काठमाडौं, ५ माघ । सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी जवान डिल्ली भट्टराईलाई वर्ष जवान छनोट गरेको छ । सशस्त्र प्रहरी बलले संगठनमा पु-याएको योगदानको उच्च कदर गर्दै भट्टराईलाई वर्ष जवान (२०७४) छनोट गरेको हो ।
९ माघमा मनाउन लागिएको वार्षिकोत्सवमा भट्टराईलाई वर्ष जवान घोषणा गरिनेछ । सशस्त्रले निशान पाएको ७ कात्तिकलाई स्थापना दिवस मान्दै आएकोमा यस वर्ष निर्वाचनका कारण वार्षिकोत्सव कार्यक्रम ९ माघमा मनाउन लागिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
सशस्त्र प्रहरी बलले वर्षभरी उत्कृष्ट काम गर्ने तल्लो तहका कर्मचारीहरू जवानदेखि वरिष्ठ हबल्दारसम्मको कामको उच्च मूल्यांकन गर्दै उनीहरूबाटै वर्ष जवान छनोट गर्दै आएको छ । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले बिल्लादार जवानमा ऊर्जा प्रदान गर्न २०६९ सालदेखि वर्ष जवान घोषणा गर्न थालेकोमा सशस्त्रले यसलाई निरन्तरता दिँदै आएको छ ।
वर्ष जवान घोषणा भएकालाई सशस्त्र प्रहरी बलले एफपीयू मिसनमा उच्च प्राथमिकता दिँदै आएको छ । यसैगरी, वर्ष जवान घोषणा भएका कर्मचारीका दुई सन्तानलाई कल्याणकारी कोषमार्फत १२ कक्षासम्म अध्ययन गर्न वार्षिक २४ हजार रुपैयाँका दरले छात्रवृत्ति दिने गरिको छ । यस्तै, सशस्त्र प्रहरी महानिरीक्षकबाट छातीमा लगाउन वर्ष जवानको ट्यागसमेत प्रदान गर्ने गरिन्छ । वर्ष जवान घोषणा भएकालाई संगठनभित्रै पनि उच्च मूल्यांकनका साथ हेर्ने गरिन्छ ।
तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले २०६६ सालमा सशस्त्र प्रहरी बलमा कल्याणकारी कोषको स्थापना गरेका हुन् ।
यसपटक वर्ष जवान बन्न सफल भट्टराई सुर्खेत दशरथपुर–४ का स्थायी बासिन्दा हुन् । उनी अहिले विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत छन् । सशस्त्र प्रहरी जवान भट्टराईलाई कुनै पनि दुर्घटना भएको अवस्थामा सबैभन्दा पहिला सम्झिने गरिन्छ । उद्धारका क्रममा उनले खेल्ने गरेको साहसिक भूमिका, उनको निडरपन, कार्यकौशलताका कारण उनी पहिलो रोजाइमा पर्ने गरेका हुन् ।
बंगलादेशबाट तीन महिना लामो गोताखोर तालिम लिएका भट्टराईलाई सशस्त्र प्रहरीभित्र साहसिक उद्धारकका रूपमा चिनिने गरिएको छ । तालिमका क्रममा पानीको सतहबाट १८० फिटमुनिसम्म गएको उनको अनुभव छ ।
गत ११ कात्तिकमा राजविराजबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित घाटबेंसीबाट त्रिशूली नदीमा खसेको थियो । उनै जवान भट्टराई र सहायक हबल्दार शिरबहादुर थापाले ८ घण्टा लगाएर पानीभित्रबाट ३१ जनाको शव निकालेका थिए । उनीहरूको यो कार्यको सर्वत्र प्रशंसा भएको थियो ।
गत असारमा चितवनको भरतपुर महानगरपालिका–२३ नयाँबस्तीमा ३५ फिट गहिराइको इनार सफा गर्न जाँदा अक्सिजन कमीका कारण मृत्यु भएका युवकको शवलाई भट्टराईले नै बाहिर निकालेका थिए । प्रहरी र नेपाली सेनाको टोलीले शव निकाल्न नसकेपछि सशस्त्रको उद्धार टोली त्यहाँ गएको थियो ।
यस्तै, केही समयअघि डुंगा चढेर फेवातालमा माछा मार्न जाँदा डुबेर मृत्यु भएका दुई जनाको शव पनि जवान भट्टराई र सहायक हबल्दार शिरबहादुर थापाले नै निकालेका थिए । उनीहरूले २५ फिट गहिराईबाट तीनै जनाको शव निकाल्न सफल भए । त्यसबेला मृतकको उद्धारमा गएका नेपाल प्रहरीका एक जना जवानको पनि डुबेर मृत्यु भएको थियो । उनको शव पनि यी दुई जनाले नै निकालेका थिए ।
यस्तै, फेवातालमै पानी भरेर डुंगा डुब्दा बेपत्ता भएका दुई जनाको शव पनि ३५ फिट गहिराइबाट भट्टराई र थापाले नै निकालेका थिए । पोखराको सेती नदीमा नुहाउन जाँदा एक जना युवक र एक जना युवतीको डुबेर मृत्यु भएको थियो । उनीहरूको शव साता दिनपछि खोंचमा अड्केको अवस्थामा भेटिएपछि सशस्त्रको टोली उद्धारका लागि गएको थियो । त्यहाँ पनि उद्धारका लागि यिनै भट्टराई र सहायक हबल्दार थापालाई परिचालन गरिएको थियो । उनीहरू घटनास्थल पुग्दा शव कुहिइसकेको थियो । उनीहरूले ‘रोपट्विन मेथड’बाट कुशलतापूर्वक शवलाई बाँधेर निकाल्न सफल भएका थिए ।
६ जेठ २०७२ मा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवन चण्डी भन्ज्याङ गाविस–५ स्थित कालीखोलामा पहिरोले बगाउँदा मृत्यु भएका ५० वर्षीय मंगले चेपाङको शव पनि सशस्त्र प्रहरी जवान भट्टराईले साहसिक ढंगले -याप्लिङ, क्लाइम्बिङ गर्दै त्यस ठाउँमा पुगेर भीरको ढुंगामा अड्किएको शवलाई सजगताका साथ विस्तारै तानेर काँधमा राखी सुरक्षितसाथ भीरबाट ल्याउन सफल भएका थिए ।
धादिङको बैरेनीस्थित त्रिशूलीमा नुहाउन जाँदा डुबेर मृत्यु भएका एक व्यक्तिलाई यिनै भट्टराईले ३० फिटमुनिबाट निकाल्न सफल भएका थिए । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि उनीसहितको सशस्त्र प्रहरीको गोताखोर टोली त्रिशूली नदीमा परिचालन भएको थियो । तर, घिमिरेलाई भने फेला पार्न सकेन ।
वर्ष जवान हुन सफल भट्टराईले दुई वर्षअघि जाजरकोटस्थित भेरी नदीमा भएको बस दुर्घटनाका ४७ जनाको शव पानीबाट निकाल्न उल्लेख्य भूमिका खेलेका थिए । उनले हालसम्म डेढ सयबढी शवलाई विभिन्न ठाउँबाट बाहिर निकालिसकेका छन् ।












प्रतिक्रिया