३० आश्विन २०८३, शुक्रबार

त्यसै आएकी हैनन् भारतीय विदेशमन्त्री नेपालमा, यस्ता छन् लुकेका ९ कुरा

83.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार अपरान्ह काठमाडौँ आइपुगिन् । मुस्कुराउँदै काठमाडौँ झरेकी स्वराजको त्यो मन्द मुष्कानभित्र धेरै कुराहरु लुकेका / लुकाइएका छन् । सम्भवतः ३ बर्षको अवधिमा नेपालमा सबैभन्दा बढी भ्रमण गर्ने उनी पहिलो विदेशी मन्त्री हुन् । सन् २०१४ मा विदेश मन्त्री बनेपछि उनको यो सातौं भ्रमण हो । निकै अपर्झट भएको उनको भ्रमणभित्र केही कुराहरु अव्यक्त छन् :

१,

निम्तो बिना नै भ्रमण

भारतीय विदेशमन्त्री स्वराज नेपाल सरकारको आधिकारिक निम्तो बिना नै काठमाडौँ आइपुगेकी हन् । भारतीय विदेश मन्त्री बिना कुनै निमन्त्रणा नेपाल आएको सम्भवतः यो पहिलो हो । अन्य कुनै देशका विदेश मन्त्री पनि ‘म आएँ है !’ भन्दै आउँदैनन् । निमन्त्रणा नहुँदा पनि कुनै राजनीतिक मिसन हुन्छ। त्यही मिसन अन्तरगत स्वराज काठमाडौँ आइपुगेकी हुन् ।

२,

अपर्झट भ्रमण

एक हिसाबले भन्ने हो भने स्वराजको यो अपर्झट नेपाल भ्रमण हो । भारतीय विदेश मन्त्रालयले स्वराज काठमाडौँ आउने जनाएको तेस्रो दिनमा उनी काठमाडौँ आइपुगेकी हुन् । उनी नेपाल आउन लागेको भन्दै भारतीय विदेश मन्त्रालयले सोमबार औपचारिक जानकारी दिएको थियो। नेपाली पक्षले बुधबार मात्र जानकारी सार्वजनिक गरेको हो। निर्वाचनपछि सरकार बन्ने तयारीमा रहेको अवस्थामा भएको यो अपर्झट भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

३,

सशक्त टिम- स्पष्ट एजेण्डा

राजनीतिक भ्रमण भनिए पनि भारतीय विदेश मन्त्रालयको सशक्त ‘टिम’ स्वराजसँगै काठमाडौंमा आएको छ । विदेश सचिव, विदेश मन्त्रालयका प्रवक्ता, नेपाल डेक्स हेर्ने अधिकारीहरु पत्रकारसहित नेपाल आइपुगेका छन्। भ्रमण अचानक नै भएपनि भारतीय पक्ष पूर्ण तयारी र स्पष्ट एजेण्डासहित आएको छ ।

४,

एमालेको भोज

अझ भारतीय विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष ओलीलाई भेटेर राजनीतिक भेटवार्ताको सुरुवात गर्नु आफैमा नयाँ तरंग हो । स्वराजलाई भेट्न ओली साँझ ७ बजे होटल सोल्टीमा पुगे । उनीहरुबीच ‘वान टू वान’ कुराकानी भयो । स्वराजका लागि एमालेले रात्रीभोजको आयोजना गरेको छ । यसले पनि स्वराजले एमालेलाई र एमालेले स्वराजको भ्रमणलाई महत्व दिएको प्रष्टै हुन्छ । स्वराजसँगको रात्रीभोजमा एमालेका सीमित नेताबाहेक अरुलाई बन्देज लगाइएको छ । भारतले एमालेलाई हेर्ने दृष्टिकोणमा यूटर्न भएको यसले पनि प्रष्टै गर्छ ।

५,

प्राथमिकतामा छैनन् देउवा

भारतीय विदेशमन्त्री स्वराजले अन्तिम भेट परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग गर्दैछिन् । शुक्रबार विदेश फर्कनुअघि उनले ‘कर्टेसी’ राख्नका लागि मात्र देउवालाई भेट्न लागेकी हुन् । अर्थात, देउवासँगको भेट औपचारिकताका लागि मात्रै हो । त्यसैले पनि देउवा अहिले भारतीय प्राथमिकतामा छैनन् भन्ने देखाएको छ ।

