काठमाडौं । उच्च रक्तचाप अर्थात ब्ल्ड प्रेसरका बिरामीले आफ्नो स्वास्थ्यलाई नियमित चेकजाँच गराइ रहनु पर्छ । अन्यथा यसबाट ज्यान पनि जान सक्छ ।
उच्च रक्तचाप भएका बिरामीले मुटुको इसिजी, मिर्गौलाको अवस्था, कोलेस्ट्रोल तथा लिपिड प्रोफाइल, रगतमा ग्लुकोज, सोडियम तथा पोटासियमको मात्रा, पिसाबको परीक्षण नियमित गराउनुपर्छ ।
त्यसैगरी हेमोग्लोबिन, युरिक एसिड, थाइरोइड, इकोकार्डियोग्राफी, डोप्लर स्टडी, सिटी स्क्यानिङ, रगत र पिसाबमा हर्मोनको लेबल, एबिपी पनि नियमित रुपमा चेकजाँच गराउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।
यसरी गरिने परीक्षणबाट मुख्यतया दुई कुराको जानकारी हुन्छ । एउटा कार्टिनिन बढी भएर मिर्गौलाको कारणले रक्तचाप बढेको हो वा थाइराइड हर्मोन बढी भएकाले यस्तो समस्या हुन पुगेको हो । दोस्रोचाहिँ बढेको रक्तचापले मुटु, मस्तिष्क, मिर्गौलालगायतका अंगमा असर पारेको छ वा छैन ।
मुटुको इसिजी तथा इकोकार्डियोग्राफी गर्दा उच्च रक्तचापले मुटुलाई कुन तहको असर पारेको छ भन्नेबारे जानकारी हुन्छ । यसले उपचार प्रक्रियालाई पनि सहज बनाउँछ ।
रक्तचापले गर्दा मुटुको बायाँ भेन्ट्रिकल सुन्निएको वा कडा भएको छ भने निश्चित समूहको औषधि सेवन गर्दा फलदायी हुन्छ । यस्तो जानकारी पनि जाँचपछि मात्र थाहा लाग्छ ।
रक्तचाप बढी भएका बिरामीलाई हृदयाघात, पक्षघात तथा अन्य जटिल समस्या पनि हुन सक्छ । त्यसैले विशेष परीक्षण आवश्यक हुन्छ ।
मुटु मानव शरीरको अति संवेदनशील अंग हो । मुटु नियमित रूपमा खुम्चने र फुक्ने गर्छ, जसलाई सामान्य भाषामा मुटुको धड्कन भन्छौँ । शरीरका सम्पूर्ण अंगमा रक्तसञ्चार गर्नका लागि मुटुले निरन्तर पम्पको काम गरिरहेको हुन्छ ।
मुटु खुम्चँदा शरीरका विभिन्न अंगमा शुद्ध रगतको सञ्चार हुन्छ भने फुक्दा शरीरका विभिन्न अंगबाट आएको अशुद्ध रगत मुटुमा जम्मा हुन्छ । यसरी जम्मा भएको रगत अर्कोपटक खुम्चँदा रक्तनलीहरूमार्फत अगाडि बढ्छ ।
मुटुमा हुने सिस्टोल र डायस्टोलको निरन्तर प्रक्रियाले समस्त शरीरमा रक्तप्रवाह गर्छ । रक्तनलीमार्फत रक्तसञ्चारमा उत्पन्न हुने विशेष दबाबलाई नै रक्तचाप भनिन्छ ।
मुटु खुम्चिएको वेला मुटुबाट वेगसाथ निस्केको रगतले रक्तनलीमा दिएको चापलाई सिस्टोलिक रक्तचाप भनिन्छ । मुटु एकपटक धड्किसकेपछि फुकेको अवस्थाको चापलाई डायस्टोलिक रक्तचाप भनिन्छ । स्वस्थ व्यक्तिको रक्तचाप औसतमा १२० बाई ८० मिमि हुन्छ ।















प्रतिक्रिया