चापागाउँ, १९ मंसिर । लगनखेल–गोदावारी बाटोमा सवारीसाधन सञ्चालनमा शुक्रबार अवरोध आएको छ ।
पछिल्लो समय सरकारले गरेको नगरपालिका घोषणामा असन्तुष्ट हरिसिद्धि गाविसका बासिन्दाले सवारीसाधन आवतजावतमा अवरोध गरेका हुन् ।
आफ्नो गाविसलाई स्थानीयको चाहना विपरीत ललितपुर उपमहानगरपालिकामा गाभिएकोमा विरोध स्वरुप उनीहरुले एक घन्टा सवारी चल्न नदिएको स्थानीय बासिन्दा अमृतबहादुर महर्जनले बताउनुभयो ।
यसअघि हरिसिद्धि गाविसलाई गोदावरी नगरपालिकामा समावेश गर्न नगर निर्धारण समितिले सरकारलाई सिफारिस गरिएकोमा सो बमोजिम हुनुपर्ने माग राख्दै आन्दोलनको सुरुवात गर्नुपरेको महर्जनले जानकारी दिनुभयो ।
गोदावरी नगरपालिकामा राख्न हरिसिद्धि र ठैव गाविसका सर्वदलीय प्रतिनिधिले संयुक्तरुपमा निर्णय गरी नगर निर्धारण समितिमा आफ्नो माग राखिएकोमा यस विपरीत कार्य भएकाले आन्दोलन गर्नुपरेको अर्का स्थानीयवासी वीरेन्द्र महर्जनले जानकारी दिनुभयो ।
उहाँले कुनै पनि हालतमा हरिसिद्धि गाविसलाई गोदावरी नगरपालिकामा समावेश हुनुपर्ने बताउँदै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।















प्रतिक्रिया