१४ कार्तिक २०८३, शनिबार

मञ्जुलको तर्फबाट मदन भण्डारीले डिभोर्स मागे : कुन्ता शर्मा

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कवि कुन्ता शर्मा र मञ्जुलको वैवाहिक जीवन सफल रहेन । दुवैजना वामपन्थी राजनीतिमा थिए । साहित्यमा पनि सक्रिय थिए । संकल्प पत्रिका प्रकाशन हुने सिलसिलामा उनीहरूको भेट भएको थियो । उनीहरूले ०३० सालमा विवाह गरे । तर, नौ वर्षपछि नै उनीहरू छुट्टिए । उनीहरूको डिभोर्सको विषय तत्कालीन नेकपा मालेको बैठकको एजेन्डा नै बनेको थियो । कुन्ता शर्माले नयाँ पत्रिकाका  प्रकाश गुरागाईंसँग आफ्नो जीवन संघर्ष यसरी सम्झिइन् :

धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट बिकम र बिएड गरेँ । धरानकै बालिका स्कुल पढाउन थालेँ । मलाई कविताको लत बसिसकेको थियो । साहित्यमा केही गरौँ भन्ने थियो । ०३० सालमा संकल्प पत्रिका प्रकाशन गर्न काठमाडौं आएँ । पत्रिकाका लागि सबै सामग्री र विज्ञापन संकलन गरेँ । तर, कसरी प्रकाशन गर्ने थाहा थिएन ।

धरानकै एक मित्रले टिआर विश्वकर्मालाई भेट्न सुझाब दिए । टिआरजी पनि धरानकै थिए । काठमाडौंमा मातृभूमि प्रेसमा काम गर्दा रहेछन् । पत्रिका प्रकाशन गर्न उनले सहयोग गरे । उनैले मञ्जुलसँग भेटाइदिए । रचना संकलनमा सघाउन मञ्जुललाई आग्रह पनि गरिदिए । मञ्जुलले पनि सहयोग गर्ने भए ।

पत्रिकाको कामले मञ्जुलसँग भेट भइरहन थाल्यो । उनले मलाई मन पराउन थालेका रहेछन् । म शिक्षित केटी, स्कुल पढाउथेँ । परिवारको आर्थिक अवस्था पनि राम्रै थियो । मञ्जुलको अवस्था राम्रो रहेनछ । आफूलाई पनि सहयोग हुन्छ भन्ने ठानेर होला उनले बिहेको प्रस्ताव राखे । टिआरले नै प्रस्ताव राख्न हौस्याएका रहेछन् । मैले घरमा कुरा गर्नुपर्ने बताएँ । खासमा म पन्छिन चाहेको थिएँ ।

पत्रिकाको काम सकेपछि काठमाडौंबाट धरान फर्किएँ । मञ्जुलले प्रत्येक दुई–तीन दिनमा लामा–लामा चिठी पठाउन थाले । मैले जवाफ दिइनँ । उनीसँग जीवन चल्छजस्तो लागेकै थिएन । उनी मलाई भेट्न काठमाडौंबाट धरान आए । घरमा आए पनि माथि चढ्न मानेनन् । म तल झरेँ । बल्ल उनी मेरो पछिपछि आए । सिँढी उक्लिने क्रममा बिहे नगरे मर्ने धम्की दिए । डोरी नै बोकेर आएको छु भनेपछि म आतंकित भएँ । बुवा–आमाको बेइज्जती होला कि भन्ने डर लाग्यो । प्रस्ताव स्वीकार गरेँ ।

बिहेमा मञ्जुलको १० रुपैयाँ खर्च

मेरो तलब दुई सय ५० रुपैयाँ थियो । त्यो अधिकृत तहबराबरको तलब थियो । उसले केही गरेन भने पनि म आफैँ उसलाई पाल्न सक्छु भन्ने विश्वास थियो । ०३० साल माघमा काठमाडौंमै हाम्रो बिहे भयो । बिहेको सबै खर्च मैले गरेँ । जम्मा दुई हजार खर्च भयो । उनलाई १२ सयको सुट किनिदिएँ । आफूलाई एक सय ३५ रुपैयाँको साडी किनेँ । गुह्येश्वरीमा गएर बिहे गर्‍यौँ । बाँकी पैसाले ६० जना जति साथीभाइलाई मासु–चिउरा खुवाएँ । बिहेमा माइततिरबाट आमा आउनुभएको थियो । मञ्जुलको तर्फबाट उनका भाइ प्रदीप नेपाल थिए । रामेश, रायनहरू पनि थिए ।

