काठमाडौं । विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक नपुग्नुमा स्कुलका हेडमास्टर पनि दोषी देखिएका छन्। शिक्षा विभागले केही दिनअघि पाठ्यपुस्तक बिक्रीवितरण तथा अनुगमनका लागि पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रमा पठाएको उपसमितिको अध्ययन प्रतिवेदनले ‘हेडमास्टरहरूले कमिसनको लोभमा ढिला किताब उठाउनाले अभाव भएकोु देखाएको छ।
शिक्षा विभागको पाठ्यपुस्तक बिक्रीवितरण तथा अनुगमन केन्द्रीय समितिको मंगलबार बसेको बैठकमा उपसमितिहरूले अनुगमन प्रतिवेदन बुझाउँदै ‘जिल्लाका विद्यालयमा हेडमास्टरहरूले ढिला किताब उठाउँदा पसलेले बढी कमिसन दिनेु खुलासा गरेका छन्।
पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रका विद्यालयमा फागुन महिनामै पाठ्यपुस्तकको बजेट निकासा गरिएको भए पनि हेडमास्टरहरूले उक्त रकम तलबभत्तामा खर्च गरेकाले किताब किन्न समस्या आएको पाइएको छ।
पूर्वाञ्चल क्षेत्रका लागि गठित उपसमिति सदस्यहरू विराटनगर, इनरुवा, भद्रपुर र बिर्तामोड सदरमुकाममै पुग्दा कक्षा ९ र १० को किताब अभाव रहेको पाइएको थियो। यो उपसमितिका संयोजक विभागका उपनिर्देशक राकेश श्रेष्ठ हुन्।
उपसमितिका सदस्य तथा अभिभावक संघ नेपालका केन्द्रीय सदस्य सुवास भण्डारीका अनुसार यस क्षेत्रमा कक्षा ९ र १० को अनिवार्य विषयका पाठ्यपुस्तक जनक शिक्षाले पर्याप्त पठाएको छैन। पठाएको किताब पनि हेडमास्टरहरूले समयमै नलगेका कारण अभाव देखिएको उनले जनाए।
‘जनक शिक्षाले कक्षा ९ र १० को किताब यस क्षेत्रमा ८० प्रतिशत अझै पठाएको छैन,’ भण्डारीले नागरिकसँग भने, ‘शैक्षिक सत्र सुरु भएको एक महिना भइसक्यो, तर कक्षा ९ र १० को अनिवार्य विषयका किताब ८० प्रतिशत सुगम क्षेत्रमै छैन।’
यसैगरी विभागका अधिकृत इन्दिरा बुढाथोकी संयोजकत्वको सूदूरपश्चिमाञ्चल अनुगमन उपसमितिले यस क्षेत्रमा कक्षा ७ को किताब अभाव रहेको प्रतिवेदन प्रस्तुत गरेको छ।
उपसमिति सदस्य यादव शर्माका अनुसार कैलाली, कन्चनपुर र मध्यपश्चिम क्षेत्रमा कक्षा ६ र ७ तथा कक्षा ९ र १० को किताब अभाव भएको पाइयो। यस क्षेत्रमा निजी प्रकाशन गृहले कक्षा १–५ सम्मको पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मेवारी पाएकाले यो तहमा सबै किताब पुगेको उनले जनाए। नागरिक दैनिकबाट













प्रतिक्रिया