इजरायल । वैज्ञानिकहरूले इजरायलको गुफामा पन्ध्र वर्षअघि एक मानव अवशेष फेला पारेका थिए । प्रयोगशाला परीक्षणपछि जुन नतिजा सार्वजनिक भएको छ, त्यसले हाम्रो पुर्खाको सुरूआती बसाइसराइ इतिहास नै पुनर्लेखन गर्नुपर्नेछ ।
वैज्ञानिक टोलीले सन् २००२ मा इजरायलको मिस्लिया गुफाभित्र उत्खनन् गर्ने क्रममा एउटा हड्डीजस्तो अवशेष फेला पारे । त्यो मान्छेको च्यापुको हड्डी हुनसक्ने उनीहरूको अनुमान रह्यो । झट्ट हेर्दा हजारौं वर्ष पुरानो देखिन्थ्यो ।
उनीहरूले त्यो अवशेष विभिन्न देशका प्रयोगशालामा परीक्षण निम्ति लगे । थुप्रैचोटि ‘कार्बनडेटिङ’ गरे । यसको अन्तिम परिणाम बिहीबार सार्वजनिक भएको छ, जसअनुसार यो च्यापुको हाड १ लाख ७७ हजारदेखि १ लाख ९४ हजार वर्ष पुरानो भएको उनीहरूले अनुमान गरेका छन् ।
यो अनुमान पुष्टि भए, अहिलेसम्म लेखिएको मानव स्थानान्तरण इतिहास पुनर्लेखन गर्नुपर्नेछ । मानव बसाइसराइ इतिहास अफ्रिकाबाट सुरु भएको मानिन्छ । वैज्ञानिकको यो खोजले हाम्रो इतिहासलाई ५० हजार वर्ष पछि धकेल्नेछ ।
यसअघि इजरायलमा भेटिएका अवशेषले आधुनिक मानव इतिहास ९० हजारदेखि १ लाख २० हजार वर्षपहिले अफ्रिकाबाट सुरु भएको संकेत गरेका थिए । अहिले भेटिएको च्यापुको हाडले मानवशास्त्रीहरूको यो व्याख्या बदलिने भएको छ ।
खोजमा मान्छेको च्यापुको माथिल्लो हाड भेटिएको हो । यसमा ८ वटा दाँत छन् । सात वटा सामान्य दाँत छन् भने एउटा ‘कुकुर’ दाँत छ, जो अलिकति भाँचिएको देखिन्छ ।
लामो समयदेखि चुनढुंगाका भीरमा गुफा बनाएर बसेका प्राचीन मानवबारे अध्ययन गरिरहेको छ । यो क्षेत्रमा भेटिएका केही सामग्री १ लाख २० हजारदेखि २ लाख ५० हजार वर्ष पुरानो भएको अनुमान पुरातत्वविदहरूले गरेका छन् ।
यहाँ ओछ्यानजस्ता अन्य प्रमाण पनि भटिएका छन् । यसबाट त्यो बेलाका मान्छे आधारशिविरजस्तो बनाएर बसेको अनुमान छ । उनीहरू मृगजस्ता जनावर शिकार गर्थे र कछुवा, खरायो, अस्ट्रिचका अन्डा खान्थे । – एजेन्सी













प्रतिक्रिया