३० आश्विन २०८३, शुक्रबार

प्रहरीमा सँधै यस्तो किन ?

11.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिवजी श्रेष्ठ

२०५१ साल ताका तत्कालिन गृहमन्त्री केपी ओली महेन्द्र पुलिस कम्पाउण्डभित्र प्रवेश गरेछन् । सो खबर लिएर ती डीएसपी दोँडिदै उपत्यका प्रहरी प्रमुख (डीआईजी) रामकाजी बान्तवाको कार्यकक्षमा पुगेर हतारिँदै गृहमन्त्री क्लवमा आएको कुरा एक सासमै सुनाएछन् । बान्तवाले आफ्नै स्वभावमा शान्तसँग भनेछन्, ‘के गरौँ त म ? खुट्टा समात्न जाउँ ? आफ्नै काम होला, आए काम सक्छन्, जान्छन् ।’

तत्कालिन एआईजी रामकाजी बान्तवा उपत्यका प्रहरी कार्यालयको डीआईजी हुँदा सँगै काम गरेका एक प्रहरी अधिकृतले सुनाउँथे– जब उपत्यका प्रहरी कार्यालय भृकुटीमण्डप अगाडि तत्कालिन महेन्द्र पुलिस क्लवमा नै थियो, विक्रम सम्वत २०५१ साल ताका तत्कालिन गृहमन्त्री केपी ओली महेन्द्र पुलिस कम्पाउण्डभित्र प्रवेश गरेछन् । सो खबर लिएर ती डीएसपी दोँडिदै उपत्यका प्रहरी प्रमुख (डीआईजी) रामकाजी बान्तवाको कार्यकक्षमा पुगेर हतारिँदै गृहमन्त्री क्लवमा आएको कुरा एक सासमै सुनाएछन् । बान्तवाले आफ्नै स्वभावमा शान्तसँग भनेछन्, ‘के गरौँ त म ? खुट्टा समात्न जाउँ ? आफ्नै काम होला, आए काम सक्छन्, जान्छन् ।’

यस्ता दृढ मनोबल थिए कुनै दिन नेपाल प्रहरीका अधिकृतहरुसँग । त्यो मनोबल विक्रम सम्वत २०६५ सालसम्म आइपुग्दा यसरी भाँच्चियो कि नेपाल प्रहरीका तत्कालिन आईजीपी (जो अहिले डिल्लीबजार खोरमा छन्), एआईजीहरु आफ्नो म्याद थपाउने ध्याउन्नमा जुनियर अधिकृतले सामान्य रुपमा गरिरहने क्यासिनोमा छापा मार्न आफै पुगे । यी काम देखाए तै ३० वर्षमा म्याद थप हुन्छ कि भन्ने आशामा थिए, तर तत्कालिन गृहमन्त्री बामदेव गौतमले यिनीहरुलाई बिरालोले मुसालाई खेलाएझैँ खेलाउनु खेलाएर घर पठाइदिए । बामदेव गौतमले ३० वर्ष नोकरी पुगेकाहरुलाई अवकाश दिएर ३२ वर्ष नोकरी पुग्न लागेकालाई आईजीपी (यिनी पनि अहिले डिल्लीबजार खोरमै छन्) बनाए ।

प्रहरीभित्र धेरै काबिल, उच्च मनोबल र नैतिक चरित्र भएका अधिकृतहरु छन् । ती अधिकृतहरु जिल्ला र अञ्चलमा आफ्नो क्षमता देखाउँदै अगाडि आउँछन् । एसएसपी, डीआईजीसम्म त्यसलाई कायम राख्ने प्रयासमा हुन्छन् । तर प्रहरीको नेतृत्वमा पुग्ने खेलमा राजनीतिक र प्रशासनिक नेतृत्वले बिरालोले मुसा खेलाएझैँ यसरी खेलाई दिन्छन् कि अनेक खेल पार गरेर प्रहरी नेतृत्वमा पुगेका बिरालोले अनि दोस्रो तहमा पुगेका उच्च प्रहरी अधिकृतहरु त्यहि सातो खाएको मुसा जस्ता तंग्रिर्न नसक्ने अवस्थामा आफ्नो बाँकी अवधि कटाएर घर जाने तयारीमा हुन्छन् ।

