
– वि.वि. श्रेष्ठ
सुत्दा नेपालमा सुतेको र व्युझिँदा भारत बनिसकेझै आम नेपाली जनताहरु भोलिका दिनमा उठ्दा हामी सबै भारतिय बन्नुपर्ने त हैन ? सरकार र त्यसको नेतृत्वकर्ताको लाचारीपन र अदुरदृष्टिता आमनेपाली जनताले किन भोग्ने ?
जनताको न्यूनतम आवश्यकताको पूर्ति, स्वास्थ्य, शिक्षा, रोजगार र शान्तिसुरक्षा सरकारको मुख्य प्राथमिकता हो । आफ्नो भूभागको रक्षार्थ उभिनु नै सरकारको पहिलो प्राथमिकता हो । तर, नेपाल सरकारको नालायकीपनको कारण आजभन्दा भोलि हामी नेपालको भूभाग खुम्चिरहेका देखेका छौं। यो एउटा कुनै व्यक्तिले समाधान गर्ने विषयवस्तु पनि होइन, यसका लागि सरकार र यसको संयन्त्र नै लागेर देशको सिमाना रक्षा गर्नुपर्दछ । सिमा रक्षाका लागि भन्दै सरकारले नेपाली सेना वनाएको हुन्छ, त्यसको मुख्य काम नै नेपालको भूभागको रक्षा गर्ने हो भलै देशमा युद्ध हुँदा लडाईँको मैदानमा उभिने सेना कुटनीति कार्यमा सन्तुलित रहेको हुन्छ । यसको सबैभन्दा पहिलो पाटो भनेको सरकारको दायित्व नै हो । छिमेकी देश भारत होस् वा चीनले नेपालको भूभाग मिचिएको घटना समयक्रममा विभिन्न पटक दोहरियता पनि यसले देशको सिमानाको रक्षा गर्न सकेन । भौगोलिक दृष्टिकोणले नेपाल सानो भएता पनि सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाभिमानमा नेपाल पनि विश्वको एउटा सदस्य हो । स्वतन्त्र राष्ट्रको हैसियतमा रहेको नेपाल किन यति धेरै छिमेकी राष्ट्रहरुवाट पेलिएको, थिचिएको र मिचिएको छ त ? हिजो विश्व सामु रहेको नेपालको हैसियत किन खस्किँदै गइरहेको छ ? के भूगोल सानो हुँदैमा सार्वभौमसत्ता र स्वतन्त्रता पनि सानो हुन्छ र ? प्राकृतिक न्यायको सिद्धान्त र न्याय सायद विश्वको सबै देशमा समान हुने कुरामा कुनै दुविधा छैन र रहँदैन पनि । त्यसो भए नेपाल किन यति धेरै प्रताडित बनिरहेको छ ? गम्भीर प्रश्न खडा भइरहेको छ ।

न्याय नपाए गोर्खा जानु भन्ने उखान त्यसै वनेको हैन । आज पनि विश्व इतिहासमा नेपाल, नेपाली र विशेष गरेर गोर्खालीको विशेष चर्चा छ, त्यसो भए त्यस्तो देशका नागरिक हामी आज किन छिमेकी देश भारतको हेपाहामा बाँच्नुपरेको छ ? अन्र्तराष्ट्रिय क्षेत्रमा समेत, स्वतन्त्र, सार्वभौमसत्ता देशको रुपमा दर्ज भएको नेपाल र नेपालीको हैसियत नेपालको सीमा खुम्चिएझैँ खुम्चिएको यथार्थ हामीसामु छ । वीरगंजको छपकैया मात्र होइन, सीमा जोडिएको हरेका नाका मिचिएको छ । नेपाली जनता कुटिएका छन् । भारतीयबाट हेपिएका, थिचिएका र मारिएका छन । तर पनि सरकार नेपाल र नेपाली हुनुमा गर्व गरिरहेको छ । हिजोको नेपाली हुनुको परिचय र आजको नेपालीको पहिचानमा आकाश जमिनको फरकपन हुनुमा आमजनता कि सरकार जिम्मेवार ? मुख्य छलफलको विषय बन्नु जरुरी भइसकेको छ । देशमा सरकार हुनु र नहुनुको अर्थ छैन भन्नेसम्म जनता पुग्नु भनेको सरकारको