काठमाडौँ, १९ मंसिर । नेपालको राजनीति मात्र होइन नेपालको सरकारी च्यानल नेपाल टेलिभिजन समेत मोदीप्रति कति थर्कमान रहेछ भन्ने कुराको राम्रो उदाहरण तितो सत्यको नियमित प्रसारण रोकेर देखाएको छ ।
हरेक बिहीबार बेलुकी आठ बजेको नेपाली समाचारपछि प्रसारण हुने ‘तितो सत्य’ नामक हास्य व्यंग्य टेली श्रृखला हिजो पनि प्रसारण भयो ।
तर, नयाँ कथाबस्तुमा होइन । पुरानै श्रृखला पुनः प्रसारण भयो । धेरैले त्यसका निर्देशकहरु दिपकराज गिरी र दिपाश्री निरौला कतै विदेश घुम्न गएकाले त्यस्तो भएको होला भन्ने अनुमान लगाए ।
तर, जब दिपकराजले नै सामाजिक सञ्जाल फेसबुकबाट तितो सत्य प्रसारणमा रोक लगाएको रहस्य खोतले त्यसपछि नेपाल टेलिभिजन मोदीप्रति कति थर्कमान रहेछ भन्ने कुराको तथ्य पत्ता लाग्यो ।
दिपकराज गिरीले मोदीको भूमिकामा एक कलाकारलार्इ उतारेर नेपालको विकासबारेमा ब्यंग्य गरेको श्रृंखला नेपाल टेलिभिजन सेन्सर बोर्ड शाखाले रोक लगाएको फेसबकुमार्फत सार्वजनिक गरे ।
‘टेलिभिजनमा मोदीलार्इ गरिएको ब्यंग्यले सरकार र छिमेकी राष्ट्रको सम्बन्धमा खलल पुग्ने भन्दै प्रसारणमा रोक लगाइयो,’ दिपकराजले भनेका छन्, ‘ बिहीबारको श्रृंखलामा गाउँको विकासमा सुस्तता आएपछि नक्कली मोदी बनाएर ल्याएपछि विकासको गतिले तिब्रता पाएको सन्देश देखाउन खोजिएको थियो ।’
उनले भारतमै पनि मोदीको क्यारिकेचर गर्नमा सञ्चारमाध्यममा कुनै रोकछेक नलगाइएको बताउँदै मोदीको क्यारिकेचर गरिएको श्रृंखलाले दुर्इ देशबीचको सम्बन्धमा आँच नआउने भन्दै रोक लगाउनु दुखद भएको बताएका छन् ।
उनले लोकतन्त्र कागजमा होइन, ब्यबहारमा हुनुपर्ने भन्दै आफ्नो देशमा सम्मान होइन चाकडी बिक्दो रहेछ भनी गतिलो व्याग्य समेत गरेका छन् ।
दिपकराजले के लेखे फेसबुकमा ?
मोदीको कारणले तीते सत्य नआउने
….
आज प्रसारण हुनु पर्ने तीते सत्यको श्रृंखला मोदीको नक्कल गरिएको कारण देखाइ प्रसारणमा रोक लगाइएको छ । यो श्रृंखलामा गाँउमा बिकाश काममा शिथिलतादेखि एक ब्यक्तिलार्इ नक्कली मोदी बनाएर ल्याएपछि बिकाश धमाधम गर्न थालिन्छ।
के कारण देखायियो सम्बन्धीत पक्षबाट ?
१) मोदी जस्तो ब्यक्तिको क्यारिकेजर गर्नु हुन्न
२) उहाँ जस्तो ब्यक्तिको क्यारिकेचर गर्दा भोलि जवाफ दिनु पर्ने हुन्छ
मेरो जवाफ
१) भारतमा नै मोदी लगायत नेताहरूको मज्जाले क्यारिकेचर गरिन्छ, लोकतन्त्रको सुन्दरता नै यहि हो जस्मा हरेक प्रसिद्ध ब्यक्तिको नक्कल वा व्यड़ग्य गर्न पाइन्छ
२) तीतो सत्यमा देखाइएको बिषयमा दुइ देश बिचको सम्बन्धमा आँच आउने कुनै बिषय छैन न मोदी लाइ नराम्रो देखाइएको छ तथापी …
तीतो सत्य यहि रहेछ हाम्रो देशमा सम्मान होइन चाकडि बिक्छ,
लोकतन्त्र कागजमा होइन ब्यबहारमा हुनु पर्छ।
संबाद हिन्दी भयो पनि भनियो, मोदीको अभिनय गर्दा शायद भाषा चाइनिज हुन सक्दैन…
सम्मान गरौ चाकडी होइन















प्रतिक्रिया