बिहेमा उनको १० रुपैयाँ खर्च भएछ । आठ रुपैयाँको दुई लुङ पोते र दुई रुपैयाँको एक बट्टा सिन्दूर किनेछन् । त्यो पनि टिआर विश्वकर्माले ‘सिन्दूर र पोते आफैँ किन्नुपर्छ’ भनेर ।

जेलब्रेक गर्न दुई सय दिएँ

म ०२१ सालमा कलेज भर्ना हुँदादेखि नै विभिन्न आन्दोलनमा सहभागी भइरहन्थेँ । बिस्तारै कम्युनिस्ट पार्टीतिर लागेँ । ०३० सालमा झापाली समूहको सम्पर्कमा पुगेँ । काठमाडौंमा राजेन्द्रप्रसाद पाण्डेमार्फत सम्पर्क भएको थियो । मलाई नक्खु ब्रेक हुँदै छ भनेर राजेन्द्र पाण्डेले नै बताएका थिए । त्यतिवेला जेलमा चाहिने सामान म नै दिन्थेँ । प्रायः गरेर लिथो पेपर र फोटोकपीका कागज पुर्‍याउथेँ । राजेन्द्र पाण्डेले ‘भाउजू हामी ठूलो काम गर्दै छौँ, सहयोग गर्नुहोस्,’ भन्नुभयो । मैले ‘जेलबाट भाग्ने हो ?’ भनेँ । त्यसपछि उहाँले मलाई सबै योजना सुनाउनुभयो ।

पार्टीनिकट मान्छेसँग जेल ब्रेकका लागि चन्दा उठाइँदै थियो । मैले दुई सय रुपैयाँ दिएँ । विद्यार्थीसँग जम्मा ५० रुपैयाँ उठाइएछ । प्रवासी नेपालीले पनि ५० रुपैयाँ दिएछन् । सुवास नेम्वाङले २० रुपैयाँ दिएछन् । जेल ब्रेक गर्न तीन सय २० रुपैयाँ उठेछ ।

बिहेपछि पनि कम्युनिस्ट राजनीतिमा निरन्तर थिएँ । त्यसअघि नै पारिजात, मञ्जुल, रामेश, रायनहरू मिलेर राल्फा आन्दोलन चलाएका थिए । बिहे भइसकेपछि मञ्जुलले आफूलाई कम्युनिस्ट र कांग्रेस दुवैले आफ्नो पार्टीमा बोलाएको बताए । उनले ‘म कता जाऊँ ?’ भनेर सोधे । म मेरो लाइन छाड्नेवाला थिइनँ । उनलाई पनि आफ्नो खुसी गर्न भनेँ । राल्फाली सबै कम्युनिस्ट भइसकेका थिए । उनी मात्र दोधारमा थिए । म पनि कम्युनिस्ट नै भएकाले उनी कांग्रेसतिर जान सकेनन् । यतै आए ।

मञ्जुलकै आग्रहमा धरान फर्किएँ

मेरो बिहे गर्न भनेर आमाले २६ हजार राख्नुभएको थियो । बिहेमा दुई हजार खर्च भयो । २४ हजार आमासँगै थियो । त्यो पैसाले काठमाडौंमा जग्गा किन्न खोजेका थियौँ । तर, पाइएन । त्यहीवेला कवि बम देवान धरानबाट आए । उनले मञ्जुललाई धरान जान उकासेछन् । उनले ‘धरान नै गएर जग्गा किनौँ’ भने । त्यतिवेला हामी बागबजारमा एकजना काजीसाहेबको घरमा डेरामा बस्थ्यौँ । शौचालयको ठूलो समस्या थियो । मैले ‘सुब्बा साहेबको चर्पी’ कविता नै लेखेको थिएँ । त्यो हैरानीबाट बच्न म पनि धरान जान सहमत भएँ । हामीले शिक्षा सेवा आयोग पास गरिसकेका थियौँ । म कीर्तिपुरको ल्याबोरेटोरीमा पढाउथेँ, मञ्जुल शान्ति निकुञ्जमा पढाउँथे । धरानकै हीरालाल विश्वकर्मा दाइलाई भनसुन गर्न लगाएर धरान सरुवा गर्‍यौँ ।

