१ कार्तिक २०८३, आइतबार

आइफोन टेन बन्द हुने, मूल्य घटाएर बजारमा ल्याइने

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क, १२ माघ । नयाँ आइफोन बजारमा ल्याउनुअगावै एप्पलले आइफोन टेन (एक्स) को उत्पादन बन्द गर्ने भएको छ ।

गत वर्ष सेप्टेम्बरमा सार्वजनिक गरिएको आइफोन टेन कम्पनीको सबभन्दा महँगो मोडल हो ।

सार्वजनिक भएयता यसको बिक्री क्रमशः घट्दै गएको थियो । कम्पनीले आशा गरेबमोजिम बजार विस्तार गर्न नसकेपछि अन्ततः उत्पादन नै बन्द गर्ने तयारी गरेको फोर्ब्सले जनाएको छ ।

यसको सट्टामा कम्पनीले यो वर्ष अन्त्यमा दुई नयाँ मोडलका आइफोन ल्याउनेछ । जसको निर्माण आधार आइफोन ८ नै हुनेछ ।

फोर्ब्सका अनुसार ती मोडलमा आइफोन टेनका जस्ता सुविधा भने हुन्नन् । थुप्रै विशेषता कटाएर बल्ल यसको मूल्य कम हुनेछ । त्यसपछि भने एप्पलले कम मूल्यमा नयाँ आइफोनको बजार विस्तार गर्न सक्ने अनुमान छ ।

नयाँ मोडलको नाम ‘आइफोन टेन प्लस’ र ‘आइफोन टेन एसइ’ राखिने बताइएको छ । ‘आइफोन टेन प्लस’ मा ६.५ इन्चको ओएलइडी ‘आइफोन टेन एसइ’ मा ६.१ इन्च एलसिडी डिस्प्ले हुनेछ । हालको आइफोन टेनमा ५.८ इन्च स्क्रिन छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अब आउने मोडलमा आइफोन टेनको जस्तो ‘फेसआइडी’ नहुने बताइएको छ । यो ‘फिचर’ हटाएसँगै कम्पनीले यसको मूल्य कम गर्न सक्नेछ ।

योबाहेक कम्पनीले अन्य फिचर पनि हटाउन सक्नेछ । आइफोन टेन बिक्री कम भएपछि कम्पनीले यसको मूल्य कम गर्न धेरै प्रयास गरेको थियो । यति धेरै फिचर दिएर मूल्य कम गर्न नसकेपछि उत्पादन नै बन्द गर्ने तयारी गरेको हो ।

फिचर घटाएर ल्याउने फोनले ग्राहक आकर्षित गर्छ–गर्दैन भन्ने कम्पनीलाई अर्को चुनौती थपिएको छ । – एजेन्सी