– नरेश के.सी.
भैरहवा, १७ माघ । ६५ औँ कुष्ठरोग दिवसको अवसर पारेर ‘कुष्ठरोग मुक्त समाज निर्माण, बालबालिकाहरुमा शुन्य अपाङगता हाम्रो अभियान’ भन्ने मुल नाराका साथ रुपन्देहीमा कुष्ठरोगी खोजी शुरु हुने भएको छ ।
जिल्लाको ३ वर्षीय तथ्यांकलाई विश्लेषणगरी सिद्धार्थनगर नगरपालिकामा, तिलोत्तमा नगरपालिकामा, ओमसतीयमा गाउँपालिका, रोहिणी गाउँपालिकामा, मर्चवारी गाउँपालिकामा, मायादेवी गाउँपालिका, समरीमाइ गाउँपालिका, शुद्धोदनमा गाउँपालिका, गैडहवा गाउँपालिकाका सबै वडामा र कन्चन गाउपालिकाको वडा नम्बर १ र २ मा यो अभियान चलाईने जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख केहर सिंह गोदारले जनाएका छन् ।
बुधबार रुपन्देही जिल्ला समन्वय समितीका प्रमुख एकराज विश्वकर्माको संयोजकत्वमा जिल्ला स्तरीय कुष्ठरोग निवारण अभियान समिती गठन भएको जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका क्षय–कुष्ठ रोग निरीक्षक टिकाराम अधिकारीले बताए । जिल्लाका सरोकारवाला निकाय सदस्य रहेको उक्त समितिले यहि माघ २३ देखि २५ माघसम्म जिल्लाका १० वटा स्थानिय निकायमा कुष्ठरोग खोजी अभियानलाइ तिब्रता र प्रभावकारी बनाउन सहयोग गर्नेछ ।
आँखाले देख्न नसकिने माइको व्याक्टेरियम लेप्रे नामको सुक्षम किटाणुबाट लाग्ने कुष्ठरोगको बारेमा जनचेतना अभिवृद्धि गदै रोग निवारणको लागी जिल्लाका विभिन्न १० स्थानिय तहका घरघरमै गई यो रोगको खोजी शुरु गरिएको जिल्ला जनस्वास्थय कार्यलय क्षय–कुष्ठ रोग निरिक्षक अधिकारीले जनाए ।
लाटो, फुस्रो दाग, छाला बाक्लो हुने, गिर्खाहरु देखिने कुष्ठरोगका लक्षण हुन् । यो रोगको औषधी नेपालमा निशुल्क पाइन्छ र नियमित सेवन गर्नाले यो रोग निको पनि हुने गर्दछ ।
कुष्ठरोगको बारेमा परम्परागत दैवी अभिसाप तथा वंशानुगत भन्दै समाजमा अफबाह फैलाईदा रोगको कारण भन्दा सामाजिक डरको कारणले मान्छेहरुमा त्रास फैलिएकोले सो लाई चिर्न धेरै भन्दा धेरै प्रचारप्रसार र विभिन्न चेतनामूलक कार्यक्रम गरिनुपर्ने जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले जनाए ।















प्रतिक्रिया