बर्तमान प्रहरी नेतृत्वको रस्साकस्सीको असर त अहिलेसम्म सकिएको छैन, जबकी अर्को नयाँ प्रहरी नेतृत्व नै आउने बेला हुन आँटिसकेको छ ।

जब–जब प्रहरीको नेतृत्व परिवर्तनको समय नजिक आउँछ तब यस्ता मुसा बनाउने खेलहरु शुरु हुन्छ । यसमा सम्बन्धित निकाय त सक्रिय हुने नै भए, सँगसँगै ठूला–साना मिडिया हाउसहरु अझै बढि उछाल्न थाल्छन् । अहिले झन सोसियल मिडियाको जमानामा सबैको चासोको विषय बन्न गएको छ, तब सबै आ–आफ्नो डम्फू बजाउँदै प्रहरी अधिकृतलाई सेलिब्रिटी बनाउने र खसाल्ने कार्यमा हात धोएर लागेका हुन्छन् । यो काममा यसरी छताछुल्ल भएर लागिदिन्छन् कि ति प्रहरी नेतृत्वमा पुग्न सफल र असफल दुबै पक्षको बाँकी केही पनि रहदैँन । बर्तमान प्रहरी नेतृत्वको रस्साकस्सीको असर त अहिलेसम्म सकिएको छैन, जबकी अर्को नयाँ प्रहरी नेतृत्व नै आउने बेला हुन आँटिसकेको छ । अनि अघिल्लो प्रहरी नेतृत्वको प्रबल दाबेदार त यही रस्साकस्सीले फरक खेलको खेलाडीको रुपमा उत्तिर्ण नै भइसकेको छ । तर पनि पोहोरको खेलको नतिजाको असर अझै परिरहेछ ।

अझ भनौँ, सम्पूर्ण प्रहरी विभागभित्र नै यसको साइड इफेक्ट परिरहेछ । र, अझ कति लामो अवधिसम्म परिरहने हो भन्नै सकिन्न । यतिसम्म भइसकेको छ कि, प्रहरी प्रमुख हुन पेश गरिएका कार्य सम्पादन मूल्यांकन विवादास्पद देखिएको छ । अवस्था यस्तोसम्म आइसकेको छ कि कुनै दिन प्रहरी प्रमुखका दाबेदार रहेका प्रहरी अधिकृतमाथि नै पक्राउ गर्ने दबाब अस्वीकार गरेको कारण हटाउन खोजिएको समाचारहरु पनि बाहिर आए । जबकी अहिलेका जिल्ला प्रहरी कार्यालय काठमाडौँ प्रमुख एसएसपी रवीन्द्र धानुक र अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले उपत्यकाको सुरक्षा व्यवस्था कायम राख्ने कार्यमा आफ्नो उत्कृष्टता देखाइरहेका छन् । साढेँको जुधाईमा बाच्छाको मिचाई भनेझै धेरै अधिकृतहरु यस काण्डबाट त्रसित छन् । यस्तो परिस्थितिबाट प्रहरीले कहिलेसम्म गुज्रिहरनुपर्ने हो ? यस्तो परिस्थिति श्रृजना हुनुको मुख्य जिम्मेवार को हो ? वर्तमान प्रणाली ? राजनीतिक नेतृत्व ? प्रसाशनिक नेतृत्व ? वा प्रहरी अधिकृत आफै ? यो एउटा सोचनीय पक्ष हो । जबसम्म यस्तो परिस्थितिको अन्त्य हुँदैन, तबसम्म कुनै पनि प्रहरी नेतृत्व र बाँकी रहेका उच्चाधिकारीको मनोबल उच्च हुनै सक्दैन । जब प्रहरी नेतृत्वको नै अवस्था त्यस्तो हुन्छ भने अन्य प्रहरीको अवस्था स्वतः अनुमान गर्न सकिन्छ । जब प्रहरी त्यस अवस्थाबाट गुज्रिरहन्छ, शान्तिसुरक्षाको अनुभूति जनतासम्म पुग्नै सक्दैन । जब जनताले त्यस्तो अनुभूति गर्न सक्दैन, जनताले त्यहाँ सरकार पनि छ भन्ने कुरा महशुस गर्न सक्दैन । त्यसैले सरकारमा रहेका र अब सरकारमा आउनेहरुले यो कुराको महशुस गरेर प्रहरी भित्रको बढुवा प्रणाली पारदर्शी र व्यवस्थित गर्नु जरुरी भइसकेको छ ।

