१ कार्तिक २०८३, आइतबार

‘हुकिङ हटाऊ, महसुल उठाऊ’ अभियान, ३७८ ठूला ग्राहकको लाइन काटियाे

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ माघ । ‘हुकिङ हटाऊ महसुल उठाऊ’ अभियान शुरु गरेको नेपाल विद्युत् प्राधिकरण ललितपुरले गत साउनदेखि यही माघ २० गतेसम्म ३७८ ठूला ग्राहकको लाइन काटेको छ ।

प्राधिकरणका ललितपुर प्रमुख जयकृष्ण यादवका अनुसार ती ग्राहकले ९० लाख ६४ हजार रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ ।

लतितपुरका एक दर्जनभन्दा बढी स्थानमा संगठित रुपमा विद्युत् चोरी भइरहेको पाएपछि चोरी नियन्त्रण अभियानलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको प्राधिकरणले पछिल्ला दिनमा लामाटार, लाँकुरी भञ्ज्याङ र च्यासल क्षेत्रमा हुकिङ हटाउन अभियानलाई तीव्र पारेको छ ।

प्रमुख यादवका अनुसार स्थानीय सुरक्षाकर्मी, जनप्रतिनिधि र नागरिक समाजका अगुवाको सहयोगमा दैनिक तीन दर्जनभन्दा बढी हुकिङ हटाउने र चोरीका उपकरण जफत गर्न थालिएको छ । प्राधिकरणले हुकिङ सामग्रीसहित स्थानीयवासीलाई पक्राउ गर्दै कारबाहीको प्रक्रिया शुरु गरेको छ ।

एक सातामा मात्रै छ लाख ५० हजार रुपैयाँ बराबरको जरिवाना रकमसमेत उठेको छ । चोरी नियन्त्रण अभियानलाई आक्रमक रुपमा सञ्चालन गरिएपछि एकै ग्राहकले एक लाख ५० हजार रुपैयाँसम्म तिर्न थालेका छन् ।

प्राधिकरणले मिटर नभएका ग्राहकलाई निवेदन दिएको सात दिनभित्र मिटर उपलब्ध गराउन थालेको छ । महानगर, नगरपालिका र गाउँपालिकाका वडा कार्यालयमा नै विद्युत् मिटर उपलब्ध गराउन शुरु गरिएको प्रमुख यादवले बताए । अटेर गर्नेलाई भने कारबाही गर्ने र कुनै पनि दबाबलाई स्वीकार नगर्ने रणनीतिका साथ प्राधिकरण चोरी नियन्त्रण अभियानमा लागेको जनाइएको छ । प्राधिकरणका अनुसार ललितपुरमा मात्रै ५० करोड रुपैयाँ बराबरको विद्युत् चोरी हुने गरेको पाइएको छ । –रासस