६,

ओली-मोदीको लय

संसदीय चुनावपछि भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अचम्मको लय देखियो । अघिल्लो बर्ष संविधान घोषणा गर्दाबखतदेखि नै भारत र ओलीबीचको सम्बन्ध बिग्रिएको थियो । नाकाबन्दीपछि ओली कठोर बनेर प्रतिवादमा उत्रिए । ओली गलेनन् । ६ महिनापछि भारत आफै गल्यो । तर, एमालेसँगको सम्बन्धमा खासै सुधार हुन सकेन् ।

भारतले काँग्रेस र माओवादीलाई मिलाएर सरकार बनाइदियो । ओली सरकार ढल्यो । स्थानीय चुनावदेखि संघीय चुनावसम्म आइपुग्दासम्म भारत एमालेसँग कठोर नै देखिन्थ्यो । तर, एकाएक भारतको लय बदलियो । भारतीय प्रधानमन्त्री मोदीले यो बीचमा पटकपटक ओलीलाई फोन गरिसकेका छन् । ओली र मोदीको पटकपटकको वार्ताले नयाँ राजनीतिक आकार ग्रहण गरिरहेको पछिल्ला घटनाहरुले देखाएको छ । त्यसैको निरन्तरताको रुपमा स्वराजको यो आकस्मिक भ्रमणलाई बुझ्न सकिन्छ ।

७,

रसुवा भ्रमणपछिको भारत 

एमाले अध्यक्ष ओली आफू निकटका केही नेताहरुलाई लिएर पुसको पहिलो साता रसुवाको भ्रमणमा पुगेका थिए । उनको त्यो भ्रमणले सबैभन्दा बढी झट्का भारतलाई नै दियो । भावी प्रधानमन्त्री ओलीले चीनलाई प्राथमिकता दिन चाहेको सन्देश त्यो भ्रमणले दियो ।

त्यसपछि भारत झनै तर्सिएन मात्रै, चुनावपछि औपचारिक रुपमा बधाई नदिएका मोदीले टेलिफोन गरी ओली र प्रचण्डलाई बधाई दिए । यो बीचमा ओलीलाई दुईपटक त फोन नै गरे ।

८,

ओली पहिल्यै जानकार थिए

भारतीय विदेशमन्त्री नेपाल आउने विषयमा एमाले अध्यक्ष ओली यसअघि नै जानकार रहेको ओली निकट नेताहरुले बताइसकेका छन् । माघ ७ गते मोदीले दोस्रोपटक फोन गरेका थिए । सोही दिन भएको टेलिफोन संवाद अनुसार मोदीले आफ्नी विश्वासपात्र स्वराजलाई नेपाल भ्रमण पठाएका हुन् । मोदीले फेब्रुअरी पहिलो साता विदेशमन्त्री स्वराजलाई नेपाल पठाउन लागेको जानकारी दिएका थिए । पछि दिल्लीसँग समन्वय गरेर भारतीय राजदूत मञ्जिब सिंह पुरीले भेटवार्ताको तारतम्य मिलाएका हुन् । स्वराजको भ्रमणका लागि ओलीका तर्फबाट एमाले नेता विष्णु रिमालले समन्वय गरे। मोदीका तर्फबाट भारतीय राजदूत मञ्जिब सिंह पुरीले समन्वय गरे । तर, सरकारी निकाय यो बारेमा बेखर नै रह्यो ।

९,

नयाँ राजनीतिक कोर्स

पछिल्लो जनमतका आधारमा आउँदो सरकारसँग सहकार्य गर्ने सन्देश बोकेर स्वराज आइपुगेकी हुन् । विगतमा कर्मचारीतन्त्रबाट भएको गल्तीका कारण सम्बन्धमा तीतोपन आएकोले सुधारका लागि राजनीतिक तवरबाटै प्रयास थालिएको अर्थमा यसलाई लिइएको छ । नयाँ सरकार गठनलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदैछन् । मोदीले यसअघि अरुण तेस्रो जलविद्युत आयोजना सिलान्यास गर्ने, जनकपुर र लुम्बिनी भ्रमण गर्ने गरी नेपाल आउने तयारी भएको थियो । तर, नेपालमा वाम गठबन्धन निर्माणसँगै उनको भ्रमण तयारीकै क्रममा रोकिएको थियो ।

कुनै पनि हालतमा एमालेको सरकार रोक्न नसक्ने भारतले राम्रोसँग बुझेको छ । सबै विकल्प बन्द भएपछि एमालेसँग मिलेरै अघि बढ्ने नीति भारतले अख्तियार गरेको देखिन्छ ।