कमजोरी शिवाय केही हुन सक्दैन । हुन त जनता पनि बदलिँदो समय र संचारको वढ्दो प्रभावसँग देखिएको स्वार्थताको समिश्रणले हिजोको नेपालीको पहिचानको निरन्तरता नभएको कटु सत्यतालाई आत्मसात गर्न जरुरी छ । यज्ञपी देश र राज्यसँग सम्वन्धित विषयमा सरकार नै मुख्य पात्र बन्नुपर्दछ, तर नेपालको सन्दर्भमा नेपालको भूभाग मिचिँदा समेत रमिते बन्नु भनेको कालान्तरमा नेपाल र नेपालीको पहिचान धुमिल गर्ने र सिक्किमीकरणतर्फ उन्मुख गराउने शिवाय केहि हुन सक्दैन । साँच्चै नै रवि लामिछानेले भनेझै घरको सामान्य जग्गा विवाद हुँदा आफ्नै दाजुभाईबीच काटमार हुने नेपालमा आफनो देशको भूभाग मिचिँदा चूँसम्म नबोल्ने सरकार सरकार नभई भारतको गुलामी शिवाय अन्य केही हुन सक्दैन । नेपालको सिमाना विरगंजको छपकैयामा भारतले भर्खर मात्र सिमा मिचेर जंगे पिलर वनाईरहँदा पनि भारतको कठपुतली शेरबहादुर देउवा सरकारले चूँसम्म पनि भन्ने हिम्मत नराख्नुले नेपालको जनतामा सरकार देश र जनताप्रति जवाफदेही छैन भन्ने कुरा प्रष्ट पारेको छ । सीमा पुनः नामांकनका नाममा नेपालको भूभाग मिचिँदा समेत सरकारका अभिन्न अंग नापी विभाग र त्यसमा कार्यरत इन्जिनियरहरु भारतको भाषा बोलेर झन् भारतको नै पक्षपोषण गरिरहँदा आम नेपाली जनताको मनमा कस्तो बिझ्यो होला ? नेपालको सीमानामा बसेर नेपाली भूभागको रक्षार्थ बस्ने आम सीमा रक्षकहरु दिनहुँ भारतको हेपाहा प्रवृत्तिको शिकार भइरहँदा, मरिरहँदा, कुटाई खाइरहँदा कस्तो भयो होला ? सायद त्यो सोच्ने नेपालीपन हराइसक्यो होला । हिजोको नेपालको नक्सा र आजको नेपालको नक्सा आकाश पाताल परिवर्तन भइसकेको छ । यही पृष्ठभूमिमा रहेर जीउनुको पीडा सायद देशलाई माया गर्ने आमनेपाली सीमित दाजुभाई शिवाय कसलाई नै मतलब रह्यो र ? फगत अनावश्यक विषयमा नेपाल बन्द गरेर नेपालीको विशिष्ट पहिचान विश्व सामु गराउने हामी नेपाली भारतले सीमा मिच्दा आवाज उठाउने दुस्साहस कस्ले गरोस् ? घरभित्रको सामान्य झगडालाई अन्तर्राष्ट्रियकरण गर्न सक्ने हामी नेपाली आफ्नो देश नै हराइरहँदा, सीमा र जंगे पिलर मिचिइरहँदा रमिते बनेर बस्नु भनेको लाचारी र खोक्रो राष्ट्रियता शिवाय केही हुन सक्दैन । भारतले नेपालको हरेक भूभाग मिचिरहँदा आमनेपाली जनताले पिटाई खाइरहँदा देश बनाउने राजनैतिक दल, तिनीहरुको नेतृत्व र सरकार के हेरिरहेका छन् ? प्रश्न गम्भीर रहेको छ । देश र राष्ट्रियता नै नभए के का नेता, के का नेतृत्व ? कहिलेसम्म भारतले सिमा मिचिँदासम्म आम नेपाली जनताले सहनुपर्ने हो ? जबाफ चाहियो सरकार । होइन भने सरकार भन्नुको कुनै औचित्य छैन ।
नेपालको सिमाना विरगंजको छपकैयामा भारतले भर्खर मात्र सिमा मिचेर जंगे पिलर वनाईरहँदा पनि भारतको कठपुतली शेरबहादुर देउवा सरकारले चूँसम्म पनि भन्ने हिम्मत नराख्नुले नेपालको जनतामा सरकार देश र जनताप्रति जवाफदेही छैन भन्ने कुरा प्रष्ट पारेको छ ।
