका हुन्। पाँचथरको च्याङथापु सीमा प्रहरी चौकी भाडाको घरमा छ। पाँचथरका अधिकांश प्रहरी भवन भाडामै छन् ।

प्रहरी कार्यालयको बिजोगका यी नमुना मात्रै हुन्। देशभर दुई हजार पाँच सय सात वटा प्रहरी इकाइ छन्। तीमध्ये ६ सय १२ वटा इकाइमा प्रहरीको जग्गा छैन ।

एक हजार एक सय ५३ वटाको कार्यालय भवन छैन। भवन भएका ठाउँमा पनि एक हजार एक सय ७७ वटा इकाइमा ब्यारेक छैन। दिनभर ड्युटीमा खटेपछि राति आराम गर्ने ब्यारेक नहुँदा प्रहरी जहाँ सजिलो पर्‍यो, त्यहीँ सुत्दै आएका छन् ।

मुगु, हुम्ला, जुम्ला, कालिकोट, मनाङलगायत जिल्लामा त जाडोयाममा दाउरा किन्ने पैसासमेत नहुँदा प्रहरीले स्थानीयसँग मागेर जोहो गर्दै आएका छन् ।

प्रहरी मुख्यालयका अनुसार एक हजार दुई सय ४४ वटा इकाइमा खाना पकाउने मेस नहुँदा छाप्रोबाटै गुजारा चलाउँदै आएका छन् । अचम्म त प्रहरीका एक हजार एक सय ३९ वटा भवनमा शौचालय नै छैनन्। उनीहरू खाली जग्गामा पालले बेरेर शौच गर्न बाध्य छन् ।