काठमाडौं, २२ मंसिर । राजधानीको केहि ठाउँबाट एक महिना यता लिगिनायर्स डिजिजका प्रयोगशाला प्रमाणित दुई जना विरामी फेला परेको छ ।
उक्त दुवै जना केहि महिना देखी काठमाडौं वाहिर गएका थिएनन् ।
‘मुलुकमा यो रोग पहिलो पटक दुई जनामा देखिएको हो, तर अनौपचारिक रुपमा यो संख्या धेरै बढी हुन सक्छ’, स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण विभाग निर्देशक डा.बाबुराम मरासिनि भन्छन, ‘यो रोगवाट बृद्घ, रोग प्रतिरोधक क्षमता कमजोर भएका, फोक्सोको दिर्घकालिन रोग भएका, चुरोट सेवन गर्नेहरु र अंग प्रत्यारोपण पछि औषधि सेवन गरिरहेकाहरु बढी प्रभावित हुन सक्छन ।’
डा.मरासिनिका अनुसार उक्त रोगवाट पिडितहरुको भ्रमण इतिहास छैन ।
विज्ञहरुको अनुसार राजधानीमा लिगिनायर्स डिजिज विरुद्घ कडा पाइला नचालिए यसको प्रकोप देखिन सक्ने उच्च सम्भावना छ ।
यो रोग हाल पोर्चुगलमा प्रकोप कै रुपमा देखिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
अमेरिका स्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सिडिसि)को तथ्य पत्र अनुसार यो रोग ‘लेगियोनेला’ व्याक्टेरिया ले गर्दा हुन्छ ।
यो व्याक्टेरिया प्राकृतिक रुप मै वातावरण मा हुन्छ भने मुख्य रुपले पानीमा पाइन्छ ।
यस्तै यो व्याक्टेरिया तातो पानी जस्तै तातो टव, तातो पानीको टयाङ्क, लामो पानीको पाइपलाइन प्रणाली, सजावटी पानीको फोहरा आदिमा पाइन्छ ।
यो व्याक्टेरिया वाटर सिस्टमको तापक्रम २० देखी ५० डिग्रि सेल्सियस सम्म मा वाच्ने र हुर्कने गरेको छ ।
रोगवाट वच्न एयर कन्डीसनरको फिल्टर समय समयमा सफा गरेर किटानुमुक्त राख्ने, पानीको स्रोतहरु सफा राख्नु, पानीको फोहराहरुमा किटानुमुक्त पानीको व्यवस्था नभए सम्म बन्द राख्न इपिडिमियोलजीले सवै संग अनुरोेध गरेको छ ।
‘यो रोग लेगियोनेला व्याक्टेरिया संक्रमित पानीको स-सानो थोपा वा वाफ लाई स्वास प्रस्वासको माध्यमले फोक्सोमा लिएपछि सर्छ’, डा.मरासिनि भन्छन, ‘यो व्याक्टेरिया एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्देन ।’
डा.मरासिनिका अनुसार पानीको फोहरा, एयर कन्डिसनर, स्पा, नुहाउदा प्रयोग हुने सावर, पौडी पोखरी लगायत अन्य पानिको स्रोतवाट समेत यो रोगको व्याक्टेरिया शरिरमा प्रवेश गर्न सक्छ ।
उपयुक्त रुपमा सफा र संक्रमण मुक्त नगरिएको तातो पानीको भाडो वाट आउने वाफ ले समेत यो रोग सर्ने गर्छ ।
सिडिसिको अनुसार यो रोगको व्याक्टेरिया फोक्सोमा प्रवेश गरेको २ देखी १४ दिनको अवधिमा व्यक्ति विशेषमा रोगको लक्षण देखा पर्छ ।















प्रतिक्रिया