विरगंजको छपकैया त एउटा प्रतिनिधि घटना मात्र हो । दिनहुँ यस्ता घटना घटिरहेको कस्ले देख्ने ? भारतविरुद्ध सिमा रक्षक बनेर भोग्नु परेको पीडा र आमचित्कार सुन्ने कस्ले ? सुशासनका नाममा भष्ट्राचारको जलजलमा फसेको नेपाली नेताहरुको फेरि पनि फुस्रो भाषण सुनेर अब नेपाल र नेपालीको परिचय स्थापित हुन सक्दैन भन्ने कुरामा अव भ्रम नपाले हुन्छ । देशको सीमा मिचिरहेको छ, नेपाली दाजुभाई मरिरहेका छन्, कुटिइरहेका छन्, सरकार अब कहिलेसम्म चल्दछ सरकार ? देश नै नभए, केको सरकार ? केको प्रधानमन्त्री र मन्त्री ? केका लागि राजनैतिक दलहरु ? हिजो पुर्खाले आज्र्याको मुलुक यति चाँडै विलिन हुँदासम्म पनि नदुख्ने सरकार भो अब ठूला ठूला कुरा नगरौँ ।
साँच्चै एउटा नेपाली मर्दा नरुने सरकार । साँच्चै जनता रोइरहँदा पनि आँशु पुछन नखोज्ने सरकार । देश नै हार्दा पनि नदेख्ने सरकार । सामान्य औषधोपचार पनि नपाई जनता मर्ने देशका सरकार । भष्ट्राचारले जकिडिएको सरकार । देशमा सँधै अस्थिरता गराई राख्ने सरकार । विदेशी भूमिमा सँधै मजदुर गर्ने जनता भएको देशको सरकार । देशको सीमा मिच्दा पनि मिचेको छैन भन्ने सरकार । देशमा नाकावन्दी हुँदा समेत नाकावन्दी भएको छैन भन्ने सरकार । यतिधेरै पीडित र प्रताडित, जीवन दाउमा राखेर सधै बाँच्नुपर्दछ भने सरकार तिम्रा कुनै आवश्यकता छैन । एकछिन पनि त्यो सरकारमा वस्ने अधिकार छैन । नैतिकता र देश र जनताप्रतिको जवाफदेहिता त छैन नै, थोरै भएता पनि नेपालीपन छ भने अन्य कुरा नसके पनि देशका सीमा मिचिँदा त बोल सरकार !
जीवन र जगतका सामान्य परिभाषा पनि वुझ्न नसक्ने सरकार । सरकारको यही नालायकीपनले कतै नेपाल र नेपालीको त्यो परिचय नै विलीन हुने त हैन ? आमनेपाली जनताले बुझ्नुपर्ने दिन आएको छ । दाजुभाईको झगडामा मर्न र मार्न तैयार हुने हामी नेपाली अब देशको सिमाना मिचिँदा देशको सीमा रक्षाको लागि ढाल बनेर उभिनुको विकल्प छैन । नेतृत्वको अवुझपनको फाइदा उठाउँदै भारतले गरेको हेपाहा प्रवृत्तिको खुलेर विरोध र लडाईँ गर्नु नै अहिलेको आवश्यकता हो । नभए सरकारको मुख मात्र ताकेर बस्ने हो भने हिजो विरगञ्जको छपकैयाका वासिन्दा हिजो सुत्दा नेपालमा सुतेको र व्युझिँदा भारत बनिसकेझै आम नेपाली जनताहरु भोलिका दिनमा उठ्दा हामी सबै भारतिय बन्नुपर्ने त हैन ? सरकार र त्यसको नेतृत्वकर्ताको लाचारीपन र अदुरदृष्टिता आमनेपाली जनताले किन भोग्ने ? नेपाल र नेपाली जनताको विश्वमा नै अविष्मरणीय छाप छोडेका पुर्खाका सन्तान हामी अब घर र परिवारका लागि हैन, देश र जनताका लागि लड्ने दिन आएको छ । देश नै नरहे केको नेपाली ? केको नेपाल ? अदूरदृष्टि सरकारको यो रवैया कदापी पाच्य हुन सक्दैन, समयमा चेतना भया्….।















प्रतिक्रिया