अझ राजनीतिक रुपमा भएको नयाँ व्यवस्थाका प्रदेशस्तरमा सरकार, साँसद अनि प्रहरीको ढाँचाले ल्याउन सक्ने नयाँपन र परिवर्तनसँगै त्यसको असरलाई पनि समयमै व्यवस्थापन पर्ने तयारी गर्न आवश्यक भइसकेको छ । प्रहरीमा नयाँ नेतृत्वको चर्चाहरु फेरि सुरु भइसकेको छ । वर्तमान नेतृत्वको स्वभाविक अवधि आगामी चैतमा सकिएसँगै नयाँ नेतृत्व आउने छ । सायद अघिल्लो चरण जसरी नै फेरि पनि राजनीतिक खेलहरु हुनेछ, प्रतिस्पर्धीहरुबीचमा छिनाझिप्टी गराउने प्रयास हुनेछ । अनि हाम्रा मिडियाकर्मी र सोसियल मिडियामा रमाउनेहरुले सेलिब्रेटी बनाउने र खसाल्ने क्रम शुरु हुनेछ । जसले प्रहरी नेतत्वमा पुग्ने र पुग्न खोज्नेहरुबीचमा बिगतझैँ तिक्तता बढाइदिनेछ र प्रहरीभित्रको यो दुर्भाग्य यसरी नै चलायमान रहिरहनेछ । तर कहिलेसम्म ?

२०५३ सालमा ध्रुबबहादुर प्रधान र अच्यूतकृष्ण खरेल आईजीपी हुने र हट्ने खेलबाट शुरु भयो । भनिन्छ, खरेल र प्रधान एआईजी हुँदासम्म यति मिल्यो कि एकापसमा सम्बोधन नै ‘काले’ र ‘बाहुन’ भनेर गर्थे । तर पछि आइजीपी हुने र हटाउने खेलले उहाँहरुबीचमा यस्तो दरार ल्याइदियो कि त्यसको असर सम्पूर्ण प्रहरी संगठनभित्र पर्‍यो र परिरहेछ ।

सेना र प्रहरीभित्र एकैदिन भर्ना भएकाहरु ज्ब तालिममा छिर्छन्, उनीहरु बीचमा यस्तो गाढा र नजिकको अपनत्व शुरु हुन्छ, त्यो बाल्यकालको साथी भन्दा कम हुँदैन र कालान्तरसम्म रहिरहन्छ । तर जब नेतृत्वमा पुग्ने रस्साकस्सीको नाममा यसले तिक्तताको रुप लिँदै गएको पाइन्छ । यसको शुरु २०५३ सालमा ध्रुबबहादुर प्रधान र अच्यूतकृष्ण खरेल आईजीपी हुने र हट्ने खेलबाट शुरु भयो । भनिन्छ, खरेल र प्रधान एआईजी हुँदासम्म यति मिल्यो कि एकापसमा सम्बोधन नै ‘काले’ र ‘बाहुन’ भनेर गर्थे । तर पछि आइजीपी हुने र हटाउने खेलले उहाँहरुबीचमा यस्तो दरार ल्याइदियो कि त्यसको असर सम्पूर्ण प्रहरी संगठनभित्र पर्‍यो र परिरहेछ । जसले निरन्तरता पाइरहेझैँ भइरहेछ ।

यस्ता कुराहरुले अब निरन्तरता पाउनुहुन्न । जसको लागि राजनीतिक अनि प्रशासनिक नेतृत्वले समयमै सोच्नपर्ने देखिन्छ । त्यो सँगसँगै नेतृत्व अनि नेतृत्वका सम्भावित उम्मेदवारहरुले पनि आपसी समझदारी र हिजो बेसिक तालिममा सँगै पसिना बगाएका क्षणलाई सम्झेर अनि प्रहरीको सिंगो इतिहास र भविष्यलाई मनन गरेर तिक्ततालाई स्थानै नदिने तिर मोडिनु बुद्धिमानी ठहर्छ । यसैमा सिंगो प्रहरी संगठन, देश अनि आफ्नो पनि भलो देखिन्छ ।

लेखक नेपाल प्रहरीका पूर्वडिएसपी हुन् ।