काठमाडौं, २ माघ । कुनै पनि विषयमा विरोध या फरक मत जनाउने अहिंसात्मक तरिका हो, अनशन ।
सरकारी निर्णय, नयाँ नीतिनियमको कार्यान्वयन वा पुरानाको संशोधनलगायत विषय तथा त्यसमाथि पुनर्विचार वा परिवर्तन गराउन अनशनमार्फत दबाब दिने विश्वव्यापी चलन छ ।
अनशनको इतिहास पल्टाउँदा त्रेता युगसम्म पुगिन्छ । संसारको पहिलो अनशनबारे रामायणको अयोध्या काण्डमा उल्लेख गरिएको छ ।
वनवास गएका दाजु रामलाई फर्काउन हरप्रयास गर्दा पनि सम्भव नभएपछि दाजु अयोध्या नफर्किएसम्म केही नखाने, कहीँ नजाने र राजगद्दी पनि नसम्हाल्ने भन्दै भाइ भरत अनशनमा बसेका थिए । पछि, रामले सम्झाई–बुझाई गरेर भरतलाई आफ्नो खराउ दिएर मनाएको रामायणको कहानी छ ।
अनशन बस्दा सुरुका तीन दिन शरीरले त्यहीँ भएको ग्लुकोजबाट ऊर्जा लिन्छ । तर, त्यसपछि कलेजोले ‘केटोसिस’ नामक प्रक्रियाबाट शरीरमा भएको बोसो प्रशोधन गर्न थाल्छ ।
तीन हप्तामा बोसोको मात्रा कम भएपछि शरीर भोकमरीको अवस्थामा पुग्छ र मांशपेसीसहित अन्य महत्वपूर्ण अंगलाई खानाको रूपमा प्रयोग गरेर शरीरमा ऊर्जा प्रसारण गर्न थाल्छ ।
३०–४० दिनपछि शरीरको ‘बोन म्यारो’ पनि खिइन थाल्ने भएकाले अनशनकारीको ४५ देखि ७५ दिनभित्र मृत्यु भएका धेरै उदाहरण छन् ।
त्यसैले लामो समय अनशन बस्नेहरूले ठोस पदार्थ नखाए पनि तरल पदार्थ खाने गर्छन् । या त उनीहरूलाई अस्पतालमा राखेर नसाबाट तरल पदार्थ दिने गरिन्छ ।















प्रतिक्रिया