सुटुक्क काठमाडौं फर्किए मञ्जुल

धरानमा ०३६ सालसम्म जिन्दगी ठीकठाक चलिरहको थियो । जनमत संग्रह भयो । बहुदल पक्षले हारेपछि मञ्जुल एकदमै डराए । बाहिर आन्दोलनमा लागे पनि भित्र उनको धनु बलियो थिएन । उनले फेरि काठमाडौं फर्किने कुरा गरे । हामीजस्तो आन्दोलनमा लागेकाले फेरि जागिर पाउन मुस्किल थियो । दुईवटा बच्चा भइसकेका थिए । मैले जागिर छाडेर नजाने अडान लिएँ । त्यसबीचमा काठमाडौं फर्किने थप छलफल भएन । तर, उनले त फर्किने तयारी गरिसकेका रहेछन् । काठमाडौं हिँड्ने अघिल्लो दिन मात्र मलाई जानकारी दिए । भोलिपल्ट हिँडे ।

उनी धरान–काठमाडौं आउँदै–जाँदै गर्न थाले । जग्गा बेचेर काठमाडौं आउने कुरा पनि भयो । तर, मिलिरहेको थिएन । ०३९ सालमा कान्छो छोरा गर्भमा आयो । सुत्केरी हुन काठमाडौं नै बोलाए । मसँग डेढ तोलाको सुनको असर्फी थियो । त्यही बेचेर आएँ । दुई महिना बसेर धरान फर्किएँ । त्यसपछि पनि उनी आउने–जाने गरिरहेका थिए । २८ पुस ०३९ मा उनी धरानबाट काठमाडौं आएपछि झन्डै तीन महिना सम्पर्क भएन । त्यो बीचमा मलाई चिठी पठाएका रहेछन् । तर, मेरो हात परेन । हुलाकमा नै बसेछ । त्यही वर्ष चैतमा उनी अचानक धरान आए । डिप्रेसनमा गएका रहेछन् । उनले मेरो चरित्रमाथि नै प्रश्न उठाए । मनपरी बोलेर बेइज्जत गरे । अनि काठमाडौं फर्किए।

मेरो चरित्र बैठकको एजेन्डा बन्यो

एक महिनापछि वैशाख ०४० मा मदन भण्डारी धरान आए । उनी मञ्जुलको मात्र कुरा सुनेर धरान पुगेका रहेछन् । मलाई डिभोर्स दिन आग्रह गरे । तीन–तीनवटा छोरा थिए । उनीहरूलाई हुर्काउने, पढाउने प्रश्न थियो । मैले डिभोर्स दिनुपर्ने कारण मागेँ । मदन भण्डारीले भने, ‘कान्छो छोराचाहिँ मञ्जुुलको होइन रे !’ मञ्जुल र म दुवै नेकपा मालेमा थियौँ । मैले भनेँ, ‘तपाईं पार्टीको नेता, त्यसो भए अनुसन्धान गरेर प्रमाणित गर्नुस्, कसको छोरा हो ?’

पछि, पार्टीले मलाई पनि काठमाडौंमा बालायो । ठँहिटीमा सम्पर्क कार्यालय थियो । त्यहीँ बैठक बस्यो । मदन भण्डारी, माधव नेपाल, रामेश दाइ, रघुजी पन्तलगायत बैठकमा थिए । छलफल भयो । मञ्जुलले धरानकै हाम्रो छिमेकीलाई दोष लगाए । मदन भण्डारीले दोष लगाउनुको आधार सोधे । मञ्जुलले भने, ‘खाना खाँदा उसलाई कुन्ताले थपीथपी मासुभात खुवाई ।’ उनको जवाफको मैले प्रतिवाद गर्नैपरेन । सुनेर सबै गलल्ल हाँसे ।

