१ कार्तिक २०८३, आइतबार

रौतहटमा वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १९ मंसिर । जिल्ला वन कार्यालय रौतहटले दिगो रुपमा व्यवस्थापन गरी जैविक विविधता  संरक्षण गर्न धन्सार क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू गरेको छ ।

दसवर्षे वन संरक्षण नीतिअनुरुप जिल्ला वन कार्यालय रौतहटले धन्सार क्षेत्रको जङ्गलमा वैज्ञानिक वन व्यवस्थापन प्रणाली कार्यक्रम सुरु गरेको हो ।

इलाका वन कार्यालय धन्सार क्षेत्रअन्तर्गत पूर्व पश्चिम राजमार्गदेखि उत्तरतर्फको एक हजार ५२.९२ हेक्टर क्षेत्रफलमा धन्सार ब्लक फरेस्ट नामकरण गरी दिगो व्यवस्थापन गर्न लागिएको सहायक वन अधिकृत रामप्रसाद साहले जानकारी दिनुभयो ।

वैज्ञानिक व्यवस्थापन पद्धतिबाट वनको हैसियतमा सुधार गराई वनको सञ्चित मौज्दात र उत्पादन क्षमतामा वृद्धि गराउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

सो क्षेत्रको जङ्गलमा मुख्य प्रजातिका रूखमा साल, अस्ना, कर्मा, बांझी, जामुन र सिमल रहेका छन् भने गैरकाष्ठ प्रजातिमा कुरिलो, हर्रो, बर्रो, बनहल्दी, भोर्ला, अमला र बेल रहेका छन् । १० वर्षे अवधिको उक्त कार्यक्रम सञ्चालन भएपछि क्षेत्रबाट दुई लाख ४६ हजार ४४९ क्युबिक काठ दाउरा उत्पादन भई करिब रु १५ करोड १४ लाख राजस्व आम्दानी हुने लक्ष्य राखिएको छ ।

वैज्ञानिक वन व्यवस्थापन प्रणालीको माध्यमबाट बिरुवा पुनः स्थापनलाई बढावा दिने, काठदाउरा सङ्कलन गर्ने, वृक्षरोपणलाई बढावा दिने उद्देश्य रहेको जिल्ला वन अधिकृत बाबुराम भण्डारीले बताउनुभयो ।