
– छेवाङ शेर्पा लामा
हो, म स्वार्थी छुँ । मलाई तपाईंहरुको सरोकार छैन् । मेरो मुलुकको प्रमुख समस्या भनेकै मै हुँ ।
विश्वमा एउटा सुन्दर देश, नेपाल । त्यही देशका नेपाली हामी । देश देश जस्तो बन्न नसक्नुमा त्यो भूमिको कुनै दोष हुँदैन, दोष त उसको हुन्छ, जसले त्यो भूमिको उपभोग गर्छ । हामी नेपाली माटोमा जन्मियौँ, त्यही माटोका कारण आज हामी संसारभर शिर ठाडो बनाएर हिडिँरहेका छौँ । तर, यी सबलाई चटक्कै बिर्सेर हामी फेरि नेपाललाई गाली गर्छौं, नेपालीलाई गाली गर्छौं ।
तर, मलाई के लाग्छ भने मेरो मुलुक जे अवस्थामा छ, मेरो आफ्नै स्वार्थी मनस्थितिको उपज हो । मेरो काम फत्ते भए मलाई पुगी हाल्छ । मेरो नाम प्रख्यात भए मलाई पुगी हाल्छ । मेरो परिवारलाई पुग्ने भन्दा बढी दाम भए मलाई पुगी हाल्छ । हो, म स्वार्थी छुँ । मलाई तपाईंहरुको सरोकार छैन् । मेरो मुलुकको प्रमुख समस्या भनेकै मै हुँ ।
लाख-करोडको घर छ । तर, आफ्नै दैलो आगाडिको बाटो सरकारको भरमा छ । फोहोर मैला टन्न बनाउने पनि आफै हुँ । खाली ठाउँ जाँ भेट्यो, खोजेर हुत्याई दिन्छु । मेरो समय मेरो आम्दानी हो । मेरो समय बचाउन घुस दिनु म लगानी ठान्छु । हो, म मतलबी छुँ । मलाई तपाईहरुको फिकर छैन ।
मेरो मुलुक मेरै अहङकारले नस्ट हुँदैछ । मेरो इतिहास, मेरो समाज, मेरो सभ्यता, मेरो संस्कार, मेरो धर्म, मेरो वंशज, मेरो कुल, मेरो परिवार, मेरो भाषा, मेरो पहिरान, सबै सबै मेरो, मेरो, मेरो, मेरै मात्र उत्तम र राष्ट्रिय ठान्ने मै हुँ । मलाई काम लाग्ने मेरो आफन्त, मेरो साथी, मेरो चिनजान शक्तिमा पुगे मलाई पुग्छ । म मेरो घमण्डमा रमाउँछु, मेरै लाभ चाहान्छु । तपाईँहरु सबै तल्लो, मलाई तपाईँहरुको भावनाको कदर छैन ।
म नेपाली चेली बचाउने अनुराधा कोइराला हुन सकिन, म अन्धो कानुनलाई थर्काउने डा गोविन्द केसी हुन सकिन, म सुकुम्बासीलाई बस्ती बनाउने धर्मुस-सुन्तली हुन सकिन । म आफ्नो गाउँको बाटो आफैले बनाउने पासाङ शेर्पा हुन सकिन ।
मेरो मुलुक बिगार्ने मै हुँ । २४३ बर्ष आफ्नै ढाडमा राजतन्त्र राख्ने मै हुँ । राजनैतिक पार्टीको नाममा मेरो मातृभूमिलाई बलात्कार गर्ने पार्टीहरुको समर्थन गर्ने मै हुँ । मेरो मुलुकको भकारी रित्याउने नेताहरु चुनेको मैले नै हो । मलाई चाहिने सबै सुबिधाहरुको लागि सरकारको मुख या बिदेशीको भिख ताख्ने मै हुँ । हो, म निर्भर भएँ, स्वाधिन भइन । तपाईहरुको मुक्ति मेरो चासो हैन ।
म नेपाली चेली बचाउने अनुराधा कोइराला हुन सकिन, म अन्धो कानुनलाई थर्काउने डा गोविन्द केसी हुन सकिन, म सुकुम्बासीलाई बस्ती बनाउने धर्मुस-सुन्तली हुन सकिन । म आफ्नो गाउँको बाटो आफैले बनाउने पासाङ शेर्पा हुन सकिन । हो, म मेरै मुलुकको लागि उपयोगी नागरिक भइन । मुलुकको लागि उपयोगी हुने कर्म गर्ने निस्वार्थ कोही तपाईंहरु मैले देखिन् ।
तपाईँहरु राष्ट्रनायक, देशभक्त, रास्ट्रवादी, सैद्दान्तिक, प्रजातान्त्रिक, धर्मभक्त, संस्कारिक, सगरमाथा, गौरवी, बुद्द जन्मभूमि प्रेमी, बिशिष्ट, प्रतिष्ठित, बरिष्ठ, लोकप्रिय, महान नेता, अधिकारकर्मी, समाजसेवी, करोडपति आदि इत्यादि सबै पनि म जस्तै स्वार्थीहरु छन् । कसैले फुर्ति नगरे हुन्छ । सबैले आफैले आफैलाई धिक्कारे हुन्छ । म पनि आफैलाई धिक्कार छु नेपाल जस्तो छ, हामीले नै बनायौँ ।
लामा अमेरिकाका नेपाली समुदायका अगुवा हुन् ।















प्रतिक्रिया