त्यतिवेला पार्टी मञ्जुलतिर नै लागेको थियो । तर, उनको तर्क पत्याउने खालको थिएन । अनि बैठकले छोरो मञ्जुलकै भएको ठहर गर्‍यो । तर, मञ्जुललाई डिभोर्स नगर्न निर्देशन दिएन । त्यतिवेला पार्टीले नेता–कार्यकर्ताको व्यक्तिगत जीवनमा निर्देशन दिन सक्थ्यो । बैठकमा मञ्जुलले ‘म दुई वर्ष हेर्छु,’ भने । उनले दुई वर्षसम्म म चरित्रमा टिक्दिन भन्न खोजेका थिए । मैले भनेँ, ‘१० वर्ष हेर्नुस्, को कति टिक्दो रहेछ ?’ त्यसपछि डिभोर्स गर्‍यौँ । केही वर्षपछि नै उनले अर्को बिहे गरे ।

१९ वर्षपछि जेठो छोरो भेटेँ

डिभोर्स गर्दा मैले एउटा ‘ब्लन्डर’ गरेँ । त्यतिवेला जेठो छोरो आठ वर्षको थियो । कान्छो त एक वर्ष पनि पूरा भएको थिएन । माइलो पनि सानो थियो र रोगी पनि । मैले ‘बच्चा पाल्ने अनुभव पनि सँगाल’ भनेर जेठो छोरो मञ्जुललाई छाडिदिएँ । तर, लगभल एक महिनापछि लिन आउँदा उसलाई त मविरुद्ध भड्काइसकेछन् । मसँग जान नै मानेन । उल्टै मलाई गाली गर्‍यो । त्यत्तिकै फर्किंएँ । त्यसको १९ वर्षपछि मात्र मैले जेठो छोरो भेटाएँ । बाटोमा भेटेको भए म चिन्दिनथिएँ । पहिला मेरोविरुद्ध बोल्न लगाए । तर, जब उसले कुरा बुझ्यो, मेरोबारे कसैलाई बोल्न दिँदो रहेनछ । अनि त उसलाई घरबाटै निकालिदिएछन् । आइएससीको जाँच चलिरहेका वेला घर छाड्यो । मैले थाहा पाएँ । लिन आएँ । उसको परीक्षा बिग्रियो । एक प्रतिशत नम्बर नपुग्दा इन्जिनियरिङ पढ्न पाएन ।

अनि ‘पोथी बास्नुहुँदैन’ कविता लेखेँ

म एक्लैले छोरा हुर्काउनु थियो । काम गर्नैपर्‍यो । राजनीतिक कार्यक्रममा हिँड्न पनि छाडेकी थिइनँ । मलाई मन नपराउनेहरू ‘पोथी बासेर हिँडेकी छे’ भन्थे । त्यतिवेला केटाकेटीमा देखेको एउटा घटना याद आयो । धरानमा अहिलेजस्तो घना बस्ती थिएन । हाम्रो घरछेउमा सार्वजनिक धारो थियो । त्यहाँ पानी थाप्नेको घुइँचो हुन्थ्यो । धारोछेउमा एकजना राइनी दिदीको झुप्रो थियो । एकदिन लाठेहरूले एउटा पोथीलाई लखेटिरहेको देखेँ । उनीहरूले समाउन सकेका थिएनन् । निकै परसम्म लखेटेपछि छाडिदिन्थे । पोथी फेरि पहिलाकै ठाउँमा आउँथ्यो । लुकेर बसेका लाठेहरू फेरि लेखेट्थे । मलाईचाहिँ पोथी फर्केर नआउनु निजस्तो लाग्थ्यो । मैले कुरा बुझेको रहेनछु । त्यो त चल्लाको, आफ्नो गुँडको र पाल्ने मान्छेको मायाले आउँदो रहेछ । पछि, त्यसलाई समाएर मारे । भुटभाट पारेर खाए । मेरो जीवनमा पनि दुर्घटना भएपछि त्यो पोथीलाई सम्झिएँ । अनि ०४२ सालतिर ‘पोथी बास्नुहुँदैन’ कविता लेखेँ ।