
खोटाङ, १ माघ । विश्व रेकर्ड कायम गरेर गिनिज बुकमा नाम लेखाउन सफल एक नेपाली युवाले अमेरिकामा आकर्षक अवसर पाएका छन् ।
खोटाङ राजापानीका दिनेश सुनारले ट्वीटिङ ब्याकफिलिप (पछाडि उफ्रने जिम्नेष्टिक खेल) एक मिनेटमा १८ पटक गरेर विश्व रेकर्ड कायम राखी गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् । विश्व रेकर्ड राख्न सफल हुनासाथ उनलाई अमेरिकाले प्रशिक्षकको रुपमा बोलाएको छ ।
सुनारलाई सोमबार एक काठमाडौँमा कार्यक्रमबीच अमेरिकी यात्राका लागि बिदाई गरियो । राष्ट्रिय खेलकुद परिषदले गरेको बधाई तथा बिदाइ कार्यक्रममा सदस्य सचिव केशव बिष्टले बधाई प्रमाणपत्र तथा प्रोत्साहन स्वरुप २५ हजार रुपैँया नगद सहयोग गरे । नेपाल र नेपाली जनताको शिर उच्च बनाएको भन्दै उनले सुनारलाई धन्यवाद पनि दिए ।
खोटाङमा जन्मेर अमेरिकामा प्रशिक्षक भएकोमा खोटाङे जनता र नेपालीहरुको इज्जत र प्रतिष्ठा बढेको सदस्य सचिव केशव बिष्टले बताए । कार्यक्रममा परिषदका प्रशिक्षक तथा अनेरास्ववियूका पूर्वविद्यार्थी नेता महेन्द्र राई, युवा संघ नेपालका नेता प्रभातबिक्रम कटबाल लगायतको उपस्थिति थियो।
















प्रतिक्रिया